close

सडक विस्तारमा भत्काइएका घर र व्यवसायमा कर छुट गर्न बुटवलबासीकाे माग

सडक विस्तारमा भत्काइएका घर र व्यवसायमा कर छुट गर्न बुटवलबासीकाे माग

Trulli
ADVERTISEMENT

रूपन्देही- बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीले सडक विस्तारको क्रममा भत्काइएका घरधनीलाई घर बहाल कर र ती घरमा व्यवसाय गरेका व्यवसायीलाई व्यवसाय कर छुटको माग गरेको छ ।

 

बुटवलमा बुधबार आयोजना गरिएको अन्तर्क्रियामा संघको तर्फबाट अवधारणा प्रस्तुत गर्दै अध्यक्ष उज्ज्वलप्रसाद कसजुले कोभिड-१९ महामारीको कारण अप्ठेरोमा परेका व्यवसायीको सडक विस्तारको क्रममा सडकसँगै रहेका मुख्य राजमार्गका घर भत्काइएका कारण कारोबार ठप्प भएकाले कर छुट गर्न माग गरे । त्यस्तै, निर्माण अवधिमा बहालसमेत नउठ्ने भएकाले घर बहाल करसमेत छुट गर्न उनले बुटवल उपमहानगरसँग आग्रह गरे ।

 

बुटवल-बेलहिया व्यापारिक मार्गअन्तर्गत बुटवलको चौराहा-चिडियाखोला सडकमा पर्ने घर भत्काइएका कारण अहिले चौराहादेखि गोलपार्कसम्मको मुख्य राजमार्गमा भएका व्यापार व्यवसाय बन्द छन् ।

 

घर भत्काएको समयदेखि पूरा नहुँदासम्मको बहाल कर र व्यवसाय कर छुटका लागि बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीले उपमहानगरसँग माग गरेको हो । 

 

उक्त सडक खण्डमा सडकको दुवैतर्फको सर्भिस लेन १८ फुटबाट बढाएर २७ फुट कायम गर्नसमेत आग्रह गरिएको छ । सडक संरचनामा थोरै मात्रै सुधार गर्दा कतै, कसैलाई पनि असर नपर्ने र व्यापार व्यवसायका लागिसमेत सहज हुने भएकाले संघले सर्भिस लेनको चौडाइ बढाउन आग्रह गरेको हो ।

 

यस्तै ८२ फुट कायम रहेको सडकमा घरधनीले ८२ फुटमै पिलर राखिसकेकाले सटरको जग्गा मात्रै भए पनि राख्ने व्यवस्था मिलाइदिन आग्रह गरिएको थियो ।

 
अध्यक्ष कसजुले बुटवललाई स्मार्ट सिटी बनाउने योजनाअनुसार मुख्य राजमार्गमा रहेका घर एउटै रंगको बनाउने व्यवस्था मिलाउन र एउटै रंग बनाउँदा हुने खर्चसमेत नगरपालिकाले व्यवस्थापन गर्नुपर्ने धारणा राखे । 

 

उक्त अवसरमा सडक डिभिजन कार्यालय बुटवलका डिभिजन प्रमुख जयलाल मरासिनीले सडक ऐन, २०३१ अनुसार मुख्य राजमार्गमा सडकको केन्द्रबाट दुवैतर्फ २५ मिटर कायम हुनुपर्ने भएकाले सोहीअनुसार गर्न आग्रह गरे । व्यवसायीले माग गरेअनुसार सर्भिस लेनको चौडाइ केही बढाउने गरी कन्सल्टेन्ट नियुक्त गरेर रि-डिजाइनको काम भइरहेको जानकारी उनले गराए । 

 

अन्तर्क्रियामा बुटवल उपमहानगर वडा नम्बर ८ का वडाध्यक्ष भीमबहादुर श्रेष्ठ, ४ का अध्यक्ष टंकप्रसाद पराजुली, ६ का अध्यक्ष जगदीश आचार्य, ९ का सदस्य शिव अधिकारी, ३ की सदस्य सरस्वती कुवँरले घर बहाल छुटकाालागि वडामा निवेदन दिन आग्रह गरे । 

 

व्यवसाय कर छुटका लागि पनि नगरपालिकामा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम महासचिव विमलराज भट्टराई र सचिव मुक्ति अधिकारीले सञ्चालन गरेका थिए ।