ढुंगामा हिरा फलाउने कलमबहादुर 


  • change font
  • change font
  • change font

सुर्खेत (वीरेन्द्रनगर)- दैलेख सदरमुकामबाट पश्चिम साढे ३ घन्टाको यात्रासँगै उकालो लागेपछि कर्मशील कलमबहादुर शाही दोबाटोमै भेटिए । दैलेख ठाटीकाँधस्थित मिहिनेती किसानको उपमा पाएका शाही साँच्चिकै कर्मशील छन् । टाढाबाट देखिने कृषि कर्म नजिकै जाँदा साँच्चिकै लोभलाग्दो रहेछ ।

 

चैतको गर्मीमा उनले खनिखोस्री लगाएका विभिन्न कृषि उब्जनीका रुखबिरुवाले पालुवा पलाएर नयाँ मुहार फेरेझैँ लाग्थ्यो । शाहीको बारीमा कोइलीलगायतका चराचुरुंगीले आफ्नो बासस्थानै बनाएको देखिन्छ ।

 

चैतमासको उखरमाउलो गर्मीमा उमेरले ४५ वर्ष पुगेका शाहीले नर्सरी फार्म र बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । बिहान भालेको डाकोसँगै व्युँझिन्छन्, उनी । किसानले गरेको मिहिनेत सरकारले नहेरेकामा उनको गुनासो छ ।

 

पहिले भारत गएर जीविकोपार्जन गरेका उनले त्यहाँ पोखेको पसिना घरगाउँमै चुहाउन २०५९ मा ढुंगामाथिको बुकी डाँडामा नजिकैबाट पानी ल्याए । सिँचाइ सुविधापछि सुकेको ढुंगे मेलामा हरियो घाँससँगै मानोपाथी उम्रिन थाले ।

 

सोही प्रेरणाका कारण उनले विभिन्न जातका कृषिसम्बन्धी रुखबिरुवा उमारे । पानी फालिसकेपछि सुकेको बुकी घाँस हरियो भएर फर्कियो । २०५१ मा कृष्णा बागवानी कृषि फलफूल तथा घाँस नर्सरी फार्म दर्ता गरेर सुरु गरेको बाख्रापालन र नर्सरी फार्मका कारण शाही अहिले कर्णालीकै उत्कृष्ट किसानका रूपमा परिचित छन् । 

 

मिहिनेती किसान शाहीकै देखासिकी गाउँघरका थुप्रैले कृषि पेसा अँगाल्न थालेका छन् ।  वर्षदेखि विभिन्न किसिमका घाँस, फलफूल तथा बोटबिरुवाको नर्सरीसँगै बाख्रापालन गर्दै आएका शाही विदेश जानेका लागि उदाहरणीय कृषक बनेका छन् ।

 

दैलेखको ठाटीकाँध गाउँपालिका वडा नम्बर १ कोसेडीस्थित आफ्नै बारीमा कृषि कर्ममा निरन्तर लागिरहेका शाही स्वदेशमै कृषि व्यवसायमा लामो समय बिताएको सुनाउँछन् । यो पेसाले आम्दानीसँगै इज्जत पनि दिएको उनले बताए । शाहीले भने, ‘अन्य देशमा भए सम्मानित हुने थिएँ तर सरकारले कृषि पेसा अपनाउनेलाई सम्मान गरेन ।’

 

३२ रोपनी जग्गामा नर्सरी, फलफूल, तरकारीसँगै बाख्रापालन गरेका उनले मासिक ५० हजार देखि १ लाख रुपैयाँसम्म बचत गर्दै आएको बताए । कृषि व्यवसायमा लगानी गर्दा पनि राज्यबाट अनुदान नपाएकामा उनको चित्त दुखाइ छ । शाहीले भने, ‘सरकारले काम नगर्नेलाई अनुदान दियो तर काम गर्नेले न अनुदान पाए, न त सम्मान नै ।’


शाहीले गाउँमै जमुनापारी, बयर, खरी, राजस्थानीलगायत उन्नत जातका ६० वटा बाख्राका ३० वटा पाठापाठीसहित ९० वटा बाख्रपालेका छन् । उनले एउटा बोयर जातको बोकासमेत पाल्दै आएका छन । बाख्रापालनसँगै नर्सरीबाट पनि राम्रै आम्दानी हुने गरेको शाहीले बताए ।


कर्णाली प्रदेश सरकारले ब्याज अनुदानमा ऋण मिल्ने भने पनि अहिलेसम्म नपाएको उनले गुनासो गरे । ‘यो ऋण भनेको सहरका धनीमानी र नेताका आसेपासेलाई मात्र पर्ने हो कि हामी गाउँघरका किसानलाई पनि हो ?’ उनले प्रश्न गरे ।

 

ऋणकै लागि दैलेखमा १० चोटि धाए पनि बैंकमा जाँदा तपाईको जग्गा कहाँ छ, नेपालगञ्ज कि सुर्खेत भनेर बैंकका कर्मचारीले सोधेर टार्ने गरेको उनको अनुभव छ ।


विदेशबाट फर्किएका र नेपालमा बस्ने कृषि उद्यमीलाई बिनाधितो १५ लाख रुपैयाँसम्म कर्जा पाउने भने पनि आफूले नर्सरी र बाख्रा फार्म राख्दा पनि नपाएको उनले सुनाए । सहयोगका लागि जिल्ला सदरमुकाम धाउँदा उल्टै १०-१५ हजार रुपैयाँ खर्च भएको गुनासो उनको छ । 

 

‘जिल्लाभरि बिरुवा नपाएर टाढाबाट बोटबिरुवा र बिउ लिन कोहलपुर, अछामबाट मैकहाँ आउँछन् तर नजिकका कृषिका हाकिम अनुगमन गर्न आइदिनुस भनेर बारम्बार कल गर्दा पनि आउँदैनन्’, शाहीले भने । 

 

नर्सरीमा लाख बढी बिरुवा


शाही कर्णाली प्रदेशकै नमुना व्यवसायी हुन । उनको कृष्णा बागवानी कृषि फलफूल तथा घाँस नर्सरीमा उन्नत जातका डाले घाँस, भुइँ घाँस, मेहनदुलाका ४० हजार बेर्ना, इपिलइपिलका ४० हजार बेर्ना, सिट्लेसका २ हजार बेर्ना, भटमासेका २९ हजार बेर्ना छन् ।

 

यस्तै, दबदबेका २ हजार बेर्ना, बडहरका ३ हजार, पैँयुका २ हजार, बाँसका ५ सय बेर्ना, टाँकीका २ हजार, कोइरालाका ३ हाजर बेर्ना छन् ।

 

भुइँ घाँसमा सुपरनिपियर ५० हजार बेर्ना, थ्री निपियर, टु निपियर, थिन निपियर, गिन्नी ग्रास, पारा ग्रास, सटिया, गोटेमाला, मलाटो बदामे गरी थुप्रै चौपायाका लागि घाँस लगाएको उनले जानकारी दिए ।