close

भारतमा कोरोना बढेपछि धमाधम घर फर्किंदै कर्णालीबासी

भारतमा कोरोना बढेपछि धमाधम घर फर्किंदै कर्णालीबासी

Trulli
ADVERTISEMENT

सुर्खेत- छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै त्यहाँ इलम गर्दै आएका कर्णालीबासी धमाधम घर फर्किन थालेका छन् । भारतका विभिन्न राज्यमा कामका लागि गएका उनीहरू कोरोना संक्रमण पुनः बढ्दै गएपछि स्वदेश फर्किन थालेका हुन् । 

 

१३ चैतदेखि हालसम्म १४०० पुरुष र १६० जना महिला कर्णालीमा भित्रिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । 

 

भारतलगायत तेस्रो मुलुकबाट १३ जना गरी १६२१ जना घर फर्केको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रामप्रसाद घर्ती मगरले बताए । ‘भारतमा संक्रमित थपिएसँगै नेपालमा पनि संक्रमण फैलिने डर भएकाले पहिलेजस्तै सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग र स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छौँ’, मगरले भने ।

 

भारतमा संक्रमितको संख्या बढेकाले नेपालमा पनि बढ्न सक्ने अवस्था रहेको हुँदा कोरोनाबाट बच्न नागरिकले पहिलेजस्तै उपाय अपनाउनुपर्ने प्रदेश अस्पताल कालागाउँ सुर्खेतका डा.नवराज केसी सुझाउँछन् ।

 

‘कोरोनाबाट जोगिन नागरिकले पहिलेजस्तै साबुनपानीले मिचीमिची हात धुनुपर्छ । भीडभाडमा मास्क लगाउने र भौतिक दूरी कायम गर्ने बेला आइसक्यो’, डा. केसीले भने । कसैलाई कोरोना संक्रमण देखिइहाले एम्बुलेन्स पठाउन खबर गर्ने, तुरुन्तै अक्सिजन दिनेलगायत उपाय अपनाउन उनले नागरिकलाई आग्रह गरे ।


हाल कर्णालीका विभिन्न अस्पताल, आइसोलेसन सेन्टर, सुरक्षाकर्मी आइसोलेसन, अन्य संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा रहेका कोभिड-१९ का बिरामी सुर्खेतमा १८ जना छन् । तीमध्ये प्रदेश अस्पतालको आइसोलेसनमा १ जना, होम आइसोलेसन वीरेन्द्रनगरमा १७ जना गरी जम्मा १८ जना आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले बताएको छ ।

 

कर्णालीमा हालसम्म ४ हजार बढीलाई कोभिड-१९ संक्रमण पुष्टि भइसकेको छ भने २२ पुरुष ९ जना महिलाको मृत्यु भएको तथ्यांक छ ।