close

बाढीपहिरोपीडितका लागि ५० करोड दिइने

बाढीपहिरोपीडितका लागि ५० करोड दिइने

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले गत वर्ष बाढीपहिरोका कारण क्षति पुगेका घरको पुनर्निर्माणका लागि पहिलो किस्ता ५० करोड रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री केपी ओली अध्यक्षताको विपद् जोखिम न्यूनीकरण राष्ट्रिय परिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

 

विपद् व्यवस्थापन कोषमा रहेको रकममध्ये ५० करोड रुपैयाँ ३ हजार घर पुनर्निर्माणका लागि दिने निर्णय भएको हो ।

 

मनसुनजन्य विपद्का कारण घरमा क्षति पुगेका परिवारका लागि पुनर्निर्माण गर्न सहयोगसम्बन्धी कार्यविधि पहिल्यै बनिसकेको थियो । तर, बजेट अभावमा रकम पठाउन नसकेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए ।

 

घर पुनर्निर्माणका लागि हिमाली जिल्लामा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ प्रतिघर दिने उल्लेख छ । 

 

आगलागीपीडितलाई सहयोगको तयारी गर्न निर्देशन 

 

प्रधानमन्त्री ओलीले यस वर्ष आगलागीबाट क्षति पुगेका घरको पुनर्निर्माणमा सहयोग गर्ने तयारी थाल्न निर्देशन दिएका छन् । विपद् जोखिम न्यूनीकरण राष्ट्रिय परिषद् बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । 

 

डढेलो बढिरहेकाले नियन्त्रणका लागि सबै स्रोत र जनशक्ति प्रयोग गर्न विपद् व्यवस्थापन प्राधिकरणलाई प्रधानमन्त्रीले निर्देशन दिए । डढेलोका कारण वायु प्रदूषणसमेत बढिरहेको उल्लेख गर्दै ओलीले विपद्को रूपमा लिएर नियन्त्रणका लागि गम्भीर हुन निर्देशन दिए ।

 

गत २१ चैतमा बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदवा गाउँमा भएको आगलागीमा परेर १ सय २० वटा घर टहरा जलेका थिए । जुम्लाको तिला गाउँपालिकामा पनि ३५ घर नष्ट भएका छन् ।

 

ती ठाउँमा घर निर्माणका लागि सहयोग गर्न एकीकृत कार्यविधि बनाउने तयारी थालिएको प्राधिकरणका सीईओ पोखरेलले बताए ।

 

स्थानीय निकाय, वन उपभोक्ता समिति, सबै सुरक्षा निकायसहितको समन्वयमा हेलिकोप्टरदेखि अन्य स्रोत–साधन प्रयोग गरेरै भए पनि डढेलो नियन्त्रणमा लिनुपर्ने उनको भनाइ थियो ।

 

ओलीले आगो नियन्त्रणका लागि आवश्यक उपकरण र साधन स्थानीय तहसम्म व्यवस्था गर्न पनि निर्देशन दिएका छन् । बैठकमा बाढीको पूर्वतयारीबारे पनि छलफल भएको छ ।