close

काठमाडौं महानगरको १५ पालिकालाई सहयोग, कुन पालिकालाई कति ?

काठमाडौं महानगरको १५ पालिकालाई सहयोग, कुन पालिकालाई कति ?

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले उपत्यकासहित १५ पालिकालाई हरियाली प्रवर्द्धनका लागि सहयोग गरेको छ । काठमाडौंका १०, भक्तपुरका २ र उपत्यकाबाहेकका ३ वटा गरी १५ पालिकालाई सहयोग गरेको हो ।

 

काठमाडाैंमा पार्क अभाव महसुस गर्दै १० वटै नगरपालिकालाई १ करोड रुपैयाँ सहयोग गरेको थियो । 

 

पार्क बनाउन महानगरपालिकाले २७ माघ २०७५ मा १० वटै नगरपालिकालाई १-१ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको थियो । रकम पाएको झन्डै २ वर्ष पुग्नै लाग्दा ७ वटा नगरपालिकाले पार्क निर्माण गरिरहेका छन् भने बाँकी ३ नगरपालिकाले अहिलेसम्म निर्माण सुरु गरेका छैनन् ।

 

महानगरले २०७५/७६ मा काठमाडाैं जिल्लाका १० वटा नगरपालिकालाई नगर-नगर साझेदारी कार्यक्रमअन्तर्गत सहयोग गरेको थियो । २०७६/७७ मा मध्यपुर थिमिलाई सहयोग गरेको थियो । त्यसैगरी चालू आर्थिक वर्षमा चाँगुनारयण नगरपालिकालाई सहयोग गरेको थियो । 

 

चालू आर्थिक वर्षमा उपत्यकाबाहेकका नवलपरासीको रामग्राम नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकासँग भागिनी सम्बन्धमार्फत काम अगाडि बढेको छ ।

 

महानगरपालिकोले कम्तीमा १ प्रदेशको १ पालिकासँग भगिनी सम्बन्ध स्थानपना गर्ने योजना अगाडि बढाएको जनाएको छ । 

 

कीर्तिपुरमा युद्ध स्मारक पार्क, दक्षिणकालीमा गोरखनाथ पार्क, चन्द्रागिरिमा मदन भण्डारी स्मारक पार्क, नार्गाजुनमा गणेशमान सिंह पार्क, तारकेश्वरमा तारकेश्वर धाम, टोखामा टोखा पार्क, गोकर्णेश्वरमा वज्रयोगिनी पार्क, बूढानीलकण्ठमा बूढानीलकण्ठ पार्क र कागेश्वरीमा पार्क निर्माण गर्न महानगरले सो रकम दिएको थियो ।

 

महानगरको सहयोगबाट कतिपय नगरपालिकाले पार्क निर्माण गरिरहेका छन् भने कतिपय नगरपालिकामा अन्योल छ ।

 

कीर्तिपुरमा युद्ध स्मारक पार्क, दक्षिणकालीमा गोरखनाथ पार्क, चन्द्रगिरिमा मदन भण्डारी स्मारक पार्क, नार्गाजुनमा गणेशमान सिंह पार्क, तारकेश्वरमा तारकेश्वर धाम, टोखामा टोखा पार्क अर्थात् बौडेश्वर पार्क निर्माण भइरहेको छ ।

 

चालू आर्थिक वर्षमा निर्माण सकिने देखिएको छ । १ करोड रुपैयाँ महानगरले सहयोग गरेसँगै तारकेश्वर नगरपालिकाले तारकेश्वर धाम निर्माण गरिरहेको छ । वडा नम्बर ३ स्थित जंगल बीचको करिब १० रोपनी सार्वजनिक जग्गामा महादेवको मूर्ति स्थल पुग्ने सिँढी, सन्त-महन्त बस्ने कुटी, पोखरी, सत्तल र प्रवेशद्वार निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ ।

 

त्यस्तै, कीर्तिपुर नगरपालिकाले ५४ रोपनी क्षेत्रफलमा पार्क निर्माणको काम अघि बढाएको छ । नगरले गोर्खाली र कीर्तिपुरे फौजबीच १८१४ देखि १८२२ सम्म ३ पटक युद्ध भएको ऐतिहासिक स्थानमा युद्ध स्मारक पार्क निर्माण गरिरहेको जनाएको छ ।

 

मध्यपुर थिमि नगरपालिकाले शंखधर पार्क निर्माण गरिसकेको छ । यसका लागि महानगरले चालू आर्थिक वर्षमा पनि थप १ करोड रुपैयाँ दिएको छ । 

 

सम्झौताविपरीत बूढानीलकण्ठ


काठमाडौं महानगरले पार्क बनाउन दिएको रकम बूढानीलकण्ठ नगरपालिकाले खर्च गर्न सकेको छैन । कला, संस्कृति संरक्षण वा हरियाली प्रवद्र्धन गर्न महानगरले सहयोग गरेको थियो । तर, बूढानीलकण्ठले हालसम्म सो खर्चको विवरण महानगरलाई बुझाएको छैन ।

 

रकम सम्झौताविपरीत खर्च भएको छ । कार्यालय परिसरभित्रका लागि खर्च गरेको अनौपचारिक जानकारी आएको महानगरले जनाएको छ । 

 

शंखरापुर नगरपालिकाले वज्रयागिनी पार्क निर्माण गर्ने पिकनिक स्पट बनाउने  सम्झौता भएको थियो । तर, हालसम्म कुनै जानकारी नआएको काठमाडाैं महानगरपालिका सहरी पूर्वाधार विभागका प्रमुख रामबहादुर थापाले जानकारी दिए । खर्च विवरण माग गर्दा पनि नआएको उनको भनाइ छ । 

 

कागेश्वरी मनोहरा नगरपालिकासँग कागेश्वरी धामका लागि सम्झौता भएको हो । तर, सो नगरपालिकाले बाटो निर्माण गरेको पाइएको छ । सम्झौतामा बाटो बनाउने भन्ने नभएको उनको भनाइ छ । 

 

तत्कालीन अवस्थामा आफूसँग रकम नभएकाले सो रकम खर्च गरेको कागेश्वरी मनोहरा नगरपालिकाले बताएको छ । 

 

सम्झौताविपरीत काम भए के गर्ने ?


नगर÷नगर साझेदारी कार्यक्रमअन्तर्गत महानगरले गरेको सहयोगमा कतिपय नगरपालिकाले सम्झौताअनुसार काम गर्न सकेका छैनन् । काम गर्न नसकेर रकम खर्च नभएको खण्डमा महानगरले दिएको रकम ब्याजसहित फिर्ता गर्नुपर्ने सम्झौता थियो ।

 

सम्झौताविपरीत काम भए खर्च मानिने छैन । सम्बन्धित पालिकाले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नुपर्ने सम्झौता थियो । तर, हालसम्म कुनै पालिकाले रकम फिर्ता नगरेको प्रमुख थापाले जानकारी दिए ।