close

एउटा स्वास्थ्य केन्द्र जहाँ सिटामोल पनि पाईंदैन

जहाँ १ महिनादेखि डाक्टरसमेत छैनन्

एउटा स्वास्थ्य केन्द्र जहाँ सिटामोल पनि पाईंदैन

जहाँ १ महिनादेखि डाक्टरसमेत छैनन्

Trulli
ADVERTISEMENT

सुर्खेत (वीरेन्द्रनगर)- गाउँका वासिन्दा सामान्य रुघाखोकी, झाडापखाला, ज्वरो आउने, टाउको दुख्ने भइरहन्छन् । कतिपय अवस्थामा सामान्य औषधी नपाउँदा पनि अकालमै ज्यान गुमाउनु परेको कर्णालीको विगत छ ।

 

कतै औषधी नपुग्ने र कहिले तोकिएको ठाउँमा डाक्टर नजाने समस्याले कर्णालीका नागरिक वर्षौंदेखि सास्तीमा छन् ।

 

दैलेखको ठाटीकाँधमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र १ महिनादेखि डाक्टरविहीन भएको छ । एचए र अनमीको भरमा चलेको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा सिटामोलसम्म नपाइने गरेको बिरामीको गुनासो छ । 

 

२ दिनदेखि रुघा ज्वरो आएर औषधी लिन भनेर स्वास्थ्य केन्द्र गएँ’, नाम नबताउने सर्तमा एक बिरामीले भने, ‘अस्पताल जाँदा एचए र अनमीसँग औषधी आयो कि भनिसोध्दा जतिबेला पनि छैन भन्ने सुनिन्छ ।’

 

गत १२ भदौमा ठाटीकाँधमा दरबन्दीका डाक्टर स्वास्थ्य केन्द्रमा नभएकाले उपचारको अभावमा वडा नम्बर १ की एउटी सुत्केरी महिलाको अत्याधिक रक्तश्रावका कारण मृत्यु भयो ।

 

अस्पतालमा डाक्टर नहुँदा सुत्केरीको मृत्यु भएपछि आफन्तले गाउँपालिकामा तालाबन्दी गरिदिए । तालबन्दीपछि गाउँपालिकाले डाक्टर ल्याउने निर्णय गर्‍यो ।

 

निर्णय गरेको केही समयपछि काम चलाउ डाक्टर पुगे तर ५ महिना मात्र बसेर उनले आफ्नो बाटो ताताए । अहिले डाक्टर गएको १ महिना बितिसक्दा पनि न अस्पतालमा डाक्टर छन्, न त औषधी नै । 


अस्पतालमा गएपछि सामान्य सिटामोल र झाडापखाला लागेको औषधी पाउन पनि मुस्किल भएको स्थानीय दिनेश रावतले बताए । उनले भने, ‘स्वास्थ्य संस्थामा म्याद गुर्जिएका औषधी पाउन पनि मुस्किल हुन्छ । सम्बन्धित यसबारे जानकारी गराउँदै गैरजिम्मेवार जवाफ दिन्छन् ।’ 

 

अस्पतालमा अहिले सुत्केरीका लागि प्रयोगमा ल्याइने औषधीबाहेक अरू सबै औषधी सकिएको व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर १ का वडाध्यक्ष नर्तम बुढाले जानकारी दिए ।

 

उनले भने, ‘इमर्जेन्सीको औषधी मेडिकल हलबाट किनेर लिन्छौँ । औषधी ल्याउन टेन्डर प्रक्रिया अगाडि बढिसकेकाले २-४ दिनमै आउँछ होला’, बुढाले भने ।


स्वास्थ्य चौकीमा औषधी नभएको झन्डै १ वर्ष पुग्न लागेको स्वास्थ्य केन्द्रकी निमित्त प्रमुख लक्ष्मी बुढाले बताइन् । ‘गाउँपालिकामा खबर गर्दा टेन्डर हुँदै छ भन्ने जवाफ आउँछ । अहिलेसम्म जेनतेन अस्पतालको आन्तरिक स्रोतबाट उठेको पैसाले निजी मेडिकलबाट किनेर ल्याइरहेका छौँ । अब किनेर ल्याउने अवस्था पनि छैन,’ बुढाले भनिन् ।

 

अस्पताल आउने सेवाग्राहीले औषधी सकिएको छ भन्दा स्वास्थ्य संस्था बन्द गरेर बस्नुस् भन्ने गरेको उनले सुनाइन् ।


यो स्वास्थ्य संस्थामा पहिले साढे २०० बिरामी आउने गरेकामा औषधी सकिएपछि अहिले दैनिक ३५ जना मात्र आउने गरेका छन् भने उनीहरूले पनि औषधी नपाएपछि गाली गरेर फर्किने गरेको बुढाको गुनासो छ । 

 

‘टेन्डर नहुनु पहिले पनि कोटेसनबाटै औषधी ल्याउने गरिएको ठाटीकाँध गाउँपालिका स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य शाखा प्रमुख रवीन्द्र भण्डारीले बताए । अहिले पनि सोही टेन्डर प्रक्रियाअनुसार औषधी खरिद व्यवस्था गरिएकाले २-३ दिनमै औषधी अस्पतालमा पुग्ने उनको दाबी छ । 


‘औषधी अभावै भएको भन्ने होइन । अस्पतालकै कर्मचारीको तालमेल नमिलेका कारण स्थानीयले त्यसो भनेका हुन सक्छन्’, भण्डारीको दाबी छ ।’

 

जनशक्ति अभावमा एक्सरे भवन प्रयोगविहीन 

 

गत आर्थिक वर्ष २०७६/७७ मा १२ लाख रुपैयाँमा बनेको ऐक्सरे भवन अहिले प्रयोगविहीन अवस्थामा छ । वन निर्माण सम्पन्न भएर पनि प्रयोगमा आउन नसकेको हो । 

 

जनशक्ति अभावका कारण भवन अलपत्र परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बुढा बताउँछन् । ‘ऐक्सरे भवनको काम पूरा भए पनि प्रयोगमा आउन सकिरहेको छैन,’ बुढाले भने, ‘काम गर्ने कोही छैनन्, मेसिन पनि छैन ।’