close

बेँसीको पानी गाउँमै छ्यालब्याल

बेँसीको पानी गाउँमै छ्यालब्याल

Trulli
ADVERTISEMENT

तनहुँ– तनहुँ मिछुर्लुंगकी माया थापाले खानेपानी जोहोमा भोगेका सास्ती भनिसाध्य छैन । पानीको लाइन पर्खंदै धेरै रात कुवा र पँधेरोमै बिताइन् । 

 

गाउँमा बिजुलीको लाइन थिएन । कमैको हातमा टर्च लाइट हुन्थ्यो । अध्याँरो रातमा गाग्रोमाथि ग्रागो खापेर छामछुम गर्दै पानी ओसारेको उनले कहिल्यै बिर्सन सक्दिनन् ।


तर, त्यो दुःख २०६५ पछि उनले र उनका गाउँलेले बेहोर्नुपरेको छैन । गोर्खा वेयलफेयर सोसाइटीको ग्रामीण खानेपानी परियोजनाअन्तर्गत गाउँका सबैलाई पायक पर्ने गरी १२ वटा सार्वजनिक धारा जडान गरिएपछि सुखका दिन सुरु भए । आलोपाालो धारामा पानी भरेर चलाए । 


तर, २०७२ भूकम्पको धक्काले खानेपानीको मुहानमा गडबडी भयो । पहिलाको तुलनामा मुहानमा कम पानी देखियो । त्यसैको प्रभाव धारामा प्रशस्त पानी आएन ।

 

धारामा जति पानी आउँछ गाउँलेले बाँडेर उपभोग गर्न थाले । ‘चैत, वैशाखमा कहिलेकाहीँ १–२ ग्रागी मात्रै पाइन्थ्यो’, थापाले सुनाइन् । 

 

भीमाद नगरपालिका वडा नम्बर ५ मा पर्ने मिछुर्लुंगमा खानेपानीको समस्या बढ्न थालेपछि बजेट खोज्दै गाउँलेले सरोकारवाला निकायलाई गुहारे पनि सुनुवाइ भएन । उनीहरूले पानीका लागि प्रदेश सरकारलाई गुहारे ।

 

गण्डकी प्रदेश सरकारले ५ वर्षे कार्यकालमा हरेक बस्तीमा आधारभूत खानेपानीको व्यवस्था मिलाउँदै एक घर एक खानेपानी धाराको अवधारणा सार्वजनिक गर्‍यो । सोहीअनुसार मिछुर्लुंग गाउँमा खानेपानीको बजेट पर्‍यो । 

 

हाल मिछुर्लुंग धरादी खानेपानी आयोजनामार्फत यहाँका हरेक घरमा खानेपानीका धारा जडान गरिएको छ । गाउँभन्दा पाँच सय ७० मिटर तल रहेको धरादीको मूलबाट सोलारमार्फत लिफ्टिङ गरी गाउँका ७२ घरमा धारा जडान गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रमुख किरण पौडेलले बताए ।

 

प्रदेश सरकारको यही कार्यालय मातहतमा सम्पन्न आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । यो आयोजनामा ६८ लाख ४६ हजार २ सय ४३ रुपैयाँ लगानी भएको उनले जानकारी दिए ।

 

यसमा गण्डकी प्रदेश सरकारको ५७ लाख ८४ हजार ९ सय ३ रुपैयाँ लगानी भयो । स्थानीय उपभोक्ताले १० लाख ६१ हजार ३ सय ४० रुपैयाँ बराबरको जनश्रमदान गरे ।

 

‘घरमै खानेपानी आउने भएपछि खुसीखुसी श्रमदान ग¥यौँ’, स्थानीय भीमकुमारी रानाले भनिन् । अहिले पानी छ्यालब्याल भएसँगै पालो कुरेर जोहो गर्न नपरेपछि समयको बचत र घरायसी काममा गाउँका महिलालाई सजिलो भएको उनले बताइन् ।

 

‘जे गर्दा पनि पानी नै चाहिने । पानी नहुँदा अप्ठेरो हुन्थ्यो’, उनले भनिन्, ‘पानी भएपछि समयको बचत हुँदो रहेछ । त्यसले गर्दा समयमै घरको काम सक्छौँ । घरको सफाइमा ध्यान दिन थालेका छौँ ।’


मिछुर्लुंग पर्यटकीय गन्तव्यमा पर्ने गाउँ हो । यहाँ २०७१ भदौबाट होमस्टे सञ्चालन गरिएको छ । घरमा पाहुना आउँदा खानेपानी अभावले समस्या हुन्थ्यो । अब घरघरै खानेपानीको धारा भएपछि होमस्टे सञ्चालनमा टेवा पुग्ने मिछुर्लुंग सामुदायिक होमस्टेका अध्यक्ष नरेन्द्र रानाको विश्वास छ ।

 

१५ पुस २०७६ मा सम्पन्न गर्ने लक्ष्यका साथ २९ माघ २०७५ मा मिछुर्लुंग धरादी खानेपानी आयोजना सम्झौता भएको थियो । कोरोना महामारीले आयोजनाको काममा ढिलाइ भएपछि अहिले योजना उद्घाटन गरिएको छ ।

 

घरघरै खानेपानीको धारा पाएपछि मिछुर्लुंगबासीले उद्घाटनको दिन खुसीयाली मनाए । मगर समुदाय बहुलको यहाँका युवाहरूले खैजेडी तालमा स्वर मिलाउँदै कौराहा गाए । युवतीहरू त्यही तालमा छमछमी नाचे । 


गीतले भन्दैथ्योः

बजेट आयो प्रदेशबाट खानेपानी नाउैमा
बेँसीको पानी आयो गावैमा’