close

मोरङमा माधव नेपाल पक्षको समानान्तर कमिटी

मोरङमा माधव नेपाल पक्षको समानान्तर कमिटी

Trulli
ADVERTISEMENT

मोरङ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हातमा दही जमाएर नबस्ने बताएका छन् । मोरङको विराटनगरमा शुक्रबार आयोजित जिल्ला तथा महानगर कमिटीको समानान्तर कमिटी विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

 

नेता नेपालले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले गरेको कारबाहीले कुनै असर नपार्ने दाबी गरे । ओलीले आफूलाई कारबाही गर्दा कुनै गुनासो नभए पनि भीम रावल, सुरेन्द्र पाण्डेलगायतका नेतालाई कारबाही अनुचित भएको नेता नेपालको भनाइ छ ।

 

ओलीसँगै चुनावी प्रतिस्पर्धाबाट जितेका अष्टलक्ष्मी शाक्य, भीम आचार्यलगायत नेताको पद खोस्नु लज्जास्पद भएको उनको धारणा छ ।

 

‘नवौँ राष्ट्रिय महाधिवेशनबाट चुनावी प्रतिस्पर्धामा आएका अन्य नेतालाई हटाउँदा ओलीको अध्यक्ष पदसमेत सकिएको छ’, नेता नेपालले भने । प्रधानमन्त्री ओलीले आफूलाई प्रचण्डको कार्यकता भनेर गलत प्रचार गरेको आरोप उनले लगाए । 

 

एमालेको नेपाल पक्षले मोरङमा समानान्तर जिल्ला र विराटनगर महानगर कमिटी गठन गरेको छ । वरिष्ठ नेता नेपालको उपस्थितिमा चन्द्रवीर राईको नेतृत्वमा ३ सय २५ सदस्सीय समानान्तर जिल्ला कमिटी गठन गरेको हो ।


कमिटीको उपाध्यक्षद्वय चण्डीप्रसाद राई र डा. उद्धव पोखरेल, सचिवमा राजन केसी, उपसचिवमा ओसिम आलम, नीलम ढुंगेल र आर्थिक प्रमुखमा विश्वनाथ राई रहेका छन् । अन्य सबैलाई सदस्यमा राखिएको छ ।

 

पारुल क्षेत्रीको नेतृत्वमा १ सय ७५ सदस्यीय महानगर कमिटी गठन गरिएको छ । महानगर कमिटीको उपाध्यक्षमा खेम तिम्सिना, सचिवमा किरण दाहाल, उपसचिवमा योगेशराज भण्डारी छन् । 

 

मोरङसहित ६५ जिल्लामा समानान्तर कमिटी गठन गरिसकिएको एमालेको असन्तुष्ट पक्षले जानकारी दिएको छ ।