close

थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन जुट्यो बडिगाड

थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन जुट्यो बडिगाड

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ७ भीमगिठेको थामचौरलाई पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु भएको छ । उच्च स्थानमा रहेको चौर भएकाले पर्यटकीय स्थल बनाउन गाउँपालिकाले अभियान थालेको हो ।

 

यहाँबाट हिमाली शृंखला, गुल्मी, पाल्पा र प्युठानका धेरै स्थान देखिने भएकाले बडिगाड र वडाले पर्यटन क्षेत्र बनाउने उद्देश्यले कार्यक्रम अगाडि बढाएका हुन् ।

 

पर्यटक आकर्षणका लागि यहाँ सिद्धबाराही मन्दिर निर्माण थालिएको छ । वडा कार्यालयको अगुवाइमा गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेपछि चालू वर्ष मन्दिर निर्माण भएको छ ।

 

मन्दिर निर्माण सकेर धार्मिक पर्यटनलाई आकर्षक गन्तव्य बनाउने योजना बनाइएको वडाध्यक्ष कृष्णबहादुर गुरुङले बताए । यो स्थानमा पुग्न मध्यपहाडी लोकमार्गको भीमगिठे बजारबाट १ घन्टाको जिप यात्रा गर्नुपर्छ । 

 

पदयात्रा गरेर घुम्न चाहनेका लागि पनि यो स्थान आकर्षक गन्तव्य हो । भीमगिठेबाट २ देखि ३ घन्टामा पैदल यात्रा गर्न सकिने भएकाले १ दिने यात्रा गर्न चाहनेलाई यो मार्ग आकर्षण रहेको स्थानीय गण्डकी थापा अधिकारीले बताइन् । 

 

‘उच्च स्थानमा रहेकाले पर्यटक आकर्षण गर्न सक्ने स्थान छ,’ उनले भनिन्, ‘यहाँ वनभोज स्थलसमेत बनाउन सके वरपरका मानिसलाई भित्र्याउन सकिन्छ ।’ पर्यटक आर्कषण बनेको खण्डमा पदमार्ग आसपासमा पनि साना होटल तथा रेस्टुराँ सञ्चालन गर्न सकिने उनले बताइन् ।

 

भीमगिठेदेखि यात्रा गर्न माथिल्लो स्थान पुग्दा हरियाली वनजंगल, डाँडाकाँडा, र मैदान भेटिन्छ । ‘पर्यटकका लागि लोभलाग्दो स्थान हो । हामीले व्यवस्थापनका लागि काम गरिरहेका छौँ,’ स्थानीय पविता थापाले भनिन्, ‘मोटर बाटो पुगेकाले पैदल जान नसक्नेलाई पनि सहज बनेको छ ।’ 

 

गाउँपालिका र वडाले प्रचारको काम थालेपछि दैनिक घुम्ने र वनभोज खाने पुग्न थालेको उनले जानकारी दिइन् । यहाँ पुगेकाहरूले बस्न चाहेको खण्डमा थामचौरमै होटलको आवश्यकता देखिएको स्थानीय लालबहादुर थापाले बताए । ‘कोही बस्न खोज्नेलाई होटल वा टेन्ट बनाउने योजना चाहिएको छ,’ उनले भने, ‘गाउँपालिकाबाट बजेट मागेर थप पूर्वाधारका योजना थप्ने लक्ष्य छ ।’