close

डढेलोबाट विस्थापित ५ परिवारलाई राहत 

डढेलोबाट विस्थापित ५ परिवारलाई राहत 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले डढेलोबाट विस्थापित भएका ५ परिवारलाई राहत उपलब्ध गराएको छ ।

 

गत २२ चैतमा स्थानीय सामुदायिक वनमा लागेको डढेलोले घर जल्दा विस्थापित भएका खोटेहाङ गाउँपालिका वडा नम्बर ७ खोटाङ बजारका छविलाल ढकाल, डम्बरप्रसाद गेलाल, उद्धव भुजेल, नरबहादुर भुजेल र यामबहादुर भुजेल परिवारलाई कोषले राहत प्रदान गरेको हो । 

 

खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषको खोटेहाङ गाउँपालिका प्रतिनिधि इन्द्रकुमार राईले वडा सदस्य केदारप्रसाद ढकालको रोहबरमा डढेलोपीडितलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले राहत प्रदान गरे ।

 

डढेलोले घर जलेपछि पूर्ण रूपमा विस्थापित भएका पीडितलाई दैनिक जीवनयापनमा सहयोग पुर्‍याउन राहत रकम प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए ।

 

स्थानीय मड्केमा सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा खोटाङ बजार पुरानो गाउँ र रातामाटाका कटेरासहित ९ वटा घर जलेका थिए । डढेलोले घर तथा धनमाल नष्ट हुँदा स्थानीयको लाखौँको क्षति भएको थियो ।

 

दमकल प्रयोग गरेर आगलागी नियन्त्रणमा लिइएकाले अन्य घरलाई भने डढ्नबाट जोगाइएको गाउँपालिका अध्यक्ष प्रदीप राईले जानकारी दिए । 

 

चालू आर्थिक वर्षमा २६ पूर्ण र २ आंशिक गरी २८ अग्निपीडित परिवारलाई राहत प्रदान गरिसकिएको कोषले जनाएको छ । प्राकृतिक विपत्तिमा परेका जिल्लाबासीको सहयोगार्थ हङकङमा बसिरहेका खोटाङेको अगुवाइमा २०७२ मा कोष स्थापना गरिएको हो । 

 

२० लाखबाट सुरु गरिएको कोषको मूलधन यस वर्षदेखि २८ लाख रुपैयाँ पुगेको छ । कोषको वार्षिक रूपमा आउने ब्याजबाट जिल्लाका विपत्तिमा परेका नागरिकलाई राहत प्रदान गर्ने गरिएको कोषाध्यक्ष किरातले बताए ।