close

राष्ट्रिय भिटामिन ए कार्यक्रमः संघीय सरकारले माग्यो स्थानीय तहको सहयोग

राष्ट्रिय भिटामिन ए कार्यक्रमः संघीय सरकारले माग्यो स्थानीय तहको सहयोग

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालनका लागि आवश्यक सहयोग र समन्वय गरिदिन देशभरका स्थानीय तहहरूलाई अनुरोध–पत्र पठाएको छ । 

 

आउँदो ६ र ७ वैशाखमा ६ देखि ५९ महिनाका बालबच्चालाई खुवाइने भिटामिन ए कार्यक्रमका लागि सहयोग र समन्वय गरिदिन मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई अनुरोध गरेको हो ।

 

मन्त्रालयले कोभिड–१९ को संक्रमण जोखिम कायमै रहेको अवस्थामा जनस्वास्थ्य मापदण्ड, २०७७ परिपालन गरी कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको छ । यस्तै, महिला स्वास्थ्य स्वयंसेसिवकामार्फत बालबालिकालाई भिटामिन ए, १ देखि ५ वर्षका बालबालिकालाई जुकाको औषधी र ६ देखि २३ महिनाका बालबालिकालाई बहुसूक्ष्म पोषकतत्त्व बालभिटा वितरण गर्ने, सामाजिक दूरी कायम गरेर भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने केन्द्रको निर्धारण कार्यक्रम सञ्चालन गरिनेछ ।

 

हरेक केन्द्रमा भीडभाड नहोस् भन्न प्रतिघन्टा १० जना बालबालिका मात्र उपस्थित हुने गरी व्यवस्था मिलाउने र हरेक व्यक्तिको बीचमा कम्तीमा २ मिटरको भौतिक दूरी कायम भएको सुनिश्चित गर्नेलगायतका मार्गदर्शनको पालना गर्न/गराउन स्थानीय तहको समन्वय र भूमिका खोजिएको हो ।

 

यस्तै, भिटामिन ए क्याप्सुल काट्न प्रयोग हुने कैंची समय–समय स्यानिटाइजरले निःसंक्रमण गर्ने, भिटामिन ए वितरण केन्द्रमा साबुनपानीको व्यवस्था गर्ने, महिला स्वास्थ्य स्वयंसेविका र बालबालिका लिएर आउने अभिभावकले मास्क अनिवार्य लगाउनुपर्नेछ ।

 

महिला स्वास्थ्य स्वयंसेविकालाई आवश्यक पर्ने स्यानिटाइजर र मास्कसहितका सामग्रीको व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्ने र राष्ट्रिय भिटामिन ए कार्यक्रम अवसरमा बालभिटा कार्यक्रम लागू भएका जिल्लाहरूमा महिला स्वास्थ्य स्वयंसेविकाले ६ देखि २३ महिनाका बालबालिकालाई बालभिटा वितरण गर्नेसहितका मार्गदर्शनको पालनामा सरकारले स्थानीय तहको समन्वय खोजेको छ ।

 

मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिमलाई दृष्टिगत गरी भिटामिन ए कार्यक्रममा पाखुराको मध्यभागको परिधिको नाप लिने कार्य यस पटकलाई स्थगन गरिएकोसमेत जनाएको छ । 

 

चैत २०७७ मा हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन भएका जिल्ला झापा, मोरङ, धनकुटा, बारा, पर्वत, लमजुङ, बागलुङ, दाङ, कपिलवस्तु, बाँके, बर्दिया र कैलालीमा २ वर्षमाथिका बालबालिकाले जुकाको औषधी खाइसकेको हुन सक्ने भएकाले उक्त जिल्लाका २ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई सोधेर जुकाको औषधि नखुवाएको भए मात्र खुवाउने व्यवस्थाका लागि स्थानीय तहले समन्वय गरिदिनुपर्ने मन्त्रालयले जनाएको छ ।