close

ठाडाखानीका बालबालिकालाई अमेरिकाको छात्रवृत्ति 

ठाडाखानीका बालबालिकालाई अमेरिकाको छात्रवृत्ति 

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ६ ठाडाखानीका बालबालिकालाई अमेरिकाको पिएस फाउन्डेसनले छात्रवृत्ति उपलब्ध गराएको छ । विपन्न बालबालिकालाई छात्रवृत्तिका साथै ठाडाखानीको मालिका आधारभूत विद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री र पोसाक उपलब्ध गराएको हो । 

 

हाल अमेरिकामा रहेका रुद्र पुनले बुबा पृथ्वीबहादुर र आमा सकदेवी छन्त्यालको नाममा स्थापना गरेको पिएस फाउन्डेसनले ठाडाखानीका २२ जना बालबालिकालाई २०७८ वैशाखदेखि लागु हुने गरी छात्रवृत्ति उपलब्ध गराउने भएको छ । 

 

भौगोलिक रूपमा दुर्गम, विकट र पिछडिएको अल्पसंख्यक छन्त्याल समुदायका बालबालिकाको उच्च शिक्षामा पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था गरेको हो ।

 

मालिका आधारभूत विद्यालयले छनोट गरेका २२ जनालाई संस्थाले मासिक ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति दिने जनाएको छ । 

 

कक्षा ११ देखि स्नातक तह पढ्ने ३ जनालाई मासिक जनही ५ हजार, कक्षा १० पढ्ने ४ जनालाई मासिक ३ हजार, कक्षा ९ का १ जनालाई मासिक २५००, कक्षा ६ देखि ८ सम्म पढ्ने ५ जनालाई १५०० रुपैयाँका दरले छात्रवृत्ति उपलब्ध गराउने संस्थाका सदस्य जितबहादुर छन्त्यालले बताए । 

 

अभिभावक नभएका, अभिभावक अपांग भएका, बाआमाले सम्बन्ध विच्छेद गरेर समस्यामा परेका बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउन लागिएको हो । ठाडाखानीका अलावा छिमेकी कुइनेका ५ जनालाई पनि छात्रवृत्ति उपलब्ध गराउने मालिका आधारभूत विद्यालयकी प्रअ खिममाया छन्त्यालले बताइन् । 

 

निजी स्रोतबाट निमावि तह सञ्चालन भएको ठाडाखानीको मालिका आधारभूत विद्यालयमा कक्षा ८ सम्मको पठनपाठन हुन्छ । ८ कक्षा उत्तीर्ण भएपछि ९ र १० कक्षा पढ्न पाखापानीको अमर मावि पुग्नुपर्छ । हुनेखाने बेनी, पोखरा जान्छन् । विपन्न करिब एक डेढ घन्टा पैदल हिँडेरै पाखापानी पुग्छन् । पाखापानीमै डेरा खोजेर अथवा छात्रावासमा बस्नुपर्छ । 

 

भौगोलिक विकटता, पारिवारिक, आर्थिक कारणले समस्यामा परेकालाई नियमित अध्ययनमा सहयोग पु¥याउन छात्रवृत्तिले सहयोग पुग्ने विद्यार्थी पुष्पा छन्त्यालले बताइन् । पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले विपन्न विद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन छात्रवृत्तिले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

 

संस्थासँग समन्वय गरेर वडाका अन्य बस्तीका विद्यार्थीलाई पनि छात्रवृत्तिको व्यवस्था मिलाउन पहल गरिने वडाध्यक्ष शेरपुञ्जाले जानकारी दिए । 

 

ठाडाखानीमा पिएस फाउन्डेसन उद्घाटन अवसरमा शुक्रबार मालिका आधारभूत विद्यालयका ८५ जना विद्यार्थीलाई स्टेसनरी र ६५ जनालाई विद्यालय पोसाक वितरण गरिएको थियो ।