close

२ कराेड खर्चेर बनाइएकाे भवन प्रयोगविहीन 

२ कराेड खर्चेर बनाइएकाे भवन प्रयोगविहीन 

Trulli
ADVERTISEMENT

म्याग्दी– जिल्ला नापी कार्यालय म्याग्दीको भवन प्रयोगविहीन बनेको छ । नापी विभागले ठेक्कामार्फत बेनीको मंगलाघाटमा २०७७ मंसिरमा साढे ३ तले पक्की भवन निर्माण गरेको थियो । 

 

मासिक ४० हजार रुपैयाँ खर्चेर भाडाको घरबाट कार्यालय सञ्चालन गरिरहेको नापी कार्यालयको २ करोड ४० लाख रुपैयाँमा निर्माण भएको भवन प्रयोगविहीन बनेको हो । 

 

२०७५ मा मसुद–बिएन–त्रिशक्ति जेभीसँग ठेक्का सम्झौता भएको भवन निर्माण योजनाको अन्तिम पटक थपिएको म्याद गत मंसिर मसान्तमा सकिएको छ । नापी कार्यालय म्याग्दीका प्रमुख तुलसी पौडेलले बाटोको निकास नहुँदा भवन प्रयोगमा ल्याउन नसकेको बताए ।


‘बाटोमा राखिएका पोल हटाउन विद्युत् प्राधिकरण, पाइप व्यवस्थापन गर्न संघ एवं प्रदेशका खानेपानी कार्यालय तथा तुइन हटाउन बेनी नगरपालिका र जिल्ला समन्वय समितिलाई आग्रह गरेका छाैँ,’ उनले भने, ‘बिजुलीका पोल, पाइप र तुइनको टावर नहटाउँदासम्म मूल सडकदेखि भवनसम्म पुग्ने बाटोको निकास हुँदैन ।’ 

 

बेनी–मंगलाघाट सडकदेखि नापी कार्यालयको भवनमा पुग्ने करिब २० मिटर बाटोको बीचमा विद्युत्का पोल, खानेपानीका पाइप र तुइन टावर छन् । नापी कार्यालयसँगै कोष तथा लेखा नियन्त्रण र खानेपानी डिभिजनको कार्यालय भवन निर्माण भइरहेको छ । 

 

३ वटा कार्यालयको बीचमा खोल्सामाथि ढलान गरेर बनाइएको बाटोमा खानेपानीको पाइप राखिएको छ । २ वटा विद्युत्का पोल र वर्षौंदेखि प्रयोगविहीन तुइनको एउटा टावर छ । 

 

निर्माण कम्पनीका प्रतिनिधि निराजन खतिवडाले मूल सडकदेखि भवनसम्म पुग्ने बाटोको निकास र प्राविधिक मूल्यांकन नभएको बताए । 

 

‘मंसिरमै भवन निर्माण सकेर हस्तान्तरण गर्न खोजेको हो,’ उनले भने, ‘नापी कार्यालयले अन्तिम मूल्यांकन गर्न र भवनसम्म पुग्ने बाटो बनाएर प्रयोगमा ल्याउन बेवास्ता गरेको छ ।’ 

 

तत्कालीन सहरी विकास तथा भवन कार्यालय बागलुङको प्राविधिक सहयोगमा निर्माण सुरु भएको भवनको प्राविधिक रेखदेख गर्ने जिम्मेवारी पूर्वाधार विकास कार्यालय म्याग्दीलाई हस्तान्तरण भएको छ । 

 

बागलुङको कार्यालय खारेज भएको र बेनीको कार्यालयमा भवनसँग सम्बन्धित प्राबिधिक जनशक्ति नभएकाले नापजाँच र मूल्यांकन हुन नसकेको हो । संघ सरकारअन्तर्गतको नापी कार्यालयको भवनलाई पूर्णाता दिन प्रदेश सरकारको कार्यालयका कर्मचारीले रुचि देखाएका छैनन् । 

 

भवनको ठेक्का प्रक्रियाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा विचराधीन रहेकाले पनि जिम्मेवारी लिन प्राविधिकले नचाहेका हुन् । निर्माण कम्पनीका प्रतिनिधि खतिवडाले करिब ४० लाख रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताए । 

 

भुइँ तलामा २ वटा सभाहल, पहिलो तलामा ५ वटा, दोसो तलामा ६ वटा र तेस्रो तलामा आवास प्रयोजनका लागि ३ वटा कोठा बनाइएको छ । कार्यालय भवनसँगै चमेनागृह र सार्वजनिक शौचालय निर्माण भएको छ । 

 

बालमन्दिर चोकमा मासिक ४० हजार रुपैयाँ तिरेर १० वटा कोठा भाडामा लिई नापी कार्यालय सञ्चालन गरिएको छ । आगामी असारसम्मका लागि भाडा तिर्ने बजेट आएको छ । प्राविधिक मूल्यांकन एवं बाटोको निकास दिएर भवन प्रयोगमा ल्याउन विभाग र प्रशासन कार्यालयमार्फत पहल गरेको नापी अधिकृत पौडेलले जानकारी दिए ।