close

लिच्कीराम्चेमा खुल्यो वडास्तरीय दलित सञ्जाल

लिच्कीराम्चेमा खुल्यो वडास्तरीय दलित सञ्जाल

Trulli
ADVERTISEMENT

खोटाङ- ‘दलितसँग गाउँपालिका’ कार्यक्रम अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर ९ लिच्कीराम्चेमा वडास्तरीय दलित सञ्जाल गठन गरिएको छ । 

 

दलित समुदायको जीवनस्तर उकास्ने लक्ष्यका साथ गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा विनियोजन गरेको दलित लक्षित कार्यक्रमअन्तर्गत लिला विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय वडास्तरीय दलित सञ्जाल गठन गरिएको हो ।

 

सञ्जालको उपाध्यक्षमा कमला सार्की, सचिवमा डिकबहादुर सार्की, सहसचिवमा रणबहादुर विश्वकर्मा र कोषाध्यक्षमा कविता विश्वकर्मा चयन भएका छन् ।

 

लिच्कीराम्चेमा २७ र २८ चैतमा शिक्षा, स्वास्थ्य तथा व्यवसाय सिर्जना, दर्ता, सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेलगत्तै सञ्जाल गठन गरिएको हो । 

 

केही समयपछि सञ्जालको बैठकबाट ५ जना व्यवसायी छनोट गर्ने र तिनलाई व्यवसायसँग सम्बन्धित उपकरण प्रदान गरिने ‘दलितसँग गाउँपालिका’ कार्यक्रमका सहजकर्ता इन्द्रकुमार राईले बताए ।

 

समग्र दलित समुदायको उत्थान एवं आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ गाउँपालिकाले लिच्कीराम्चेबाट ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सुरु गरेको हो । चालू आर्थिक वर्ष लिच्कीराम्चेसहित खोटेहाङ गाउँपालिका वडा नम्बर ३ सावाकटहरे र वडा नम्बर ४ बड्कादियालेमा ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सञ्चालन हुने गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।

 

‘दलितसँग गाउँपालिका’ कार्यक्रमअन्तर्गत ३ वटै वडाका दलित समुदायलाई स्वास्थ्य, शिक्षा तथा व्यवसाय छनोट, दर्ता र सञ्चालनलगायत विषयमा जानकारी दिइनेछ । दलित परिवारको आर्थिक आयआर्जनमा टेवा पु¥याउने लक्ष्यअनुसार १५ जना उद्यमीलाई उत्पादन सामग्रीसमेत हस्तान्तरण गर्ने कार्यक्रम छ’, राईले भने ।

 

यसबाहेक वडास्तरीय दलित सञ्जाल गठनदेखि दलित र गैरदलितबीच सहभोजलगायत कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए । 

 

स्थानीय तह कार्यान्वयनमा आएदेखि नै दलितका लागि सञ्चालन गरिएको मोबाइल मर्मत तालिम, साबुन बनाउने तालिम र लुगा सिउने मेसिन खरिद प्रभावकारी नदेखिएपछि यस वर्ष फरक तरिकाले कार्यक्रम सञ्चालन गरिएको हो । दलित समुदायको उत्थानका लागि उपयुक्त कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आह्वान गरेर उत्कृष्ट प्रस्तावलाई स्वीकृत गरेर ‘दलितसँग गाउँपालिका’ कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । 

 

‘दलितसँग गाउँपालिका’ कार्यक्रमका लागि परेका प्रस्तावमध्ये नारथुंगेको प्रस्ताव छनोट भएको हो । २०७४ मा दलितका लागि मोबाइल तालिम, २०७५ मा साबुन बनाउने तालिम सञ्चालन गरिएको थियो । यस्तै, २०७६ मा लुगा सिउने मेसिन खरिद गरेर वितरण गरिएको थियो । 

 

‘दलित समुदायका लागि अहिलेसम्म सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी देखिएन । नयाँ तरिकाले सोच्नुपर्ने अवस्था देखियो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘सोही कारण दलितका लागि कस्तो कार्यक्रम उपयुक्त होला भनेर प्रस्ताव आह्वान गर्‍यौँ । आएकामध्ये उपयुक्त प्रस्तावका आधारमा कार्यक्रम अघि बढाइएको हो ।’