close

गुराँसे टावर: नठडिँदै ओइरिए आगन्तुक

गुराँसे टावर: नठडिँदै ओइरिए आगन्तुक

Trulli
ADVERTISEMENT

सुर्खेत(वीरेन्द्रनगर)- स्वर्गकी अप्सरा रारालाई भेट्न जाने मूल बाटोमै पर्छ, गुराँसे भ्यु टावर । वसन्त ऋतुको आगमनसँगै प्राकृतिक रूपमा उत्कृष्ट दैलेखको गुराँसे डाँडामा अवस्थित भ्यु टावर पुग्ने जोसुकै पर्यटकलाई साहित्यिक बन्न बाध्य गराउँछ । 


कालीगढले निकै कलात्मक शैलीमा बनाएको कृत्रिम गुराँसे भ्युटावरले यहाँ आउने जोसुकैको मन लोभ्याउँछ । दैलेख र सुर्खेतको सिमाना नजिकै पर्ने भ्यु टावरमा निर्माण पूरा नहुँदै पर्यटकले खचाखच भरिन थालेपछि स्थानीय दंग छन् । 

 

गुराँस गाउँपालिका वडा नम्बर ५ को सरस्वति सामुदायिक वनअन्तर्गत पर्ने गुराँसे भ्यु टावरको निर्माणले पूर्णता नपाउँदै पर्यटकको आकर्षणमा परेको हो । गर्मीयाममा पसिनाले निर्थुक्क भिजेको शरीर गुराँसे पुग्नेबित्तिकै लाग्ने सिरसिरे बतास र विभिन्न रंगीबिरंगीका गुराँसको स्वागतले मन फुरुंगै हुन्छ । 

 

विभिन्न चराचुरुंगीको चिरबिर आवाज र प्रकृतिले नौलो काँचुली फेरेको हरियाली सुसेलेको आवाज कानमा परेपछि मनै अघाउने नेपालगञ्जबाट पहिलोचोटि यहाँ आएका चक्रवति चौधरी बताउँछन् । 

 

‘नेपालगञ्जदेखि दैलेखमा पहिलो चोटि पाइला टेकेको हुँ । यहाँ आउँदा छुट्टै आशाका त्यान्द्रा पलाए,’ उनले भने, ‘नेपालगञ्जको तातो हावाले गलेको शरीर यहाँको चिसो हावाले सब ठीकठाक बनायोे ।’

 

गुराँसे वरपर पलाएका नयाँ पालुवाले यहाँ पुग्ने जोसुकैको मन फुरुंग बनाइदिन्छ । वसन्त ऋतुको आगमनसँगै यहाँ आएका सयौँ प्रेमिल जोडीहरू भावनामा डुब्दै छुट्टै कल्पनाको संसारमा डुबुल्की मार्छन् ।


त्यहीमाथि न्याउली चरीका विरही भाकाले आफ्ना मनका वेदना सुनाइरहेका हुन्छन् । हरियाली वातावरण, रंगीबिरंगी फूल र कोइलीको कुहुँ-कुहुँ आवाजले जोकसैलाई मन्त्रमुग्ध पार्ने कैलालीका सुवास डिसी सुनाउँछन् । 

 

कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरसँगै सिमाना जोडिएको हुँदा उक्त गाउँपालिका पर्यटकीय दृष्टिकोणले समेत अब्बल बन्दै गएको छ ।


भ्यु टावरबाट नेपालका करिब ४० वटा जिल्लाका विभिन्न भू-भाग, पश्चिम तराईका फाँट, सैपाल हिमाल, सिस्ने हिमाललगायत भारतका विभिन्न स्थानको सहजै अवलोकन गर्न सकिने सरस्वती सामुदायिक वनका अध्यक्ष निरञ्जनकुमार बिसीले बताए । 


‘तराईका भू-भागबाट कर्णालीको नजिकको हिउँ पर्ने र गुराँस पाइने स्थान गुराँसे भएकाले पनि यहाँ पर्यटक आकर्षण बढी देखिन्छ,’ उनले भने । निर्मााााधीन भ्यु टावरसँगै कलात्मक रूपमा लालीगुराँसको रूख बनाइएको छ । उक्त रूखमा डाँफे, चितुवा, चीललगायत पशुपक्षी र हतियार बनाइएका छन् । 


गुराँसेमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेपछि गाउँपालिकाले भ्यु टावर निर्माण गर्न विस्तृत गुरुयोजना प्रतिवेदन (डिपिआर) बनाई पहिलो वर्ष संघीय सरकारले ससर्त अनुदानमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेश सरकारले कार्यान्वयन गर्ने गरी ५० लाख, प्रदेशले ३० लाख विनियोजित गरेको गुराँस गाउँपालिका अध्यक्ष खेमराज वलीले सुनाए । 


‘८० लाख रुपैयाँ प्राप्त भएको छ’, उनले भने, ‘हालसम्म ७५ लाख भ्यु टावर निर्माणमा कार्यान्वन भइसकेको र बाँकी ३० लाख खर्चिंदै छ ।’ साढे २ करोड रुपैयाँको क्रमागत योजना भएकाले प्रदेश र संघीय सरकारले योजना पूरा गर्ने समयसम्म बजेट आउने वलीको भनाइ छ ।


उक्त स्थानमा खेलकुद, साधना, वनभोज स्थल, चिल्ड्रेन पार्क, पानीको फोहोरा र टाढा-टाढाको दृश्य हेर्नलाई दूरबिनलगायतका विभिन्न मनोरञ्जनात्मक पार्क निर्माण गरिने अध्यक्ष वलीले बताए ।

 

आर्थिक वर्ष २०७७/७८ मा प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट थप ३५ लाख रुपैयाँ बजेट छुट्याएको सूचना अधिकृत तथा सहायक वन अधिकृत शेरबहादुर रोकायाले जानकारी दिए । निर्माणाधीन भ्यु टावरस्थल समुद्री सतहदेखि करिब २५०० मिटर उचाइमा छ ।