close

३ वर्षसम्म टुंगिएन गाउँपालिका केन्द्र विवाद, सरकारी काम प्रभावित

३ वर्षसम्म टुंगिएन गाउँपालिका केन्द्र विवाद, सरकारी काम प्रभावित

Trulli
ADVERTISEMENT

गुल्मी - स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा निर्वाचन सकिएको ६ महिनाभित्र बहुमतले स्थानीय तहको नाम र केन्द्रको टुंगो लगाउनुपर्ने उल्लेख छ । 


तर, इस्मा गाउँपालिकामा केन्द्र विवाद हुँदा विकास निर्माण, प्रशासनिक कार्य सञ्चालनदेखि विषयगत कार्यालय प्रभावित भएका छन् ।  विवादकै कारण नागरिकले केन्द्रलाई हेरेर बनाउने व्यावसायिक योजना पनि अन्योलमा परेका छन् । 

 

कार्यदलबाट चाँपटारी, राजपत्रमा दोवाट


तत्कालीन जिल्लास्तरीय कार्यदलले इस्मा गाउँपालिकाको केन्द्र वडा नम्बर ५ चाँपटारीमा निर्धारण ग¥यो । राजपत्रमा केन्द्र साविक इस्मा रजस्थलको कार्यालय भन्ने उल्लेख छ । 


स्थानीय सरकार संचालन ऐनअनुसार निर्वाचन सकिएको ६ महिनाभित्र बहुमतले केन्द्र निर्धारण हुनुपर्छ । तत्कालीन समय त्यसको गृहकार्य पनि भएन ।


गत वर्षसम्म जिल्ला कार्यदलद्वारा प्रस्तावित चाँपटारी र राजपत्रमा उल्लेख दोबाटका विषयमा स्थानीय प्रतिनिधिबीच नै मतमतान्तर छ । तर, अहिले ती दुवै स्थानबाहेक बाहिर केन्द्रको चर्चा सुरु भएको छ । 

 

दौडाहामा नेकपा


इस्मा गाउँपालिकामा ६ वडा छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा वडा–१ मा मात्रै कांग्रेसले जितेको छ । गाउँपालिका प्रमुख र उपप्रमुखसहित अरु ५ वटै वडामा नेकपाले जितेको थियो ।


गाउँसभामा मतको हिसाबले नेकपाको पोल्टामा केन्द्र छ । तर, नेकपाका जनप्रतिनिधिबीचमै भूगोलको जुहारी चलेको छ । यसले गर्दा तीन वर्षसम्म गाउँपालिकाको केन्द्र निर्धारण भएको छैन । 


गाउँसभामा नेकपाका जनप्रतिनिधि भूगोलका कारण दुई कित्तामा छन् । कार्यदल र राजपत्र दुवैले तोकेका दुई स्थान चाँपटारी र दोवाट वडा–५ रजस्थलमै पर्छन् ।  भूगोलले चाँपटारी तल र दोवाट माथि पर्छ । यी दुई स्थानका विषयमा रजस्थलकै जनप्रतिनिधि विभाजित भएका कारण अहिले अन्यत्र केन्द्रको चर्चा हुन थालेको हो ।


वडाअध्यक्ष कलानिधि भण्डारीसहित ३ जना कार्यपालिका सदस्य चाँपटारी र नारायणपैयानीसहित तीन कार्यपालिका सदस्य दोवाटको पक्षमा छन् । भण्डारीसहित चाँपटारीको पक्षमा वडा–२ हस्तीचौर र वडा–६ अमरपुरका जनप्रतिनिधिको साथ छ ।


दोवाटको पक्षमा पैयानीसहित वडा–४ दोहली र वडा–३ दर्लामचौरका जनप्रतिनिधिको अडान छ । 

 

नेकपा कार्यालय टोलीबाट केन्द्र प्रस्ताव


लामो समय इस्मा गाउँपालिकाको केन्द्र विवाद रहेपछि पछिल्लो समय नेकपाको जिल्ला कार्यालय टोलीले इस्मा गाउँपालिकाको केन्द्र प्रस्ताव गरेको छ । गाउँपालिकाका ३ वडाका पुछार समेटेर केन्द्र निर्धाण गर्न नेकपाले सुझाएको छ ।


वडा–१ को छिनुवादेखि वडा–३ र ५ को हुलाके–आम्बोटसम्म केन्द्रको प्रस्ताव गरिएको नेकपा जिल्ला सचिव वीरबहादुर कार्कीले जानकारी दिए । कार्यदल वा राजपत्र दुवैले तोकेका स्थानमा गाउँसभाको बहुमत नभएका कारण छिनुवा–आम्बोट केन्द्र प्रस्ताव गरिएको उनको दाबी छ । गाउँपालिका मर्ज हुँदा सबैको केन्द्र पर्ने, सडक सन्जाल, नदी र समथर भूभागकै कारण पार्टीले उक्त स्थान छनोट गरेको कार्कीले बताए ।


‘प्रस्तावित ठाउँ अहिले सबैलाई पायक पर्दैन । सभामा बहुमत पुगेको भूगोल पनि पार्टीले नमान्ने कुरै भएन,’ उनले भने ।  जनसंख्याको हिसाबले अधिकांश नागरिक माथिल्लो भागमा छन् । त्यस कारण भोटको राजनीति गर्नेहरूलाई थप चुनौती छ । 


नेकपा इस्मा गाउँपालिका अध्यक्ष नारायण पैयानी सडक, फाँट र नदी देखाएर अधिकांश नागरिकको भावनाविपरीत केन्द्र निर्धारण नहुने बताउँछन् । सडक र भौतिक पूर्वधार बनाएर बन्ने विषय भएकाले मालिका, मदाने, धुर्कोटलगायतका स्थानीय तहको केन्द्र पनि विचार गर्नुपर्नेमा उनको जोड छ ।


अहिले नेकपाले प्रस्ताव गरेको स्थान इस्मा गाउँपालिका वडा–४ का लागि सबैभन्दा टाढा पर्छ । वडाध्यक्ष गनुप्रसाद अधिकारी अब पार्टी र सभाबाट बीच भूगोलमा केन्द्रको विकल्प खोज्नुबाहेक अरु उपाय नभएको दाबी गर्छन् ।


‘भोट माग्न बेंसी झर्ने कि गाउँ निस्कने भन्ने कुरा पार्टी र नेताले विचार गर्ने हो,’ उनले भने, ‘अहिले ८० प्रतिशत नागरिकलाई बिर्सेर भोलि कहाँ जाने ?’

 

विवादमै बित्यो ३ वर्ष 


जिल्लाका ११ स्थानीय तहमा गाउँपालिकाको केन्द्र विवाद छैन । केन्द्र विवादले इस्मा गाउँपालिकाको भौतिक निर्माण अलपत्र छ । घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको छ । 


केन्द्र टुंगो नलागेका कारण गाउँपालिकाले केन्द्र र प्रदेशबाट पाउने सबै अवसरको सदुपयोग पनि हुन सकेको छैन । गाउँपालिका प्रमुख लक्ष्मण विष्ट सर्वसम्मतको प्रयास गर्दा अहिलेको स्थिति आएको बताउँछन् । ‘पार्टीबाट निर्वाचित भएपछि उसको सुझावसहितको निर्णयलाई मान्नुपर्छ । केन्द्र बहुमतले टुंगो लगाउने विषय भएकाले निर्णय गर्न समय लागेको हो’, उनले भने ।