close

दिक्तेल डोजोलाई जिल्लास्तरीय कराते उपाधि

दिक्तेल डोजोलाई जिल्लास्तरीय कराते उपाधि

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको हलेसीमा आयोजित १२औँ जिल्लास्तरीय सितोरियो कराते प्रतियोगितामा दिक्तेल डोजो प्रथम भएको छ ।

 

शनिबार सम्पन्न जिल्लास्तरीय सितोरियो कराते प्रतियोगितामा १३ स्वर्ण, ७ रजत र १४ कास्य पदकसहित दिक्तेल डोजो प्रथम भएको हो ।

 

यस्तै, ३ स्वर्ण, ७ रजत र ५ कास्य जित्दै जालपा डोजो दोस्रो तथा १ स्वर्ण, ३ रजत र १५ कास्य पदक हात पार्दै हलेसी डोजोले तेस्रो स्थान प्राप्त गरेको छ ।

 

कुल १७ स्वर्ण, १८ रजत र ३६ कास्य पदकका लागि भएको प्रतियोगितामा महिला कुमितेतर्फ ३० केजी तौल समूहमा स्वेच्छा राई, ३५ केजी तौल समूहमा सुसाङ तामाङ, ४० केजीमा प्रतिमा राई, ४५ केजीमा अरुणा राई, ५५ केजीमा युमासाम राई र ६० केजी तौल समूहमा रोश्मी राईले दिक्तेललाई स्वर्ण पदक जिताए ।

 

यस्तै, पुरुष कुमितेतर्फ २० केजी तौल समूहमा अनुपम शंकर, २५ केजीमा हिमाल राई, ४० केजीमा अक्षयकुमार राई, ४५ केजीमा क्षितिज राई, ५० केजीमा सूर्यचन्द्र राई, ५५ केजीमा लेक्मुहाङ राई र ६० केजीमा प्रकाश परियारले स्वर्ण पदक जितेका छन् । 

 

जालपा डोजोका लागि कुमितेतर्फ ३५ केजी तौल समूहमा सक्षम राई, ३० केजीमा प्रवेश राई र ५० केजी तौल समूहमा डुनु राईले स्वर्ण पदक जिते । 

 

यस्तै, हलेसी डोजोका लागि २० केजी तौल समूहमा सेमिना राईले एक मात्र स्वर्ण पदक जितेको हलेसी तुवाचुङ नगरपालिकाका खेलकुद प्रशिक्षक मिलन कसजुले बताए ।

 

राष्ट्रपति रनिङ सिल्डको छनोट प्रतियोगिताकै अवसरमा जिल्लास्तरीय सितोरियो कराते आयोजना गरिएको हो । प्रतियोगिताका विजेता टिम तथा खेलाडीलाई हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राई, उपप्रमुख विमला राई, नगर खेलकुद विकास समितिका संयोजक किस्मत राईलगायतले मेडल, प्रमाण-पत्र र ट्रफी प्रदान गरे । 

 

राष्ट्रपति रनिङ सिल्डका लागि ६ जना खेलाडी छानिए 

 

राष्ट्रपति रनिङ सिल्डको प्रदेशस्तरीय प्रतियोगिताका लागि सितोरियो करातेका ६ जना खेलाडी छनोट गरिएको छ । 


राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत हलेसीमा आयोजना गरिएको जिल्लास्तरीय छनोट प्रतियोगिताबाट महिला कुमितेतर्फ ४० केजी तौल समूहमा हिलसाइड स्याम्पल एकेडेमी दिक्तेलका प्रतिमा राई, ४५ केजीमा हिलसाइडकै अरुणा राई र ५० केजी समूहमा जालपा माविका डुनु राई छनोट भए । 

 

यस्तै, पुरुष कुमितेतर्फ ४२ केजी तौल समूहमा हिलसाइड स्याम्पल एकेडेमीका अक्षयकुमार राई, ४७ केजी समूहमा दिक्तेल अंग्रेजी आवासीय माविका सूर्यचन्द्र राई र ५२ केजी समूहमा सरस्वती मावि दिक्तेलका मन्दीप अधिकारी चयन भएका छन् ।

 

छनोटमा परेका खेलाडीले केही समयपछि प्रदेशमा हुने राष्ट्रपति रनिङ सिल्डमा स्पर्धा गर्न पाउने खेलकुद संयोजक कसजुले बताए । हलेसीमा जारी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ३१ चैतसम्म सञ्चालन हुनेछ ।