close

हुम्लाका लागि ७ हजार क्विन्टल खाद्यान्न स्वीकृत

हुम्लाका लागि ७ हजार क्विन्टल खाद्यान्न स्वीकृत

Trulli
ADVERTISEMENT

हुम्ला- सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत ७ हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ ।


जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेअनुसार उक्त कोटा स्वीकृत गरेको खाद्य व्यवस्था तथा व्यपार कम्पनीका हुम्ला शाखाका नायब सुब्बा भरत अधिकारीले जानकारी दिए ।
 
अधिकारीका अनुसार आर्थिक वर्ष २०७७/७८ का लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको हुम्ला शाखाले गत २६ फागुनमा काठमाडौंस्थित बिक्री वितरण विभागमा अनुरोध गरेपछि उक्त परिमाणको चामलको कोटा स्वीकृत भएको हो ।

 

‘कम्पनीले सीमकोट केन्द्रका लागि १४ हजार क्विन्टल खाद्यान्न माग गरे पनि २६ चैतको केन्द्रको परिपत्रअनुसार जम्मा ७ हजार क्विन्टल मात्रै स्वीकृत भएको छ’, अधिकारीले भने, ‘तर, विगतका वर्षभन्दा यतिबेला पहिलो पटक धेरै खाद्यान्न स्वीकृत भएको हो ।’
 
केन्द्रले हुम्लाका लागि स्वीकृत गरेको चामलको कोटा हुम्ला शाखामा पु¥याइनेछ । स्वीकृत भएको कोटाको चामल कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ढुवानी हुनेछ ।

 

जिल्लाको मागअनुसार स्वीकृत भएको खाद्यान्न निजी विमान कम्पनी सीता एयरले ढुवानी गर्नेछ । चामल ढुवानीका लागि सीता एयरलाई जानकारीसमेत गराइसकेको र अबको केही दिनमा ढुवानी गर्ने सहमति भएको सीता एयरका सीमकोट स्टेसनका सहायक इन्चार्ज सूर्य लामाले बताए । 

 

हुम्लामा स्थानीय उत्पादनले वर्षभर खान नपुग्ने भएपछि खाद्यान्नको चामलका लागि हानथाप हुने र जहिले पनि समस्या हुने गरेको छ । खडेरीका बीच जेठमा पाक्ने गहुँ बाली पनि अपेक्षाकृत रूपमा नफल्ने भएपछि सरकारले यो समय स्वीकृत गरेको चामल वितरणमा खासै समस्या हुने छैन ।