close

शिवराजमा कुलो बनाउने रोजगारी 

शिवराजमा कुलो बनाउने रोजगारी 

Trulli
ADVERTISEMENT

कपिलवस्तु(शिवराज)- कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नम्बर ३ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शिवपुर जंगलभित्रबाट सिँचाइका लागि निकालिएको कुलो मर्मत तथा बाटो निर्माण गरिँदै छ ।


उक्त कुलोबाट १०० बिघा जमिन सिँचाइ हुने वडा सदस्य श्यामलाल चौधरीले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न परिवारका सदस्यलाई १०० दिने रोजगार दिने लक्ष्य रहेको रोजगार कार्यक्रमका संयोजक फर्शुराम घिमिरेले जनाए ।

 

शिवराज नगरपालिकाभित्र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बाटो निर्माण, सिँचाइका लागि कुलो नहर तथा पर्यटकीय पदमार्ग निर्माणलगायत आयोजना सम्पन्न गर्ने योजना रहेको घिमिरेको भनाइ छ ।

 

योजना निर्माण सम्पन्न गर्न १ करोड ४४ लाख रुपैयाँ खर्च अनुमान गरिएको र सबै कामको सम्झौतासमेत भइसकेकाले काम अगाडि बढेको प्राविधिक सहायक हिमाल पुरीले जानकारी दिए । 

 

सरकारले उपलब्ध गराएको ५१७ मा १ प्रतिशत कर कट्टा गरी ५१० रुपैयाँ ज्यालाबापत बैंकमार्फत भुक्तानी गरिने घिमिरेले बताए । शिवराज नगरपालिकाभित्र १०६८ जना रोजगारका लागि सूचीकृत भएका छन् । 

 

सूचीकृत भएकामध्ये ५३९ जना पुरुष र ५२७ जना महिला छन् । शिवराजको ११ वटा वडाका लागि योजना छनोट भई काम अगाडि बढेको र ५ वटा योजनासमेत सम्पन्न भएको घिमिरेले बताए । 

 

कार्यक्रममा शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले राज्यको योजनालाई पूर्णता दिन सबैको सहयोग आवश्यक पर्ने धारणा राखे । शिवराज नगरपालिकाले रोजगार कार्यक्रमअन्तर्गत कुलो, नहर बाटो मर्मतका काम अगाडि बढाएको उनले जानकारी दिए ।

 

छिट्टै विपन्न परिवारलाई ३६५ दिन रोजगारसँग जोडिने सम्भावना रहेकाले बेरोजगारलाई आफ्नै देशमा स्वरोजगार पाउने वातावरण बन्दै गएको अधिकारीको दाबी छ ।

 

शिवराज नगरपालिकाले अहिलेसम्म ३ हजार ६ सय १८ दिन रोजगारी दिएकामा हाल ४२० जना रोजगारीमा सहभागी रहेको अधिकारीले बताए ।