close

खोटाङमा राष्ट्रपति रनिङ सिल्ड: दौडिरहेका छात्रमाथि शिक्षकबाटै कुटपिट 

खोटाङमा राष्ट्रपति रनिङ सिल्ड: दौडिरहेका छात्रमाथि शिक्षकबाटै कुटपिट 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको साकेला गाउँपालिकामा जारी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी छात्रमाथि शिक्षकबाटै कुटपिट भएको छ ।

 

छात्रतर्फको १ हजार ५ सय मिटर दौड प्रतियोगितामा सहभागी बनेका साकेला गाउँपालिका वडा नम्बर ५ मात्तिमस्थित सरस्वती माविका छात्र दीपेन कार्कीमाथि प्रतियोगिताको सह-आयोजक रहेको वडा नम्बर २ रतन्छास्थित साकेला माविका सह-प्रधानाध्यापक प्रकाश राईलगायतबाट कुटपिट भएको हो ।

 

साकेला गाउँपालिका वडा नम्बर २ रतन्छास्थित दारुलाटार खेल मैदानमा आयोजित प्रतियोगितामा मैदानमा कुदिरहेकै अवस्थामा छात्र कार्कीमाथि सह-प्रधानाध्यपक राई, अन्य शिक्षक र स्वयंसेवकबाटै कुटपिट भएको हो ।

 

प्रतियोगितामा खेलाडीले अनुशासन उल्लंघन गरेको अवस्थामा कारबाहीको प्रक्रिया अपनाउनुको सट्टा आयोजक रहेको विद्यालयका सह-प्रधानाध्यपकबाटै दौडिइरहेको अवस्थामा छात्रमाथि कुटपिट गरिएको भन्दै दर्शकले विरोध जनाएका छन् ।

 

पत्रकारलाई स्रोतले उपलब्ध गराएको भिडियोमा समेत दौड प्रतियोगितामा कुदिरहेको अवस्थामा छात्रमाथि आक्रमण भएको देखिन्छ । 

 

दौड प्रतियोगीतामा कुदिरहेको अवस्थामा छात्रमाथि कुटपिट भएको भन्दै नेपाल विद्यार्थी संघ खोटाङका उपाध्यक्ष जीवन खत्रीले विज्ञप्ति जारी गरेर विरोध जनाएका छन् । प्रतियोगितामा सहभागी विद्यार्थीमाथि आयोजक टिमबाटै भएको कुटपिटको घटना निन्दनीय र अक्षम्य रहेको विज्ञप्तिमा उल्लेख छ । 


दौडमा सहभागी कार्कीले अर्का प्रतिस्पर्धीलाई बाटो छेकेका कारण सह-प्रधानाध्यपक राई नै आक्रमणमा उत्रेको दाबी गरिएको छ । 

 

साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्काले राष्ट्रपति रनिङ सिल्डमा भएको विवाद तथा विद्यार्थीमाथि भएको भनिएको हातपातसम्बन्धी समीक्षात्मक भेला आगामी ४ वैशाखमा बोलाइएको बताए । 


उनले राजनीतिक दृष्टिकोणबाट अभिप्रेरित भएर चलखेल नगर्न आग्रह गरे । ‘खेलकुद अनुशासन उल्लंघन गर्ने र घटनामा संलग्न व्यक्ति तथा संस्थामाथि छानबिन गरी कारबाही गर्ने बेहोरा जानकारी गराउँछु,’ गाउँपालिका अध्यक्ष खड्काले फेसबुकमा लेखेका छन्, ‘यस अवधिमा सरोकारवाला पक्ष सबैमा संयमित भई धैर्य गर्न अनुरोध गर्दछु । घटनालाई लिएर विभिन्न पक्षबाट भेगीय तथा राजनीतिक दृष्टिकोणबाट अभिप्रेरित भई गलत उद्देश्य राखेर चलखेल नगर्न अनुरोध गर्दछु ।’ 

 

ए र बी डिभिजन लिगको खेल तालिका सार्वजनिक 


खोटाङमा आगामी १० वैशाखदेखि सञ्चालन हुने जिल्ला लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक जिल्ला फुटबल संघको दिक्तेलस्थित कार्यालयमा बसेको बैठकले जिल्ला लिग फुटबल प्रतियोगीता अन्तर्गत हुने ए र बी डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

 

ए डिभिजन लिग फुटबल प्रतियोगीता ११ देखि १५ वैशाखसम्म र बी डिभिजन लिग १६ देखि १८ वैशाखसम्म सञ्चालन हुने जिल्ला फुटबल संघका सदस्य सनम राईले जानकारी दिए ।

 

यसपल्टको ए र बी डिभिजन लिग फुटबल प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४ बुइपा राजावासस्थित यलम्बर खेल मैदानमा सञ्चालन हुने जिल्ला फुटबल संघले जनाएको छ ।

 

जिल्ला लिग १० वैशाखमा उद्घाटन भए पनि प्रतियोगिता भने दोस्रो दिनदेखि मात्र सञ्चालन हुने सदस्य राईले जानकारी दिए । 

 

अखिल नेपाल फुटबल संघ (एन्फा) को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा २०७६ देखि जिल्ला लिग फुटबल हुँदै आएको छ । जिल्ला लिगका विजेता टिमले प्रदेश स्तरीय लिगमा स्पर्धा गर्न पाउने जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राईले बताए ।