close

छुवाछूतमुक्त बन्दै भकिम्ली

छुवाछूतमुक्त बन्दै भकिम्ली

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ३ भकिम्लीलाई जातीय छुवाछूतमुक्त वडा बनाउन सरोकारवाला एकमत देखिएका छन् । 

 

प्रगतिशील दलित मञ्चले वडा र नगरपालिका कार्यालयसँगको सहकार्यमा सोमबार भकिम्लीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागीले छिट्टै सहभोज कार्यक्रम आयोजना गरेर जातीय छुवाछूतमुक्त वडा घोषणा गर्ने निर्णय गरेका हुन् । 

 

वडाका जनप्रतिनिधि, राजनीतिक दल, विद्यालयका प्रधानाध्यापक, युवा क्लब, आमा समूह र टोल सुधार समितिका प्रतिनिधिबीच भकिम्लीमा जातीय छुवाछूतको अवस्था, यसको कारण र समाधानका उपाय विषयमा छलफल भएको थियो । 

 

पछिल्लो समय चेतनाको विकास र छुवाछूत गर्नेलाई कारबाही हुने कानुन बनेपछि नागरिक सचेत भएको, सार्वजनिक स्थानमा हुने जातीय भेदभाव धेरै घटेको, धार्मिक स्थलमा पनि सबै समुदायले पूजाआजा गर्न थालेकाले जातीय छुवाछूतमुक्त घोषणा गर्ने आधार बनेको प्रगतिशील दलित मञ्च भकिम्लीका अध्यक्ष महेन्द्र बोहराले बताए ।

 

मञ्चका पूर्वअध्यक्ष रामबहादुर किसानले पछिल्लो ३ वर्षयता भकिम्लीमा जातीय छुवाछूतमुक्त वडा बनाउन टोल-टोलमा पुगेर विभिन्न कार्यक्रम गरिएको जानकारी दिए । पहिलो चरणमा दलित-दलितबीच हुने जातीय विभेद हटाइएको थियो । 

 

दलित र गैरदलितबीचको विभेद हटाउन दोस्रो चरणमा टोल-टोलमा पुगेर प्रशिक्षणका साथै सन्देशमूलक पुस्तक वितरण गरिएको किसानले बताए ।

 

कार्यक्रममा सहभागी दलित समुदायका प्रतिनिधिले पछिल्लो समय सम्मानित व्यवहार हुन थालेको महससु गरेको सुनाए । गैरदलित समुदायका प्रतिनिधिले जातीय आधारमा विभेद नगर्ने र समान व्यवहार गर्ने प्रतिबद्धता जनाए ।

 

दलित प्रतिनिधिले खानपान, बोलीचाली, संस्कार र सफाइमा ध्यान दिन थालेपछि आफूहरूमाथि हुने व्यवहारमा सकारात्मक परिवर्तन आएको अनुभव सुनाए । भकिम्लीका दलित समुदायले सिनो (मरेको पशु) वहिष्कार गरेका छन् ।

 

कार्यक्रममा भकिम्लीका वडाध्यक्ष पदम पुनले समाज रुपान्तरण र विभेद अन्त्यका लागि वडामा आएको बजेट दलित समुदायको सशक्तीकरणमा विनियोजन गरिएको जानकारी दिए । 

 

‘भौतिक पूर्वाधारसँगै मानिसको चेतना स्तर र जीवनशैली सुधार्ने हाम्रो दायित्व हो’, उनले भने, ‘भकिम्लीलाई जातीय छुवाछूतमुक्त वडा घोषणा गरेर फरक किसिमको सन्देश दिन लागेका छौँ । यसलाई दिगो र निरन्तरता दिन पहल गर्छौं ।’

 

वडा सदस्यहरू गेमप्रसाद घर्ती, मनकुमारी पुन, रत्न जिसी, हरिकला विकले जातीय विभेद हटाउन भकिम्लीका दलित समुदायको अग्रसरता र अन्यको साथले अभियान प्रभावकारी बनेको बताए ।

 

कांग्रेस म्याग्दीका जिल्ला सदस्य मनकुमारी पुन, नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष खिमबहादुर पुन, नेसनल मंगोल अर्गनाइजेसनका जिल्ला कोषाध्यक्ष दीपक मंगोलले कानुनले अपराध मानेको जातीय छुवाछूत व्यावहारिक अन्त्यका लागि समाजमा चेतनाको विकास गर्नुपर्ने धारणा राखे ।

 

कार्यक्रममा जयन्ती माविका प्रअ रामबहादुर पुन, बालप्रिय सारदा आधारभूतका प्रअ जमुना रोका, मुसुङ डोले आधारभूतका रुद्रबहादुर श्रीस, आमा समूहकी पूर्णमाया जिसी, लालकुमारी घर्ती, नरमाया विकलगायतले आ-आफ्ना भनाइ राखेका थिए ।