close

लुम्बिनी प्रदेशलाई फर्केर हेर्दा 

लुम्बिनी प्रदेशलाई फर्केर हेर्दा 

Trulli
ADVERTISEMENT

रूपन्देही- गत वर्ष २०७७ सुरु हुँदा मुलुकमा लकडाउन भएको २० दिन कटिसकेको थियो । कोरोना महामारीका कारण नेपालमा ११ चैतदेखि लकडाउन सुरु भएको थियो । लकडाउनका कारण नागरिक २०७७ को पहिलो दिन घरभित्रै सीमित थिए । नयाँ वर्षोउत्सव सामाजिक सञ्जालमा मात्र सीमित भएको थियो ।

 

नेपालभरमा केहीलाई कोरोना संक्रमण पुष्टि भए पनि २०७७ सुरु हुँदा लुम्बिनी प्रदेशमा भने संक्रमण देखिइसकेको थिएन । १९ वैशाखमा रूपन्देही र बाँकेमा एकै दिन संक्रमित फेला परे । 

 

लुम्बिनी प्रदेशमा संक्रमणको सुरुआत भएको दिन १८ वैशाख नै थियो । त्यसको पर्सिपल्ट २१ वैशाखमा बाँकेमा एकै पटक १५ जनामा कोरोना संक्रमण देखियो । त्यसपछि प्रदेशका सबै जिल्लामा कोरोना संक्रमण फैलियो । प्रदेशमा दिनमा सयौँ संक्रमित थपिँदै गए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवललगायत ठाउँमा कोरोना अस्थायी अस्पताल बनाइयो । 

 

४ जेठमा लुम्बिनी प्रदशमै पहिलो संक्रमितको मृत्यु भएको थियो । बाँकेको नरैनापुर क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । त्यसपछि तारन्तारजसो मृत्युका खबर सार्वजनिक भइरहे । असारमा लकडाउन केही खुकुलो भएको थियो । त्यतिबेलासम्म बाहिरबाट आएका मानिसमा मात्र कोरोना संक्रमण देखिएको थियो । संक्रमण दरमा पनि कमी आएको थियो ।

 

साउन अन्तिम साता कोरोना संक्रमण समुदाय तहमै देखियो । जताततै फैलियो । दिनप्रतिदिन संक्रमित थपिँदै गए । असोज र कात्तिकमा संक्रमण दर ह्वात्तै बढ्यो । कात्तिक पहिलो साता मात्र लुम्बिनी प्रदेशमा सक्रिय संक्रमितको संख्या झन्डै ५ हजार थियो । यतिबेला दैनिक ४ सय हाराहारी संक्रमित थपिने गरेका थिए । 

 

लकडाउनले व्यापार, व्यवसाय ठप्प भएपछि सबै क्षेत्र प्रभावित बन्यो । संक्रमण बढे पनि कात्तिकबाट लकडाउन खुकुलो भयो । लकडाउनसँग जुधेरै अघि बढ्ने भनेर व्यापार व्यवसायहरू सञ्चालनमा आए । पहिले संक्रमितको सम्पर्कमा आएका सबैजसोको पिसिआर परीक्षण हुने गरे पनि पछि लक्षण देखिएकामा मात्र पिसिआर परीक्षण गर्न थालियो । त्यसले दैनिक रूपमा कोरोना संक्रमण पुष्टि हुने दरमा कमी आयो ।

 

मंसिरपछि जनजिवन सामान्य हुन थाल्यो । सार्वजनिक यातायातहरू चल्न थाले । विद्यालयहरू पनि सुरु भए । भेला, गोष्ठी सभाहरू हुन थाले । कोरोना संक्रमणबाट हुने मृत्यु दरमा पनि कमी आएको थियो ।

 

तर, २०७७ सकिँदै गर्दा कोरोना संक्रमणले फेरि देश हल्लाएको छ । पुनः संक्रमण दर बढेको छ । मृत्युका घटना पनि पहिलेजस्तै बाहिर आइरहेका छन् । सोमबार मात्र लुम्बिनी प्रदेशमा ९७ जना संक्रमित थपिएका छन् । ३ जनाको एउटै अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमणको त्रास पुनः बढेको छ ।

 

हालसम्म प्रदेशमा कोरोना संक्रमणबाट २८ हजार बढी संक्रमित भएका छन् । सोमबार बेलुकासम्म ४ सय २० जनाको मृत्यु भएको छ । अहिले ४ सय ५० जना आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ । अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्र पनि २०७७ मा कष्टकरै रह्यो ।


पायो प्रदेशले नाम र राजधानी 


प्रदेश सरकार स्थापना भएको साढे २ वर्ष हुँदा पनि नाम र राजधानी टुंगो लगाउन नसकेको भन्दै सरकारको आलोचना भइरहेको थियो । १६ असोजमा एकाएक प्रदेशसभामा राजधानी र नामकरणको प्रस्ताव पेस भयो । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी राख्ने र दाङको देउखुरीलाई प्रदेश राजधानी बनाउने प्रस्ताव प्रस्तुत गरेका थिए ।


नाममा मनभेद नभए पनि राजधानीको विषयलाई लिएर आन्दोलन भयो । सडक र सदन दुवै ताते । यहाँका व्यावसायिक संघ-संस्था, विपक्षी कांग्रेसले बुटवलबाट राजधानी सार्न नहुने भन्दै आन्दोलन गर्‍यो । 


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले संस्थागत रूपमा विरोध नगरे पनि पार्टी निकट जनप्रतिनिधि र व्यवसायी आन्दोलनमा उत्रिए । दाङलाई राजधानी बनाउने प्रस्ताव पारित हुने भएपछि नेकपा निकट ठूलो संख्याका व्यवसायीले पार्टी त्यागेको घोषणा गरेका थिए । तर, पछि उनीहरू पार्टीमै आबद्ध भए । 

 

राजधानी सार्ने प्रस्तावको विरोधमा सदनमा पनि तनाव भयो । कांग्रेसका ३ सांसदले कुर्सी नै तोडफोड गरे । आन्दोलनकै क्रममा मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमा बुटवलको राजमार्ग चौराहमा ढुंगा प्रहार भयो । २० असोजमा प्रदेशको नाम लुम्बिनी राख्ने र राप्ती उपत्यका देउखुरीलाई राजधानी बनाउने प्रस्तावल प्रदेशसभाबाट पारित भयो । 

 

केन्द्रको राजनीतिको असर प्रदेशमा 


५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि मुलुकमा त्यसको पक्ष र विपक्षमा राजनीतिक कित्ताकाट भयो । सत्तारुढ नेकपामा प्रचण्ड र माधव नेपाल पक्ष विघटनको विरुद्धमा सडकमै आयो । कांग्रेसलगायतका अन्य विपक्षी दलले पनि विरोध गरे । विघटनको पक्षमा केपी ओली पक्षले पनि सडक प्रदर्शन ग¥यो । बुटवलमा पनि दुवै पक्षका शक्ति प्रदर्शन भए ।

 

१५ माघमा प्रतिनिधिसभा विघटनविरुद्धको सभामा अस्पताल लाइनमा माधव नेपाल र पुष्पकमल दाहालले जनप्रदर्शनसहित सम्बोधन गरे । प्रदेशका अरू जिल्लामा पनि प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा प्रदर्शन भए । 

 

त्यस्तै, १ फागुनमा ओली पक्षले पनि बुटवलमा शक्ति प्रदर्शन ग¥यो । सिद्धेश्वर मैदानमा आयोजित सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । १३ फागुनमा सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनः ब्युँताइदियो ।

 

विपद्ले आपद् 


लुम्बिनी प्रदशमा यस वर्ष पनि विभिन्न विपद्का घटना सार्वजनिक भए । १५ साउन राती पहिरोले पुर्दा गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ५ आँपटारीमा एकै परिवारका ४ जनाको मृत्यु भएको थियो । गुल्मीकै इस्मामा पहिरोमा २ जनाको ज्यान गएको थियो । 

 

पाल्पाको तानसेन-हार्थोक सडकमा पहिरोले गाडी बगाउँदा ३ जनाको मृत्यु भएको थियो । साउन, भदौ, असोजमा बाढीपहिरोले प्रदेशका ठाउँ-ठाउँमा क्षतिका खबर आएका थिए । सिद्धार्थ राजमार्गको सिद्धबाबा, दोभान, झुम्सा, गौडेपुललगायतका ठाउँमा पहिरो जाँदा पटक-पटक सडक अवरुद्ध भए । विभिन्न ठाउँमा गएको पहिरोले थुप्रै घरपरिवार विस्थापित भए । 

 

आपराधिक घटना उस्तै 


रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छीबजार नजिकै मैनहवामा २६ जेठ राती एकै ठाउँमा ५ जनाको हत्या भयो । स्थानीय कृष्ण पुनको गंगादेवी पशु गाई फार्ममा काम गर्ने कामदारको हत्या भएको थियो । हत्याको आरोपमा सुर्खेतका झसेन्द्र सिञ्जाली पक्राउ परेका थिए ।

 

रूपन्देहीकै देवदह नगरपालिकामा अंगिरा पासीको बलात्कारपछिको हत्याकाण्डले पनि राष्ट्रिय रूपमा ध्यान खिच्यो । ९ जेठमा जबर्जस्ती करणी भएको अवस्थामा स्थानीयले फेला पारेका थिए । आफूलाई जबर्जस्ती गरेको केटालाई उनको जिम्मा लगाइएको थियो ।

 

केटाको परिवारले अछूत जातीलाई बिहे गरेको भनेर उनलाई स्वीकारेको थिएन । पछि रोहिणी नदीको किनारमा अंगिराको शव झुन्डिएको अवस्थामा फेला परेको थियो । अंगिराको परिवारले हत्या गरिएको भन्दै किटानी जाहेरी दिएको थियो । यस्तै विभिन्न जिल्लामा हत्याका घटना भए । 

 

पर्यटनमा पलाएको आशा पुनः निराशा 


लामो लकडाउनले लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरू पनि सुनसान भए । कात्तिकपछि लकडाउन खुकुलो भएपछि बुद्धस्थल लुम्बिनीलगायतका पर्यटकीय स्थलमा चहलपहल बढ्न थाल्यो । तर, व्यवसायीलाई राहत पुग्ने गरी बास बस्ने पर्यटक भने आएनन् । भारतीय र आन्तरिक पर्यटक आए पनि लुम्बिनी बास बस्ने गरी आएनन् ।


यस्तै, पाल्पाको रानीमहल, प्युठानको स्वर्गद्वारीलगायत स्थानमा लकडाउन खुकुलो भएपछि चहलपहल बढेको थियो । केही पर्यटकीय पूर्वाधारका काम पनि सुरु भएका छन् । बुटवलमा पर्यटकलाई आकर्षण गर्न नुवाकोट र वसन्तपुरसम्म जाने छुट्टाछुट्टै केबल कार निर्माण सुरु भएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्षबाट सञ्चालन हुने भनिए पनि कोरोनाका कारण चीनबाट प्राविधिक जनशक्ति नआउँदा ढिलाइ भएको छ ।