close

पदमार्ग अवलोकन गर्न साकेलामा स्वीस राजदूत

पदमार्ग अवलोकन गर्न साकेलामा स्वीस राजदूत

Trulli
ADVERTISEMENT

खोटाङ– मुन्दुम ट्रेल (पदमार्ग) अवलोकनका क्रममा स्वीस राजदूत एलिजावेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका आइपुगेकी छन् ।

 

पूर्वका खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीय स्थलको पर्यटन प्रवद्र्धनका लागि परिकल्पना गरिएको मुन्दुम ट्रेल अवलोकनका लागि स्वीस राजदूत एलिजावेथ मंगलबार साकेला पुगेकी हुन् ।

 

साकेला गाउँपालिका वडा नम्बर ३ खिदिमास्थित तावाभञ्ज्याङलाई मुन्दुम ट्रेलको स्टार्टिङ प्वाइन्ट मानिएकाले राजदूत एलिजावेथ खोटाङ आइपुगेकी हुन् । 

 

स्वीस राजदूत एलिजावेथलाई साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्का, उपाध्यक्ष सरिता खड्कालगायतले स्वागत गरे । भेटमा राजदूत एलिजावेथसँग गाउँपालिकाको समग्र विकास प्रक्रियाबारे छलफल भएको अध्यक्ष खड्काले बताए ।

 

स्वीस राजदूत एलिजावेथको टोली मंगलबार मुन्धुम पदमार्गको प्रवेशद्वार मानिएको तावाभञ्ज्याङबाट टेम्के हुँदै चखेवाभञ्ज्याङ पुगेको छ । ‘स्वीस राजदूतसँग समग्र विकास प्रक्रियाको अवस्थामाथि छलफल भयो ।

 

विशेषगरी पर्यटन प्रवद्र्धनका विषयमा छलफल गरियो,’ गाउँपालिका अध्यक्ष खड्काले भने, ‘पदमार्गको प्रवेशद्वार तावाभञ्ज्याङबाट हिँडेको राजदूतसहितको टोली टेम्के हुँदै चखेवाभन्ज्याङ बास बस्यो । यो यात्रा क्रमशः त्योभन्दा माथि अघि बढ्नेछ ।’ 

 

खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीय स्थल चखेवाभञ्ज्याङ, मैयुङडाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पापोखरी, सिलिचुङडाँडालगायतको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २०७५ मा मुन्धुम ट्रेलको अवधारणा अघि सारिएको हो । 

 

आन्तरिक तथा बाह्य पर्यटकलाई तावाभञ्ज्याङबाट भोजपुरको टेम्केमैयुँ गाउँपालिका, खोटाङको केपिलासगढी गाउँपालिका, भोजपुरको साल्पा सिलिछो गाउँपालिका, साल्पापोखरी हुँदै साल्पा सिलिछो पिक पु¥याउने र ताराखसे पोखरीबाट भोजपुरको षडानन्द नगरपालिका, भोजपुर नगरपालिका हुँदै मध्यपहाडी लोकमार्गको साम्पाङ चोकमा झार्ने लक्ष्यका साथ मुन्दुम पदमार्गको परिकल्पना गरिएको हो । 

 

मुन्दुम पदमार्गको तावाभञ्ज्याङ–चखेवाभञ्ज्याङ खण्डमा पदमार्गको नयाँ ट्रयाक खोल्ने, पदमार्ग चौडा गर्ने, सुक्खा ढुंगाको सिँढी निर्माण गर्ने, सोलिङ गर्ने, जालीको सिँढी निर्माण गर्ने, पदयात्री विश्राम गर्ने चौतारो निर्माण गर्ने, जानकारीमूलक सूचनापाटी राख्नेलगायत काम भइरहेको साकेला गाउँपालिकाले जनाएको छ । 

 

पर्यटन प्रवद्र्धनका लागि खोटाङ र भोजपुरको सिमानामा पर्ने तावाभञ्ज्याङबाट मैयुडाँडा, बगरेभञ्ज्याङ, जुगेडाँडा, लौरेडाँडा हुँदै साल्पापोखरी पुग्ने ६० किलोमिटर दूरीको मुन्दुम पदमार्गअन्तर्गत साकेलाभित्र पर्ने खण्डमा स्थानीय सरकारको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्वीस सरकार विकास सहयोग नियोगको ३५ प्रतिशत गरी ९१ लाख ४५ हजार २५२ रुपैयाँमा मुन्दुम पदमार्गको काम सुरु गरिएको साकेला गाउँपालिका अध्यक्ष खड्काले जानकारी दिए ।