close

कोरोना त्रास: भेरी अस्पतालमा थामिनसक्नुको भीड

कोरोना त्रास: भेरी अस्पतालमा थामिनसक्नुको भीड

Trulli
ADVERTISEMENT

नेपालगञ्ज- पछिल्लो सातायता कोरोना संक्रमण तीव्र गतिमा वृद्धि हुँदा नेपालगञ्जको भेरी अस्पतालमा नयाँ बिरामी भर्ना गर्नै नसक्ने अवस्थामा पुगेको छ । 

 

अस्पतालमा कोभिड-१९ का गम्भीर प्रकृतिका बिरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई उपचारका लागि आइसोलेसनमा राख्न नसक्ने भएको हो ।

 

भेरी अस्पताल व्यवस्थापन समितिले आयोजना गरेको सर्वपक्षीय छलफलमा सो जानकारी गराउँदै गत आइतबारदेखि एक्कासि लक्षणसहितका कोभिड-१९ का बिरामीको चाप बढेपछि अस्पतालमा रहेको जनशक्ति तथा अक्सिजन सुविधासहितको बेड अभावमा थप बिरामी भर्ना गर्न असमर्थ हुनुपरेको जनाएको हो ।

 

बैठकमा अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पतालमा बुधबारसम्म ८० जना बिरामी भर्ना भएको र तीमध्ये ८० प्रतिशत गम्भीर प्रकृतिको भएको बताए ।

 

उनले भने, ‘पछिल्लो अवस्था भयावह हुँदै छ । संक्रमितको संख्या दिनहुँ थपिँदै गएको छ । पहिलाजस्तो अवस्था छैन । सबै बिरामीलाई लक्षणसहितका भएकाले अक्सिजनसहितको बेडमा राख्नुपर्ने बाध्यता आइपरेको छ ।’ 

 

उनले अस्पतालमा उपचारका लागि आउने कोरोना संक्रमितलाई भर्ना लिन नसक्दा स्वास्थ्यकर्मी नै सुरक्षित हुन नसक्ने अवस्था आइसकेको गुनासो गरे ।

 

भेरी अस्पतालमा कोभिड संक्रमितको उपचारका लागि भर्ना भएका बिरामीलाई दैनिक करिब २ लाखको अक्सिजन मात्र आवश्यक पर्ने तर विस्तारै अभाव हुने अवस्था आइसकेकाले सर्वपक्षीय बैठक आयोजना गरिएको उनले स्पष्ट पारे ।

 

भेरी अस्पतालमा कोभिड-१९ का बिरामीको लागि लक्षित गरी निर्माण गरिएका १ सय ७ बेड छन् । १६ वटा भेन्टिलेटरमध्ये बुधबारसम्म ६ वटा भेन्टिलेटरमा बिरामी भए पनि जनशक्ति अभावका कारण सबै बेड र भेन्टिलेटर सञ्चालनमा ल्याउन कठिन भएको अध्यक्ष धितालले सुनाए ।

 

भेरी अस्पतालका निमित्त मेसु डा. खगेन्द्रजंग शाहीले अस्पतालमा बढ्दो कोरोना संक्रमितको चाप र आवश्यकताअनुसारको जनशक्ति नभएका कारण सेवा प्रवाहमा विभिन्न खाले अवरोध आउने गरेको बताए । उनले भने, ‘यथास्थितिमा अब थप कोभिड-१९ संक्रमित केस अस्पतालले भर्ना लिन सक्ने अवस्था छैन ।’

 

अस्पतालका नर्सिङ अधिकृत शिला शर्माले कोरोना वाडमा खटिने नर्सिङ स्टाफको कमीका कारण सेवा प्रवाहमा अवरोध हुनुका साथै बिरामीका आफन्तको भीड र तिनको व्यवहारले सुरक्षित काम गर्न कठिन भएको जानकारी दिइन् ।

 

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पछिल्लो समय कोभिड-१९ संक्रमितको संख्यमा वृद्धि भएको कारण संक्रमणलाई जनस्तरमा फैलिन नदिन विभिन्न प्रयास जारी राखिने बताए । उनले सीमा क्षेत्रमा कडाइ गर्नुो साथै भीडभाड नियन्त्रणका लागि पहल गरिने जानकारी दिँदै अस्पतालमा संक्रमितको उपचारका लागि बेड बढाउन पहल गरिने जानकारी दिए ।

 

नेपालगन्ज उपमहानगरकी उपप्रमुख उमा थापा मगरले उपमहानगरले संक्रमितको उपचारका लागि सहयोग गर्नुका साथै आइसोलेसन सञ्चालनका लागि पहल गरेको सुनाइन् ।

 

सीमा क्षेमा स्वास्थ्य हेल्थ डेस्क स्थापनाका साथै कन्ट्याक्ट ट्रेसिङलाई बढाएर लैजानुपर्ने सुझाव उनले दिइन् ।

 

बाँकेमा गत आइतबारयता भएको कोरोना परीक्षणको नतिजाअनुसार दिनहुँ संक्रमितको संख्यामा वृद्धि हुनुो साथै ३१ चैतमा १ सय १३ जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको छ ।

 

बुधबार १ सय २३ जनाको नमुना परीक्षण गर्दा थप ७५ जनामा कोरोना भाइरस पुष्टि भएको अस्पतालले जनाएको छ ।

 

सीमा नाकामा कडाइ

 

भारतमा दोस्रो चरणको कोरोना संक्रमण बढेसँगै नेपाल-भारत सीमाको जमुनाह नाकामा शुक्रबारबाट आवगमनमा चेकजाँच गर्नुका साथै कडाइ थालिएको छ ।

 

भारतमा कोरोना बढेपछि नेपालमा पनि फैलिन सक्ने आशंकामा सीमा नाकामा हुने अनावश्यक आवागमनलाई बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवाङले जानकारी दिए । सामान्य किनमेलका लागि भारत जान बन्द गरिने उनको भनाइ छ ।

 

गृह र स्वास्थ्य मन्त्रालयबाट पत्र आएलगत्तै नेपाल-भारत सीमामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण सुरु गर्नुका साथै अनावश्यक आवागमनलाई बन्द गरिएको बताए ।

 

शुक्रबारदेखि उपचार वा अति आवश्यक कामबाहेक सीमापारि सामान किनमेल र अन्य सामान्य कामले आउजाउ गर्नेलाई रोकिएको छ । यद्यपि सीमापारिबाट नेपाल आउनेको संख्या ठूलो छ ।

 

भारतबाट आउनेलाई लक्षित गरी जमुनाह नाकामा हेल्थ डेस्क राखेर शंका लागेकाहरूको ‘एन्टिजिन’ परीक्षण सुरु गरिएको छ ।


शुक्रबार भारतको गुजरातबाट फर्किएका रोल्पा लिवाङका एक युवकमा ‘एन्टिजिन’ परीक्षणको माध्यमबाट कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

 

कोरोना संक्रमण फैलिएका ठाउँबाट फर्किएका नेपालीको एन्टिजन परीक्षण गर्ने क्रममा ती युवकमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बताए । 

 

उनले ती युवकलाई लक्षण नभएको कारण एम्बुलेन्समा राखेर रोल्पा पठाइएको उनले जानकारी दिए ।

 

संक्रमण फैलन सक्ने आशंकामा सीमा क्षेत्रमा नेपालगन्ज उपमहानगरको पहलमा हेल्थ डेस्क राखेर शंकास्पद व्यक्तिलाई जाँच गरी पठाउने गरिएको नेपालगन्ज उपमहानगरले जानकारी दिएको छ ।