close

सडक नाटकमार्फत करदाता शिक्षा पढाउँदै काठमाडौं महानगर

सडक नाटकमार्फत करदाता शिक्षा पढाउँदै काठमाडौं महानगर

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले करदाता शिक्षा पढाउन ‘सडक नाटक’ सुरु गरेको छ । सुर्पेटो मिडियासँगको सहकार्यमा आनासुकी घरबेटी बा शीर्षकमा सडक नाटक प्रदर्शन थालिएको हो ।

 

राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार करदातालाई कर तिर्न बाध्य भएको महसुस नहोस् र नागरिक दायित्व हो भनेर सचेत गराउन पहिलो चरणमा महानगरका १० स्थान सडक प्रदर्शन हुँदै छ ।

 

पहिलो चरणमा शुक्रबार हनुमानढोका कालभैरव पछाडिको डबलीमा नाटक मञ्चन गरियो । कालीमाटी, कलंकी, चावहिल, गौशाला, नयाँ बानेश्वरलगायत विभिन्न १० स्थानमा नाटक प्रदर्शन हुनेछ ।

 

कृष्णजीत राईले लेखेको नाटक रीता थापाले निर्देशन गरेकी हुन् । नाटकमा सुरज विष्ट (लोभी घरबेटी बा), जीवन थापा (असल छिमेकी), मञ्जु गिरी (वडा कार्यालयकी कर्मचारी), कञ्चन सापकोटा (भाडावाल) ले अभिनय गरेका छन् । 


कोभिड-१९ का कारण चालू आर्थिक वर्षमा राजस्व संकलनको प्रक्षेपण नै कम गरिएको छ । विभागका प्रमुख डा. अधिकारीका अनुसार महामारीका समय दबाब दिएरभन्दा दायित्व बोध गराएर राजस्व असुली गर्ने योजनाअनुरूप सडक नाटक प्रदर्शन थालिएको हो । 

 

विभागले व्यवसाय कर अनुगमन कार्यलाई नियमित गरिरहेको छ । यस क्रममा कर तिर्नेलाई धन्यवाद पत्र र नतिर्नेलाई विभागमा हाजिर हुने पत्र दिने गरिएको छ । 

 

नाटक करिब २० मिनेटको छ । घरधनीलाई बहाल नतिरी भाग्ने भाडावाललाई खोजेर भाडा असुल्न हिँडेको घरधनीले महानगरलाई कर नतिरेका कारण आफैँ कानुनको परिबन्दमा परेको कथा नाटकमा देखाइएको छ । 

 

कर केही समय छल्न सकिन्छ । तर, कुनै न कुनै दिन कानुनको फन्दामा परिन्छ । कानुनी कारबाहीमा पर्ने त्यो समय आउनुअघि थोरै थोरै कर तिर्दै गए सम्मानजनक जीवन बाँच्न सकिने नाटकले देखाउन खोजेको सन्देश हो । 

 

महानगरले यो वर्ष व्यवसाय करमा २० प्रतिशत र होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्बन्धित क्षेत्रलाई ५० प्रतिशत छुट दिएको छ । ‘होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्बन्धित क्षेत्रलाई हामीले असारसम्म नै छुट दिएका छौँ,’ डा. अधिकारीले भने, ‘हामीले चैत मसान्तसम्मका लागि सम्पत्ति करमा १० प्रतिशत छुट दिएका थियौँ । होटललाई असारसम्मै सम्पत्ति करमा ७५ प्रतिशत छुट दिएका छौँ ।’ 

 

भाडावाललाई कोभिड–१९ को समय १ महिनाको वहाल छुट दिने घरधनीलाई महानगरले बहाल करमा छुट दिएको हो ।