close

खानेपानी अभावले गिजोलिँदै उदयपुरगढी 

खानेपानी अभावले गिजोलिँदै उदयपुरगढी 

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढीमा वर्षौंदेखि खानेपानीको समस्या अहिलेसम्म सल्टिन सकेको छैन ।


खानेपानी अभावकै कारण २०२८ मा सदरमुकामलाई गढीबाट गाईघाट सारिएको थियो । ‘गढीलाई पानीको दुःखले कहिल्यै छाडेन,’ स्थानीय केशव पाण्डेले भने, ‘पानीकै कारण सदरमुकामसमेत सारियो । सदरमुकाम सरे पनि स्थानीय आफ्नो थातथलोको मायाले सर्न सकेनन । बरु पानीको सास्ती खेपेरै बसिरहेका छन् ।’

 

उदयपुरगढीमा बस्ने बडाहाकिमले पनि पानीको दुःख भोगेका थिए । सरकारी अड्डाका कर्मचारीले नै पानी किनेर खाने गरेको बूढापाका बताउँछन् । ‘एक गाग्रो पानीका लागि दिन बित्थ्यो । त्यसबेला ५ पैसा प्रतिटिन बेचेको पानी १ रुपैयाँ पुग्दासम्म बेचिने गरेको थियो । पछि अड्डा सरेसँगै पानी बेच्ने काम पनि रोकियो’, उनीहरू भन्छन् ।

 

उच्च भागमा रहेको गढी प्राकृतिक सौन्दर्यका हिसाबले रमणीय छ । यहाँबाट विभिन्न हिमशृंखला आँखै अगाडि देख्न सकिन्छ । तराई फाँटसमेत देख्न सकिने उदयपुरगढी समुद्री सतहदेखि १३ सय ९० मिटर उचाइमा छ । सदरमुकाम सरेपछि भने यस क्षेत्र उपेक्षित बन्दै आएको छ ।

 

गढी क्षेत्र करिब पौने २ मिटर उचाइको पर्खालले घेरिएको छ । उत्तर–दक्षिण लमतन्न फैलिएको यस क्षेत्रभित्र कलात्मक रूपमा कुँदिएका मूर्ति र वास्तुकला देख्न सकिन्छ । नजिकै रहेको पञ्चावती भगवती मन्दिर, गणेश मूर्ति, सयौँ वर्ष अगाडिको वरगाछी यहाँको पर्यटकीय आकर्षणमा पर्छन् ।

 

‘घरनजिकै धारा छ तर पानी नै नआउने धारा मात्र भएर के गर्नू ? पानी लिन ३ घन्टा हिँड्नुपर्छ । जोगीमारा र सरस्वती खोलाको पानी खानुपर्छ । त्यहाँ पुगेर पानी ल्याउँदै आधा दिन बित्छ,’ स्थानीय वेदना फुकाउँछन् ।

 

उदयपुरगढीमा अहिले पनि पानीको समस्या ज्यूँका त्यूँ छ । बाहिरबाट घुम्न आएका सर्वसाधारणले मन फुकाएर पानी खर्चिन सक्दैनन् । उदयपुरगढीमा दिगो खानेपानी व्यवस्था गर्न सर्भेक्षण भने भइरहेको छ । दीर्घकालीन स्रोत फेला पर्नेबित्तिकै सरकारी तथा गैरसरकारी दातृ संस्थासँग समन्वय गरेर योजना अघि बढाउने लक्ष्य रहेको उदयपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले बताए ।