close

मेरिङ्देन गाउँपालिकाले बनायो घरवहाल कर व्यवस्थापन कानुन

मेरिङ्देन गाउँपालिकाले बनायो घरवहाल कर व्यवस्थापन कानुन

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - घरवहाल करदाताको पहिचान, मूल्याङ्कन, निर्धारण र कर असुलीलाई सरल,पारदर्शी र व्यवस्थित बनाउन ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले घरवहाल कर व्यवस्थापन कार्यविधि कार्यान्वयनमा ल्याएको छ ।

 

गाउँपालिकाको आन्तरिक स्रोत व्यवस्थापनमा समेत सघाउ पुग्ने भएकोले २ साउन, २०७७ को कार्यपालिकाबाट स्वीकृत भएको कार्यविधि कार्यान्वयनमा आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिए । 

 

गाउँपालिकाले अब पालिका क्षेत्र भित्र आफ्नो स्वामित्वमा रहेको घर वा जग्गा पूरै वा आशिंक तवरले अरुलाई भोग चलन गर्न दिए बापत भाडा, वहाल, लिज वा पट्टा रकम प्राप्त गर्ने व्यक्ति वा निजका प्रतिनिधिबाट घरवहाल असुल गर्नेछ । 

 

गाउँपालिकाले मुनाफाको उद्देश्य नराखी सञ्चालन हुने बिद्यालय, मन्दिर, पुस्तकालय, क्लव, सामुदायिक संस्था, सरकारी निकायलगायतले आफ्नो स्वामित्वको घर वा जग्गा भाडामा दिएको अवस्थामा भने वहाल कर तिरिरहनु पर्दैन । 

 

तर, स्वामित्व कायम नभएको ऐलानी वा पर्ती वा सार्वजनिक जग्गामा बसोबास गर्ने व्यक्तिले आफ्नो घर जग्गा अन्य व्यक्ति वा संस्थालाई वहालमा दिएको वा कुनै जग्गा लिजमा लिइ घर भाडामा लगाएको व्यक्ति समेत यो कार्यविधिले घरवहाल करदाताको रुपमा रहने छ । 

 

कार्यविधि अनुसार करदाता पहिचान गर्दा करदाताले पेश गरेको विवरण, स्थलगत सर्वेक्षण वा अन्य स्रोतबाट प्राप्त सूचनालाई उपयोग गर्ने गाउँ कार्यपालिकाले योजना बनाएको छ ।

 

कार्यविधि अनुसार कुनै व्यक्तिले कर घर जग्गा वहाल लगाउँदा वहाल लिने दिने घर जग्गाको बिवरण सहित वहालको मासिक वा बार्षिक दर खुलाइ कर तिर्ने दायित्व प्रष्ट किटान गरी वहाल सम्झौता गर्नुपर्ने हुन्छ । 

 

सम्झौता पत्र र त्यस्तो सम्झौताको नविकरण वा वहाल रकम लगायतका सम्झौताका प्रावधानहरुमा गरिएको कुनैपनि परिवर्तन वा पुरक सम्झौता वा म्याद समाप्त नभइ बीचमै सम्झौता रद्द भएको अवस्थामा समेत सोको जानकारी ३५ दिन भित्र करदाताले गाउँ कार्यपालिकामा गराउनु पर्ने हुन्छ । 

 

सम्झौता नभएको कारण वा सम्झौतामा खुलाउनु पर्ने सबै बिवरण नखुलाइ सम्झौता गरिएको कारणबाट पनि करदाताले करको दरबाट उन्मुक्ति नपाउने व्यवस्था ऐनले गरेको छ ।

 

घरजग्गा वहालमा दिने व्यक्तिले वहलामा दिएको ३५ दिन भित्र वहाल रकम र वहाल अवधि स्पष्ट खुलेको सम्झौतापत्रको प्रतिलिपि,धनीपूर्जाको प्रतिलिपि र वहालमा बस्नेको आधिकारिक बिवरण सहितको कागजात गाउँ कार्यपालिकामा पेश गर्नुपर्ने हुन्छ ।

 

कार्यविधि लागु हुनुपूर्व घरजग्गा वहालमा दिएका करदातालाई गाउँपालिकाले ६० दिन कार्यविधि बमोजिको बिवरण पेश गर्न समयावधि दिने छ । कार्यविधि अनुसार कर बुझाउनुपर्ने दायित्व बोकेको व्यक्तिले बिवरण दाखिला नगरेमा वा बिवरण दाखिला गर्दा व्यहोरा फरक पारेर दाखिला गरेको भनी शंका गर्न सकिने आधार र कारण भएमा कर अधिकृतले आधार र कारण खोली ३० दिन भित्र बिवरण दाखिला गर्न आदेश दिन सक्ने छ ।

 

वहाल करको दर निर्धारण गर्दा गाउँपालिकाको आर्थिक ऐनमा तोकिए अनुसार हुने कार्यविधिले व्यवस्था गरेको छ । त्यसका लागि करदाताले पेश गरेको बिवरण र वहाल सम्झौतामा उल्लेखित रकमलाई आधार मानी करको दर निर्धारण गरिने भएको छ । तर, करदाताले पेश गरेको विवरणमा उल्लेखित वहाल रकम गाउँपालिकाले तोकेको न्यूनतम् दर भन्दा कम भएको खण्डमा चाँहि गाउँपालिकाले तोकेको न्यूनतम् दरका आधारमा घरवहाल कर निर्धारण गरिन्छ ।