close

पिलुचौरमा सामुदायिक अस्पताल

पिलुचौरमा सामुदायिक अस्पताल

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर १ पिलुचौरमा बाजुरा सामुदायिक हस्पिटल एन्ड रिसर्च सेन्टरले सेवा दिन सुरु गरेको छ ।

 

नयाँ वर्ष २०७८ अवसर पारेर २ वैशाखबाट बाजुरा सामुदायिक हस्पिटल एन्ड रिसर्च सेन्टरले सेवा दिन सुरु गरेको हो ।


 
सुदूरपश्चिम प्रदेश सरकार र सामुदायिक हस्पिटल सञ्चालक समितिको आर्थिक सहयोगमा सञ्चालनमा आएको हस्पिटलले बाजुरालगायत छिमेकी जिल्ला हुम्ला, मुगु र कालीकोटका जनतालाई सेवा दिनेछ ।

 

प्रदेश सरकारको ५० लाख रुपैयाँ बराबरको आर्थिक सहयोगमा सामुदायिक हस्पिटल सञ्चालनमा ल्याइएको हस्पिटलका प्रबन्ध निर्देशक भाष्कर शाहीले जानकारी दिए ।


 
नयाँ वर्ष अवसर पारेर सेवा सञ्चालनमा ल्याएको हस्पिटलले पहिलो दिनमै २० जना बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको उनले बताए ।

 

‘आर्थिक अभावमा उपचार नपाएका निम्न वर्गका नागरीकलाई सस्तो र गुणस्तरीय सेवा दिने उद्देश्यसहित हस्पिटल सञ्चालनमा ल्याएका हौँ’, शाहीले भने ।

 

पहिलो पटक ठूलो लगानी र सबै सेवा दिने तयारीका साथ हस्पिटल सञ्चालनमा आउँदा बाजुरालगायत कर्णाली प्रदेशबासीलाई स्वास्थ्योपचारमा सहज हुनेछ । नागरिकलाई महँगो भाडा तिरेर सुविधासम्पन्न ठाउँमा पैसा खर्चिनुपर्ने बाध्यता हटेको छ ।


 
हस्पिटलबाट ओपिडी, आइपिडी, एक्सरे, ल्याब, परिवार नियोजनसम्बन्धी विभिन्न किसिमका सेवा दिइनेछ । बिरामी ओसारपसारका लागि एम्बुलेसको पनि व्यवस्था भएको सञ्चालक धर्मबहादुर शाहीले जानकारी दिए ।

 

दुर्गम ठाउँमा पहिलो पटक हस्पिटल सञ्चालनमा आउँदा स्थानीय खुसी छन् । यसअघि गाउँघरका स्वास्थ्य केन्द्रबाट उपचार लिँदै आएका स्थानीयले जटिल खाले उपचारका लागि नेपालगञ्ज, काठमाडौं, धनगढीलगायत ठाउँ धाउनुपर्ने अवस्था थियो ।


स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाही, जगन्नाथ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष कर्णबहादुर विष्ट, सामुदायिक हस्पिटलका अध्यक्ष धर्मबहादुर शाही, डा. नरेश उपाध्यायलगायतको उपस्थितिमा हस्पिटल उद्घाटन गरिएको हो ।