close

२५० मिटर जमिन छेडेपछि सुकाजोरमा छ्यालब्याल पानी 

२५० मिटर जमिन छेडेपछि सुकाजोरमा छ्यालब्याल पानी 

Trulli
ADVERTISEMENT

रामेछाप- रामेछाप नगरपालिका वडा नम्बर ७ तत्कालीन सुकाजोर गाविस सुक्खाग्रस्त ठाउँ हो । त्यसमाथि पनि २०७२ को विनासकारी भूकम्पले केही मात्रमा भएका पानीका स्रोत सुकेपछि स्थानीयलाई खानेपानीको समस्याले थप चिन्तित बनाउन थाल्यो । 

 

गाउँमा पानीकै संकट भएको बेला २०७४ मा गाउँलेले स्थानीय सरकारको नेतृत्व लिन पाउने अवसर आयो । गाउँको यस्तै समस्यालाई मुख्य मुद्दा बनाउँदै विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवार बनेकाहरूले चुनावताका स्थानीयका यस्तै समस्याको समधान गर्छौं, हामीलाई जिताउनुस् भन्दै भोट माग्न तिनै सुक्खाग्रस्त बस्तीमा पुगे । 

 

चुनावमा यस्तै आसवासन बाँड्दै हिँडेका सुकाजोरका विभिन्न राजनीतिक दलमध्ये कांग्रेसबाट उम्मेदवार बनेका वडाध्यक्ष समिर कार्कीको प्यानलै विजयी भयो ।

 

त्यति मात्रै हैन, सुकाजोरमै घर भएकी सिर्जना खड्काले पनि कांग्रेसकै तर्फबाट रामेछाप नगरपालिकाको उपप्रमुख जितिन् । नगर उपप्रमुखसमेत आफ्नै वडाको मान्छेले जितेपछि सुकाजोरबासीलाई थप विकास हुने आश बढ्दै गयो । 

 

चुनाव जितेका जनप्रतिनिधिलाई वाचा पूरा गर्नुपर्ने जिम्मेवारी थपिँदै गयो । सुकाजोरमा मुख्य समस्याको रूपमा रहेको खानेपानी सहज आपूर्ति गर्न वडाध्यक्ष, नगर उपप्रमुख, नगरप्रमुखलगायतको टिमबीच विभिन्न छलफल हुन थाले ।

 

यही छलफलको बेला नगर प्रमुख नरबहादुर थापा मगरसँग विभिन्न ठाउँमा भूमिगत पानी अर्थात् डिपबोरिङबाट पानी निकाल्ने व्यक्ति मदन रानासँग भएको भेट नै सुकाजोरबासीका लागि अहिले खुसीको क्षण बन्यो । 

 

सुकाजोरजस्तो सुख्खा ठाउँमा पनि जमिन मुनिबाट पानी निकाल्न सकिने निश्चित भएपछि आर्थिक वर्ष २०७५/०७६ मा करिब २५ लाख रुपैयाँ विनियोजन गरेर डिप बोरिङबाट पानी निकालेर सुकाजोरका करिब ५ सय घरपरिवारलाई पानी खुवाउने पहिलो योजना अगाडि सारियो ।

 

धेरै प्रयासपछि सुकाजोरको हिलेपानीस्थित कालीकुवामा २ सय ३९ मिटर गहिरो जमिनमुनिबाट पानी निकाल्ने योजना सफल भायो । नजिकै ठूलो पानीको स्रोत नहुँदा करोडौँ खर्चेरे कोसीबाटै लिफ्ट प्रणालीबाट पानी तान्नुपर्ने बाध्यताको विकल्पमा गाउँकै बीचमा नियमित रूपमा पानी निस्क्यो । 

 

डिप बोरिङको पानीलाई थप व्यवस्थित बनाउने योजना नगरपालिकाले अगाडि सार्‍यो । 

 

काली कुवामा निस्केको पानीलाई त्यहाँबाट १७ सय मिटर उचाइमा रहेको ताराखसे पोखरीमा १ लाख लिटरको ट्यांकी बनाएर रामेछाप वडा नम्बर ७ सुकाजोरको पात्लेछाप, भालुखोप र वरडाँडाका स्थानीयलाई पाइपलाइनमार्फत पानी वितरण गर्ने गरी आर्थिक वर्ष २०७६/७७ मा करिब ४८ लाख रुपैयाँ विनियोजन गरेर थप काम गरेको नगरपालिकाले चालु आर्थिक वर्षमा पनि करिब ३२ लाख हाराहारी बजेट विनियोजन गर्‍यो ।

 

अन्ततः नगरपालिका १ वैशाख २०७८ बाट स्थानीयको धारामा पानी पुर्‍याउन सफल भएको छ । २ वर्षदेखि नियमित रूपमा पानी आएपछि १ वैशाखमा नगरप्रमुख थापा मगरले गाउँमा पानी वितरणका लागि उद्घाटन गर्दै स्थानीयसँग खुसी साटेका छन् ।

 

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख थापा मगरले भने, ‘सुकाजोरजस्तो सुक्खा ठाउँमा पनि पानी निस्किन्छ होला भन्ने कल्पनासमेत नगरेका हामीलाई वर्षौंदेखि जमिनमुनिबाट पानी निकाल्दै हिँडेका एक व्यक्तिसँगको सफलता दिलाएको छ,’ नगरप्रमुख थापा मगरले भने ।

 

उनै व्यक्ति हुन्, मदन राना । उनको सहयोगमा जनप्रतिनिधि र राजनीतिक दलसहित पोखराको सरङकोटमा जमिनमुनिबाट पानी निकालेको ठाउँ अवलोकन गरेर योजना बुनिएको उनले सुनाए ।

 

‘नगरका पनि विभिन्न ठाउँमा पानी निकाल्न सकिने आश पलायो र काम सुरु गर्‍यौँ । अहिले योजना सफल भयो । यसले वर्षौंदेखि खानेपानीको समस्याबाट पीडित भएका नागरिकलाई ठूलो राहत मिलेको छ । यसैमा हामी खुसी छौँ,’ उनले भने । 


गाउँका स-साना पानीका स्रोतसमेत सुक्दै गएको अवस्थामा लिफ्ट प्रणाली र डिप बोरिङबाट पानी वितरण गर्न सबैभन्दा उत्तम उपाय भएकाले निर्माणाधीन २ वटा डिप बोरिङ र लिफ्ट खानेपानी आयोजनालाई नगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको नगरप्रमुख थापा मगरले जानकारी दिए । 

 

नगर उपप्रमुख सिर्जना खड्काले वातावरणमा परेको असरका कारण गाउँमा भएका पानीका स्रोत सुक्दै गएकाले विकल्पका रूपमा निर्माण भएको डिप बोरिङले सुकाजोरका स्थानीयलाई ठूलो राहत मिल्ने बताइन् । 

 

ठूल्ठूला खानेपानी आयोजना तत्कालीन आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको भए पनि नागरिकले वातावरणलाई जोगाउँदै पानीका स्रोत संरक्षण गर्नुपर्ने उनको धारणा छ ।

 

वडाध्यक्ष समिर कार्कीले नगरको सिंगो टिमको सहयोगमा निर्माण भएको कालीकुवा डिप बोरिङ लिफ्ट खानेपानी आयोजनाबाट स्थानीय उपभोक्तालाई खानेपानी खुवाउन पाउँदा निकै खुसी लागेको सुनाए । आफ्नो वडाका करिब ५०० घरपरिवारको घरघरमै पानी पुर्‍याउने गरी सुरु गरिएको आयोजनालाई आफ्नै कार्यकालमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । 

 

१ लाख लिटरको ट्यांकी निर्माण भएको ठाउँ ताराखसे पोखरीसम्म पानी पुर्‍याइए पनि स्थानीयको घरघरमा वितरणका लागि विभिन्न स्थानमा वितरण ट्यांकी र धारा बनाउने काम बाँकी छ । 


आफ्नै घर छेउमा पानी झर्ने भएपछि घन्टौ लगाएर पानी लिन जानुपर्ने बाध्यता हट्नुका साथै पशुपालन, खेतीपातीलगायतमा सहज हुने स्थानीय साकार कार्कीले बताए ।

 

कार्यक्रममा सामुदायिक वन केन्द्रीय सदस्य ढालविक्रम कार्की, नेपाल पत्रकार महासंघ राष्ट्रिय परिषद् सदस्य टीकाप्रसाद भट्ट, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेलगायतले आ-आफ्नो धाराण राखेका थिए । 

 

आर्थिक वर्ष २०७५/७६ बाट सुरु गरिएको आयोजना निर्माणको क्रममा हालसम्म १ करोड १२ लाख ५६ हजार ७ सय २६ रुपैयाँ खर्चिएको सार्वजनिक भएको छ ।