close

बुटवलमा मुलुककै पहिलो नमुना ढुवानीग्राम बन्दै

बुटवलमा मुलुककै पहिलो नमुना ढुवानीग्राम बन्दै

Trulli
ADVERTISEMENT

रूपन्देही- बुटवलमा मुलुककै पहिलो र नमुना ढुवानीग्राम धमाधम निर्माण भइरहेको छ । बुटवल उपमहानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा मुलुककै नमुना आयोजनाका रूपमा हेभी लोडका सवारी साधनलाई व्यवस्थित गर्न ढुवानीग्राम बनाएको हो । 

 

मुलुकको आर्थिक केन्द्रका रूपमा रहेको बुटवलको आर्थिक गतिविधिलाई अझ सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले नमुना ढुवानीग्राम निर्माण गरिएको र निर्माण लगभग अन्तिम चरणमा पुगेको उपमहानगर प्रमुख शिवराज सुवेदीले बताए ।

 

बुटवल उपमहानगर स्वामित्वको वडा नम्बर १२ ढवाहस्थित भैरहवा टोलमा ३ बिघा क्षेत्रफलमा करिब ३० करोड रुपैयाँ लागतमा ढुवानीग्राम निर्माण भइरहेको छ ।

 

सार्वजनिक/निजी क्षेत्रको साझेदारी योजनाअनुसार रूपन्देही परिवहन प्रालिसँगको सहकार्यमा ढुवानीग्रामको कामलाई बहुवर्षीय योजनाको रूपमा अगाडि सारिएको थियो ।

 

‘सहरमा ट्राफिक चाप बढाउने र अव्यवस्थित तवरले सञ्चालनमा रहेका ढुवानी व्यवसायलाई व्यवस्थित बनाउने, एकै ठाउँबाट हेभी लोडका गाडी अनलोड गराउने गरी अलग्गै ढुवानीग्राम निर्माणको अवधारणा बनाएका हौँ,’ प्रमुख सुवेदीले भने, ‘निजी क्षेत्र (यहाँका ढुवानीग्राममा संलग्न व्यवसायी) को समेत साझेदारीमा सुरु भएको योजना सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।’

 

बहुवर्षीय योजनाको रूपमा अगाडि सारेको अवधारणा अहिले साकार हुने अवस्थामा पुगेपछि उपमहानगर र ढुवानी व्यवसायी खुसी छन् । प्रमुख सुवेदीले व्यस्त र भीडभाडयुक्त बजार क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले उपमहानगरले गरेको प्रस्तावमा निजी क्षेत्रले सहजै सहकार्य गर्ने प्रतिबद्धता जनाएकाले काम तोकिएको समयमै पूरा भएको जानकारी दिए ।

 

नयाँ वर्षको सुरुमै सञ्चालन गर्ने गरी तयारी भए पनि कोरोना महामारीको जोखिमले केही पर सरेको छ । हेभी लोडका ढुवानीका सवारीलाई अलग्गै ठाउँको व्यवस्था मिलाएपछि अब व्यस्त सहरको ट्राफिक चाप कम हुनेछ । 


ठूला र भारवहन ढुवानीका साधनको आउजाउले बुटवल बजार क्षेत्र अस्तव्यस्त बनिरहेको अवस्थामा बजारदेखि टाढा रहेको क्षेत्रमा व्यवस्थित ढुवानीग्राम निर्माण भएपछि सहरी सौन्दर्यमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । 

 

सार्वजनिकनिजी साझेदारी मोडलमा मुलुकमै पहिलो नमुनाको रूपमा रहेको ढुवानीग्राम बुटवलको गौरवको योजना हो । सार्वजनिक/निजी साझेदारीमा यस प्रकारको अलग्गै ढुवानीग्राम मुलुकमा अन्यत्र नरहेको उपमहानगरको दाबी छ । 

 

ढुवानी व्यवसायीका अगुवा तथा समितिका पूर्वअध्यक्ष तथा ढुवानीग्राम निर्माण कार्यदलका सदस्य माधव नेपालले बुटवलको पहिचानका रूपमा नमुना अटो भिलेजपछि अब नमुना ढुवानीग्राम बन्ने दाबी गरे । लगानी सुरक्षा र प्रतिफलको सुनिश्चितता भएकाले नै आफूहरूले सार्वजनिक क्षेत्रसँग सहकार्य गरेको उनले बताए । 

 

उपमहानगर स्वामित्वको जग्गामा कुल ३० करोड रुपैयाँ लागत अनुमान गरिएको यो योजनामा ढुवानी व्यवसायीको साढे १२ करोड लगानी रहेको छ । यहाँसम्म जाने पहुँच मार्ग निर्माण भइसकेको छ भने व्यवस्थित पर्खालसमेत निर्माण भएको छ । 

 

उपमहानगरले गुरुयोजना नै बनाएर ढुवानीग्राम निर्माणको काम सुरु गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए । उनले निजी क्षेत्रसँगको सहकार्यमा बुटवलले अर्को नमुना कामको थालनी गर्न पाएको बताए । 

 

साना ग्यारेजदेखि प्राथमिक उपचारकक्षसम्म

 

ढुवानीग्राम राजमार्ग क्षेत्रबाट ३.६ किलोमिटर दूरीमा छ । उपमहानगरले त्यस क्षेत्रमा पुग्न पहुँच मार्ग, ढल तथा नाली निर्माण गरेको छ । ढुवानीग्राममा साना ग्यारेजदेखि प्राथमिक उपचार कक्षसम्म निर्माण हुनेछन् ।

 

बिओटी मोडल (बिल्ड, अपरेट, ट्रान्सफर मोडल) मा ढुवानीग्राम निर्माण भइरहेको छ । यहाँ ४९ वटा सेड निर्माण भइरहेका छन् । उपमहानगरको साझेदारी गरेको रूपन्देही परिवहन प्रालिले एमबी कन्स्ट्रक्सनलाई करिब १३ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

 

ढुवानीग्राममा सामान अनलोड गर्ने अलग्गै सेड, स्टोर कक्ष, कार्यालय, विद्युत्, खानेपानी, स्नानागार, शौचालय, विश्रामकक्ष, ढल तथा नाली, प्राथमिक उपचार कक्ष, सुरक्षागार्ड कक्ष, सूचना कक्ष निर्माण भइरहेको सहरी विकास तथा पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए ।

 

व्यवस्थित बन्नेछ बजार 

 

बुटवल मुलुकको आर्थिक केन्द्र हो । बृहत् बुटवलको अवधारणासहित सार्वजनिक/निजी साझेदारीको नमुना योजना साकार हुने चरणमा पुगेपछि साझेदारहरू खुसी भएका छन् ।

 

रूपन्देही परिवहन प्रालिका अध्यक्ष कमल घिमिरेले ढुवानी व्यवसायी उत्साही भएको सुनाए । बुटवलको नमुना प्रयासले आफूहरू उत्साही भएको र गौरवको आयोजना निर्माण सकिने चरणमा पुगेको उनको भनाइ छ ।

 

निजी क्षेत्रको विश्वास जितेर उपमहानगरले साझेदारीमा नमुना योजना सफल बनाएको उनको तर्क छ । 

 

ढुवानीग्राम निर्माण भएपछि बुटवलका चोक तथा गल्लीहरूमा सञ्चालित ढुवानी व्यवसायी स्थानान्तरण हुनेछन् । ढुवानीग्रामबाट साना सवारीले अन्यत्र सामान आसार्नेछन् । 

 

हेभी लोडका ठूला गाडी अब व्यस्त बजार क्षेत्रभित्र प्रवेश गर्नुपर्ने छैन । यसले विभिन्न क्षेत्रका लागि सामान ढुवानी गर्ने व्यवसायीलाई ढुवानीका सामान खोज्न सहज हुनेछ ।

 

ढुवानी व्यवसायीसँग १५ वर्षे सम्झौता


उपमहानगरले सार्वजनिक/निजी साझेदारी मोडलमा निर्माण भइरहेको ढुवानीग्रामलाई दिगो रूपमा सञ्चालनका लागि मापदण्डसमेत बनाएको छ । ढुवानी व्यवसायीसँग १५ वर्षे सम्झौता भएको छ । 

 

उपमहानगर र रूपन्देही परिवहन प्रालिबीच सम्झौता भएको हो । सम्झौताअनुसार उक्त प्रालिले १५ वर्षपछि उपमहानगरलाई ढुवानीग्राम हस्तान्तरण गर्नेछ । 

 

निर्माण सम्पन्नपछि ढुवानीग्राममा व्यवसाय सञ्चालन गर्ने व्यवसायीले १ हजार ५ सय ५० वर्ग फुट क्षेत्रफलमा निर्माण हुने प्रतिसेडको मासिक तीन हजार १ सय रुपैयाँ बहाल रकम बुझाउनेछन् ।

 

बहाल रकम प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने सम्झौतामा उल्लेख गरिएको उपमहानगरमा वित्त व्यवस्थापन महाशाखा प्रमुख तथा वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले बताए ।