close

मेरिङ्देन गाउँपालिकाको छड्केः आधा कर्मचारी गयल 

मेरिङ्देन गाउँपालिकाको छड्केः आधा कर्मचारी गयल 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका ३४ कर्मचारीमध्ये आधाभन्दा बढी कर्मचारी नियम विपरीत बिदामा बसेको पाइएको छ ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले गरेको छड्के अनुगमनका क्रममा ३४ मध्ये १९ कर्मचारी लिखित बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको पाइएको हो ।

 

छड्केमा छैटौँ तहका २, पाँचौँ तहका ४, चौथो तहका १२ र १ जना श्रेणीविहीन कर्मचारी बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको पाइएको छ ।


आङ्देम्बेका अनुसार १ चैत २०७७ देखि ३ वैशाख २०७८ सम्मको अवधिलाई आधार मानेर छड्के गरिएको थियो । छड्केमा कोही महिना दिनसम्म त कोही ७ दिनसम्म कार्यालयको स्वीकृतिबिना अनुपस्थित रहेको पाइएको उनले जानकारी दिए ।

 

मौखिक रूपमा पटक-पटक सचेत गर्दा पनि कर्मचारीको अनुपस्थितिले सेवाग्राहीका काममा अल्झन आउन थालेपछि छड्के जाँच गरिएको उनको भनाइ छ । छड्केमा परेका सबै कर्मचारीलाई लिखित स्पष्टीकरण पेस गर्न भनिएको र चित्तबुझ्दो जवाफ नआए गाउँ कार्यपालिकाले गर्ने निर्णय र प्रचलित कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाउने आङ्देम्बेले जानकारी दिए ।