close

कृषि कार्यक्रम प्रभावकारी बनाउन कस्सिए प्राविधिक

कृषि कार्यक्रम प्रभावकारी बनाउन कस्सिए प्राविधिक

Trulli
ADVERTISEMENT

गुल्मी– कृषि ज्ञान केन्द्र गुल्मीले स्थानीय तहका कृषि प्राविधिकसँग अन्तरक्रिया थालेको छ । स्थानीय तहमा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउने समय भएकाले केन्द्रले प्राविधिकहरूसँग छलफल गरेको हो ।

 

केन्द्रले योजना तर्जुमा गर्दा ३ तहका सरकारका कृषि योजनामा विविधीकरण ल्याउने उद्देश्यले छलफल तथा अन्तरक्रिया गरेको हो । 

 

अन्तरक्रियामा विशेषगरी प्रदेश र स्थानीय सरकारका कृषि योजना एउटै प्रकारका हुँदा दुरुपयोग र प्रभावकारी नहुने स्थितिको समीक्षा गरिएको थियो । 

 

कार्यक्रममका जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले प्रदेश र स्थानीय सरकारले समन्वय नगरेका कारण एकै प्रकारको बिउ, मल, कृषि उपकरण र अनुदान वितरण गर्दा गाउँमा कृषि कार्यक्रम प्रभावकारी बन्न नसकेको गुनासो गरे ।

 

‘दुवै तहले कृषि उपकरण वितरण गरिरहेका छन् । तर, एकै प्रकारका उपकरणको दुईथरी मूल्य हुँदा नागरिक स्तरमा शंका बढी उब्जिएका छन्,’ उनले भने, ‘प्रदेश र स्थानीय तहले खरिदलाई मात्रै प्राथमिकता दिएर हुँदैन ।’

 

गत वर्षसम्म स्थानीय तहले कृषि प्राविधिक अभाव देखाएर उम्कने गरेको सन्दर्भलाई उल्लेख गर्दै अब पनि कृषिमा रचनात्मक योजना र काम नहुँनु विडम्बनाको अवस्था हुने उनको धारणा छ ।

 

ज्ञान केन्द्रका प्रमुख कोमल शाहीले कृषि ज्ञान केन्द्रको प्रगति विवरण, केन्द्रका कृषि अर्थविज्ञ युवराज ढकालले योजना तर्जुमा प्रक्रिया र मार्गदर्शन, केन्द्रका लेखा प्रमुख गुणानिधि पाण्डेयले आर्थिक ऐन, केन्द्रकै तर्फबाट टीकाराम न्यौपानेले तालिम तथा प्रसार शाखामार्फत सञ्चालित अनुदान, खुबिराम पोख्रेलले मिसन कार्यक्रम, हरि आचार्यले स्मार्ट कृषि गाउँ कार्यक्रम र सुस्मिता कुँवरले सुलभ कर्जाका विषयमा सहजीकरण गरेका थिए ।

 

त्यस्तै, स्थानीय तहबाट उपस्थित प्राविधिकहरूले आफ्नो पालिकाको कृषि योजना र कार्यक्रमबारे जानकारी गराएका थिए ।


२ दिने गोष्ठीबाट प्राविधिकले नयाँ योजनाको रूपमा सबै तहले माटो परीक्षण प्रयोगशाला सञ्चालन गर्ने, गुणस्तरीय र प्रभावकारी कृषि नीति र योजना समावेश गर्न जनप्रतिनिधिसँग समन्वय र छलफल गर्ने निष्कर्ष निकालेका छन् ।

 

एकै प्रकारको कृषि उपकरण खरिदको मूल्यमा एकरूपता ल्याउन प्रदेश सरकारले तोकेको मूल्यसूचीका आधारमा कृषि सामग्री खरिद गर्ने निर्णय पनि गोष्ठीमा गरिएको छ ।