close

आगलागीमा बेकम्मा बन्यो दमकल 

आगलागीमा बेकम्मा बन्यो दमकल 

Trulli
ADVERTISEMENT

खोटाङ– ३१ चैत बिहान भएको आगलागीमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ दिक्तेलको रत्नपार्कस्थित गणेश फर्निचर उद्योग खरानी भयो ।

 

आगलागीमा फर्निचर उद्योग सञ्चालक हर्कराज राईको ५० लाख ८६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले घटनास्थल पुगेर मुचुल्का तयार पारेको छ ।

 

प्रहरीलाई बिहान ४.३५ बजे खबर पुगेको आगलागी नियन्त्रणका लागि नगरपालिकाको दमकल बिहान ५ बजे घटनास्थल पुगेको थियो । दमकल त्यतिबेला घटनास्थल पुग्यो, जतिबेला फर्निचर उद्योग लगभग खरानीमा परिणत भइसकेको थियो । 

बेलामा दमकल नआएको भन्दै स्थानीयले चालकमाथि आक्रोश पोखे । घटनास्थलमा दमकल ल्याइए पनि आगोमा पानी फाल्न सक्ने जनशक्ति अभाव खड्किएको थियो । दमकलबाट पानीको फोहरा फाल्न नजानेपछि पाइपबाट पानी तानेर आगो निभाउन प्रयोग गरिए । 

 

यो पछिल्लो उदाहरण हो । २३ जेठ २०७२ मा सञ्चालनमा ल्याइएको नगरपालिकाको दमकल हालसम्मका आगलागी घटनामा प्रभावकारी देखिएको छैन । २३ कात्तिक २०७५ मा दिक्तेलको रत्नपार्कस्थित अम्बिका बुढाथोकीको घरबाट सुरु भएको आगलागी निभाउन हिँडाइएको दमकल बीच बाटोबाटै फर्काइयो ।

 

दिक्तेल बाहिर गएका चालक आउँदा घटनास्थलमा लैजान ढिला भइसकेकाले बेस क्याम्पबाटै दमकल फर्काइएको थियो । ५ वैशाख २०७४ मा दिक्तेलकै हाटडाँडास्थित देवीथान कपास उद्योगमा लागेको आगो निभाउन लागिएको दमकल घटनास्थलसम्म पुग्नै सकेन । 

 

यस्तै, २९ असार २०७३ मा दिक्तेलको थर्पुटोलमा भएको आगलागीमा त दमकल घटनास्थल पुग्नै सकेन । घटनास्थल जाँदै गरेको दमकल अल्छेढुंगामा सडककै हिलोमा भासिएको थियो ।

 

२ पुस २०७२ मा दिक्तेलको रत्नपार्कका हिरालाल पुरीको पसलबाट सुरु भएको आगो निभाउने क्रममा पनि दमकल प्रभावकारी देखिएन ।

 

दमकलको पानी आगोतर्फ फाल्ने सीप नहुँदा खेर गए भने दमकल रित्तिएपछि पुनः पानी भर्न जाँदा– आउँदा उद्धारको समय घर्किइसकेको थियो । यी प्रतिनिधिमूलक घटनाले पनि दिक्तेल बजारको आगलागीमा दमकलको प्रभावकारिता छर्लंग पार्छ । 

 

हालसम्म दिक्तेलमा भएका आगलागीमा नगरपालिकाको दमकल उपयोगी हुन नसकेको अग्निपीडित गणेश फर्निचर उद्योगका सञ्चालक राई बताउँछन् । 

 

२०७३ जेठमा सरकारको ६० लाख र नगरपालिकाको ८ लाख ५० हजार रुपैयाँमा सो दमकल खरिद गरिएको हो । तर, सो दमकल प्रभावकारी उपयोगमा नआउँदै बेकम्मा बनेको छ ।

 

दिक्तेल बजारमा पटक–पटक भएका आगलागीका क्रममा हालसम्म दमकललाई अग्निनियन्त्रक साधनका रूपमा उपयोग गर्न नपाइएको स्थानीयको गुनासो छ । आवश्यक परेको र विपत्ति आइलागेको समय दमकलको प्रभावकारी उपयोग नहुँदा स्थानीय नगरपालिकाप्रति आक्रोशित बन्ने गरेका छन् ।

 

चाहिएका बेला काम नलाग्ने दमकलका कारण सबैभन्दा बढी आलोचना खेप्नुपरेको नगरप्रमुख दीपनारायण रिजालले सार्वजनिक वक्तव्यकै क्रममा बताउने गरेका छन् । 

 

बाहिर खोटाङ, भित्र ताप्लेजुङ 

 

कतिपयले सुरुमै थोत्रो दमकल ल्याएकाले चुहिने गरेको र प्रभावकारी सेवा दिन नसकेको आरोप लगाउने गरेका छन् । हुन पनि ताप्लेजुङ लेखिएको अक्षर मेटाएर खोटाङ लेखिएको देखिनुले थोत्रो दमकल ल्याइएको आशंकालाई बल पुग्छ । १८ पुस २०७४ राती हलेसीमा भएको आगो निभाउनका लागि लैजाने क्रममा बाटैमा बिग्रनुले पनि दमकलको नाजुक अवस्था छर्लंग पार्छ । 

 

प्राविधिक रूपमा कन्डिसनमा भएको बताइए पनि अलि–अलि उकालो बाटोमा दमकल गुड्न नसक्ने समस्या छ । हलेसीमा भएको आगो निभाउन लैजाँदै गरेको सो दमकल अर्खौले पुगेपछि बिग्रिएको थियो । बाटैमा बिग्रिएर लामो समयसम्म थन्किएको दमकल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करिब १५ लाख रुपैयाँमा मर्मत गरे पनि विपद् समय भने काम लाग्न सकेको छैन । 


घना बस्ती रहेको दिक्ते लबजारका घर एकआपसमा टाँसिएका छन् । बाक्ला घर आपसमा टाँसिएकै कारण दिक्तेल बजार आगलागीको उच्च जोखिममा छ । जुनसुकै बेला हुने आगलागीले बजार निल्न सक्ने खतरा छ । 

 

आगलागीबाट जिल्लाकै प्रमुख बजार जोखिममा रहेको विषयमा पटक–पटक कुरा उठे पनि यसको बचाउ र प्रतिरक्षामा कुनै योजना बनाइएका छैनन् । घटनाको केही समयसम्म आगलागीबाट बच्ने प्रतिरक्षा उपायका विषयमा चर्चा चले पनि कार्यान्वयनमा नआउँदै सेलाउने गरेको छ ।