close

सम्झौताको ८ वर्ष बित्यो तर बनेन भक्तपुर-नगरकोट सडक

सम्झौताको ८ वर्ष बित्यो तर बनेन भक्तपुर-नगरकोट सडक

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर-नगरकोट सडक खण्ड निर्माणका लागि सम्झौता भएको ८ वर्ष पुगिसकेको छ । तर, सडक निर्माणले भने अझै पूर्णता पाउन सकेको छैन । ५ वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने सडकले ठेकेदार कम्पनीको निरन्तर लापरबाही कारण विस्तारमा ढिलाइ भएको हो । 

 

स्थानीयका अनुसार तत्कालीन समय बाटो साँघुरो भएको भन्दै सडकको चौडाइ बढाएर २ लेनमा विस्तार गर्न कालोपत्रे सडकलाई उप्काइएको थियो । तर, सडक शिलान्यास गरेको ८ वर्ष वितिसक्दा पनि सडकको विस्तारले गति लिन सकेको छैन । 

 

८ वर्षमा सडकको भौतिक पूर्वाधार तयार भएर पर्यटन स्थल नगरकोट पुग्ने पर्यटक र स्थानीयले सुविधा पाउनुको साटो धुलो-धुँवाका सास्ती अहिलेसम्म हटेको छैन ।

 

सडक विस्तारका लागि ‘एक्जिम बैंक इन्डिया’ को ऋण सहयोगमा शैलुङ र एआईपीएल जेभीले ४ कात्तिक २०७३ मा काम सक्ने गरी २२ जेठ २०७१ मा सम्झौता भएको थियो । तर, पटक-पटक गरी १५ जेठसम्म ७ पटक पटक म्याद थप्दा पनि सडकले पूर्णता पाउन सकेको छैन ।

 

सडक निर्माणका लागि भारतीय कम्पनीको ५१ प्रतिशत र अधिकारीको शैलुङको ४९ प्रतिशत हिस्सा रहेको छ । १६ किलोमिटरमध्ये कमलविनायक-सुविधानगरसम्मको करिब ४ किलोमिटर सडकमा कालोपत्र गरिएको छ । काम ढिला गरिँदा लागत झन्डै ६ करोड रुपैयाँ बढेको छ ।

 

सुरुको सम्झौतामा २७ करोड ९० लाखमा काम सक्ने भनिए पनि हाल अनुमानित लागत बढाएर ३४ करोड रुपैयाँ कायम गरिएको छ । १७ करोड ३१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।

 

घट्यो पर्यटकको संख्या

 

भक्तपुर नगरपालिकाको वडा नम्बर १० हुँदै सडकले चाँगुनारायण नगरपालिकाको वडा नम्बर ५, ६ र ७ लाई छुन्छ । सडक पर्यटकीय स्थल नगरकोट जाने मुख्य राजमार्गसमेत हो ।

 

वैकल्पिक रूपमा भक्तपुर भत्केकोपाटी हुँदै जीतपुर चरेलीको मार्ग प्रयोग गरी नगरकोट जान सकिन्छ । लामो समयसम्म सडकले गति लिन नसक्दा पर्यटकसमेत वैकल्पिक सडकको प्रयोग गरी नगरकोट जाने गरेका छन् । 

सडकको धुलो र हिलोकै कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा समेत कमी आएको स्थानीय व्यवसायी बताउँछन् । 

 

व्यवसायीका अनुसार कुनै समय मासिक २० हजार व्यापार हुने पसलमा आजभोली ५ हजार रुपैयाँको समेत व्यापार हुन कठिन छ । पसलमा व्यापारभन्दा धुलो सफा गर्दैमा दिन बित्ने गरेको उनीहरू बताउँछन् । 

 

पटक-पटकको आन्दोलन बिफल

 

निर्माण कम्पनीलाई दबाब दिन स्थानीयले पटक-पटक आन्दोेलन गर्दै आएका छन् । तर, सडकको मुहार भने फेरिन नसकेको स्थानीयको गुनासो छ । 

 

सडक विस्तारका लागि सबै वडाका स्थानीयलाई समेट्ने गरी संघर्ष समितिसमेत गठन भइसकेको छ । सोही समितिमार्फत सडक विस्तारका लागि आन्दोलन गरिँदै आएको छ ।

 

तर, आन्दोलन गरेको केही समयसम्म काम गर्ने र त्यसपछि वहाना बनाएर सडक विस्तार रोकिने गरेको स्थानीय बताउँछन् । 

 

स्थानीय डिल्ली लामिछानेका अनुसार सडकबाट आउने धुलो र धुवाँबाट आजित भएकाले पटक-पटक सडक बन्दसमेत गरिएको छ । तर, ठेकेदार कम्पनीले सडक विस्तार गर्न सकेको छैन । 

 

‘हाम्रो माग सडक बनाउनु हो । हामीलाई धुलो र प्रदूषणबाट मुक्ति चाहियो,’ उनले भने, ‘यसपटक हामी स्थानीय बसेर काम गर्न लगाउँछौँ । जुन बेला मेसिन बन्द हुन्छ, त्यो समय पुनः आन्दोलन गर्छौं ।’ 

 

सडक विस्तारको माग गर्दै स्थानीय जनप्रतिनिधिले समेत प्रधानमन्त्री कार्यालयलगायत संसद् भवनमा समेत पत्र बुझाइसकेका छन् । तर, ठेकेदार कम्पनीलाई राजनीतिक संरक्षण भएकै कारण कारबाही गरिएको छैन । 

 

‘सडक विस्तारमा ढिलाइ भएकै कारण हामीले मन्त्रालयमा पत्र बुझायौँ । ठेकेदार कम्पनी फेर्नसमेत माग गरेका थियाँै,’ नगरप्रमुख सोमप्रसाद मिश्रले भने, ‘तर सरकारले न ठेकेदार कम्पनी नै फेर्न सक्यो, न त सडक विस्तार नै ।’

 

असार मसान्तमा सकिन्छ: प्रजापति

आगामी असार मसान्तमा सडक विस्तारको सम्पूर्ण काम सक्ने दाबी भक्तपुर-नगरकोट-सिपाघाट सडक आयोजनाका प्रमुख जगत प्रजापतिले गरे । उनले ठेकेदार कम्पनीको लापरबाहीको कारण बन्न नसकेको सडक अबको २ महिनाभित्र सम्पन्न हुने बताए । 

 

ठेकेदार कम्पनीलाई जरिमानास्वरूप कुल लागतको १० प्रतिशतका दरले ३ करोड ५० लाख रुपैयाँ हर्जना तिराइसकेको उनले जानकारी दिए । उनका अनुसार ठेकेदार कम्पनीले अबको असार मसान्तमा काम सकाउने प्रतिबद्धता जनाएको छ । 

 

तोकिएको समयमा पनि सडक बनाउन नसके कम्पनीलाई पुनः जरिमाना तिराइने प्रजापतिको दाबी छ ।