close

२२ तलाबाट काठमाडौं नियाल्दा...

२२ तलाबाट काठमाडौं नियाल्दा...

Trulli
ADVERTISEMENT

काठमाडौं- २०७२ भूकम्पअगाडि ९ तले धरहरा चढेर आनन्द लिएकाहरू अहिले पनि झस्किने गर्छन् । कारण, भूकम्पले ढलाएको धरहरा यतिबेला २२ तला पुगिसकेको छ । आइतबार दिउँसो यस्तै घटना भयो । 

 

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ सहितको टोली निर्माणाधीन धरहरा अवलोकनका लागि दिउँसो करिब ३ बजे धरहरा पुगेको थियो । यसअधि ९ तलाको धरहरामा रमाएकाहरू २२औँ तलाको धरहरा चढ्दा कतै डर त कतै उत्साहका साथ अगाडि बढिरहेका थिए । 

 

मन्त्रीसहितको टोली धरहरा प्रवेश गरेर हेल्मेटले टाउको छोप्दै उक्लियो । २०आ‍ैं तल्लासम्म लिफ्टमा गएको टोलीको बाहिर निस्कनासाथ आवाज आयो ‘उडाउँछ कि क्या हो ।’

 

सफा खुलेको आकाश, उपत्यकाको खाल्डोमा ठडिएका लाखाैँ घर, मान्छे नै उडाउला जसरी लागेको हावामा कति रमाइरहेका थिए भने कति डराइरहेका थिए । मानिसहरू यस कारण डराइरहेका थिए, जोडले हावा चल्यो भने समाउने रेलिङसमेत थिएन ।

 

२०औँ तल्लाबाट अगाडि बढ्दै गर्दा एक सञ्चारकर्मीले भनिन्, ‘२२ तला चढ्दाको नयाँ अनुभव र फोटो खिचाैँला भनेर आएको तर सातै गयो ।’


कोरोना कहरमा कैयौँ विकास निर्माणले विश्राम लिए पनि धरहराले निरन्तर उचाइ लिइरह्यो । निर्माणाधीन धरहराको टुप्पोसम्म आँखा पुर्‍याउन अब शिर मज्जैसँग उठाउनुपर्ने भएको छ । 

 

राजधानीको मुटुमा रहेको ९ तले धरहरा २०७२ भूकम्पले ध्वस्त बनायो । ढलेको धरहरा देखेर खिन्न भएकाहरू अहिले भने रमाउन थालेका छन् । भूकम्पको ६ वर्षपछि ठडिएको उक्त धरहरा ११ वैशाखमा प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने तयारी छ । हाल ९८ प्रतिशत निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । 

 

१२ वैशाख २०७२ को भूकम्पले भत्काएको ऐतिहासिक धरहराको ‘ठुटो निशानी’ नजिकै ठडिएको छ, नयाँ धरहरा । पुरानो धरहराको ठुटोलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाले छोपेर ‘जीवन्त’ राखिनेछ । त्यसको १० मिटर दूरीमा उभिँदै गरेको नयाँ धरहरा बाहिरबाट हेर्दा पुरानै स्वरूपको देखिनेछ । 


२२ तलाको ढलान सकिएको धरहराको माथिको भागमा रेलिङ राख्नेलगायत बाहिरी स्वरूपको काम भने बाँकी रहेको छ । शिरमा पुरानै धरहराको गजुर रहनेछ । 

 

धरहराभित्र एउटा भ¥याङ र २ वटा लिफ्ट राखिने भए पनि अहिले एउटा मात्र लिफ्ट सञ्चालनमा छ । लिफ्टबाट प्रतिसेकेन्ड १ मिटर गतिमा धरहरा चढ्न र ओर्लिन सकिन्छ । 

 

३ अर्ब ४८ करोड रुपैयाँ लागतमा बन्दै गरेको नयाँ धरहराले ४२ दशमलव २ रोपनी विशाल क्षेत्रलाई समेटेको छ । धरहरामा २ तला अन्डरबेसमेन्ट अत्याधुनिक पार्किङ स्थल बन्नेछ । गोश्वारा हुलाक भवन रहेको ठाउँमा ‘ट्रिपल बेसमेन्ट’ पार्किङ रहनेछ । संग्रहालयसँगै मनोरम पार्क निर्माण हुनेछ ।

 

हरियाली पार्कभित्र ढुंगेधारा र चमेनागृह हुनेछन् । सो क्षेत्रमा मर्निङ वाक र इभिनिङ वाक गर्न मिल्नेछ ।

 

धरहरा छेवैमा म्युजिकल फाउन्टेन रहनेछ । त्यहाँ नेपाल चिनाउने वस्तु बेच्ने पसल राखिनेछन् । २२औँ तलामा बाल्कोनी बन्नेछ, जहाँबाट उपत्यका नियाल्न सकिनेछ । २ वर्षमा र्निर्माण सक्ने सम्झौता गरी चीनको जिआइआइटिसी र नेपालको रमन कन्स्ट्रक्सनले २०७५ असोजमा संयुक्त रूपमा काम सुरु गरेका थिए । 

 

कसले बनाएका थिए धरहरा ?


धरहराको निर्माण १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले गरेको इतिहासमा उल्लेख छ । त्यसको उचाइ ११ तला थियो । २ माघ १९९० को भूकम्पले धरहरा भत्किएको थियो । 

 

२ वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले त्यसको पुनर्निर्माण गराएका थिए । ६ रोपनी जग्गामा फैलिएको ९ तले धरहरा २०७२ वैशाखको भूकम्पले पुनः भत्काएको थियो ।