close

तरकारी बिक्री कक्षमा नगरपालिकाको पार्किङ, सडकमा व्यापार

तरकारी बिक्री कक्षमा नगरपालिकाको पार्किङ, सडकमा व्यापार

Trulli
ADVERTISEMENT

ओखलढुंगा- ओखलढुंगा सदरमुकाममा सातामा २ दिन बजार लाग्छ । बुधबार प्रायः तरकारीको मात्रै व्यापार हुन्छ । शनिबार अन्य उपभोग्य वस्तुसहित मुख्य गरी तरकारी बेचिने गरेको छ ।

 

७ सय बढी उपभोक्ता किनेकै तरकारीमा निर्भर छन् । होटल र खाजा घर थपिँदा ९ सय पुग्छन् । यी उपभोक्तालाई तरकारी बेच्ने किसान सिद्धिचरण नगरपालिका वडा नम्बर ५, ६, ७, ८, ९ र १० का हुन् । छिमेकी गाउँपालिका मोलुङको वडा नम्बर १ र २ का किसानको बजार पनि ओखलढुंगै हो । 

 

जिल्लाका सबै सरकारी कार्यालय, होटल तथा खाजा घर र अन्य उपभोक्ताको भान्छामा पुग्ने तरकारी बेच्न आउने किसानलाई भने बस्ने ठाउँसमेत छैन । सिद्धिचरण नगरपालिकाको गेट छेउमा भएको सार्वजनिक जग्गामा तोकिएको हटिया क्षेत्रमा किसान बाटोको छेउभित्ता बसेर तरकारी बेच्न बाध्य छन् । 

 

बाटोमा धुवाँ-धुलो र भीडभाडमा ठेलिएर तरकारी किनबेच हुन्छ । तरकारी उत्पादक किसानले नगरपालिकालाई सातामा दुई पटक कर तिर्छन् । तर, उनीहरू धुलो सडकको छेउछाउ बसेर तरकारी बेच्न बाध्य छन् ।

 

‘नगरपालिकाले कर मात्रै लिन्छ । बस्ने ठाउँ दिँदैन । पानी पर्दा भिजिन्छ । घाम लाग्दा तरकारी सुक्छ,’ तरकारी उत्पादक किसानको गुनासो छ । कर लिने तर बस्ने ठाउँसमेत नदिने नगरपालिका किसानमैत्री नभएको अगुवा किसान ल्हाक्पा शेर्पा बताउँछन् ।

 

सदरमुकाम ओखलढुंगामा अत्याधिक तरकारी आउने क्षेत्र भनेको वडा नम्बर ७ को बिगुटार हो । यस क्षेत्रका किसानले तरकारी बेच्न डोकोमा बोकेर घन्टौँ हिँडेर बजार आइपुग्छन् ।

 

बजार आउनासाथ नगरपालिकाले खटाएका कर्मचारी कर लिन पुग्छन् । तर, उनीहरूलाई बस्ने ठाउँ भने छैन । केही समय पहिले उद्योग वाणिज्य संघको समेत अगुवाइमा निर्माण गरेको कृषि उपज केन्द्रको टहरोसमेत नगरपालिकाले हडपेर पार्किङ स्थल बनाइदिएको छ ।

 

तरकारी बोकेर लगेका किसानले राखेर बेच्ने ठाउँसमेत नपाएको बिगुटारका युवा छन्दविनोद घिमिरेले बताए । तरकारी बेच्ने ठाउँसमेत नदिने नगरपालिकाले वास्तविक किसानका लागि कुनै योजना नल्याएको उनको आरोप छ ।

 

बिक्री स्थल नहुँदा धुलो परेका र घाममा सुकेको तरकारी उपभोग गर्न उपभोक्ता बाध्य छन् । नगरपालिकाको बेवास्ताले एकातिर किसान समस्यामा परेका छन् भने उपभोक्ताले पनि स्वच्छ तरकारी उपभोग गर्न पाएका छैनन् ।

 

किसानका समस्या समाधान गर्ने हो भने उपभोक्ताले समेत स्वच्छ उपभोग्य वस्तु उपभोग गर्न पाउने वातावरण बन्ने नागरिक समाजका बोधनारायण श्रेष्ठ बताउँछन् ।

 

नगरले कर मात्रै उठाउने तरकारी उत्पादक किसानका लागि बिक्री कक्षसमेत नदिएको गुनासोबारे सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले हटिया व्यवस्थापनको काम साँघुरो ठाउँ भएकाले समस्या रहेको बताए । उनले गुरुयोजनै बनाएर हटिया व्यवस्थापन गर्ने काम सुरु गर्ने तयारी भइरहेको जानकारी दिए ।

 

प्रमुख श्रेष्ठले हटिया र कृषिजन्य उत्पादन बिक्री कक्ष निर्माणको डिपिआर बनिरहेको बताए पनि किसानको दैनिक समस्या अस्थायी रूपमा समाधान गर्नेतर्फ भने नगरपालिकाले चासो नदिएको सरोकारवालाको भनाइ छ ।