close

सासूबुहारी मिलेर डोजरमा आगजनी

सासूबुहारी मिलेर डोजरमा आगजनी

Trulli
ADVERTISEMENT

मोरङ- स्थानीय तहको निर्वाचनपछि चुनिएका जनप्रतिनिधिले सडक, कुलो, पैनीजस्ता विकास निर्माण गरिरहेका छन् । तर, कतिपय स्थानमा भने जग्गा मुआब्जा विवाद, क्षतिपूर्तिलगायत कारण विकास आयोजना अगाडि बढ्न सकेका छैनन् । 

 

विकास निर्माणमा केही स्थानमा अहिले स्थानीयले नै तगारो हालिरहेका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिकामा वडा नम्बर ५ मा बाटो खोल्ने क्रममा स्थानीय पदमदेवी उप्रेती र बेनिसा चौलागाईं सासूबुहारीले डोजरमाथि आगजनी र तोडफोड गरेका छन् ।

 

सरकारी नक्सामा रहेको बाटो स्थानीय उप्रेती परिवारले भोगचलन गर्दै आएका थियो । हाल बाटो आवश्यक भएका कारण स्थानीय महाराजथान समितिले बाटो खोल्ने भएपछि विवाद उत्पन भएको हो ।

 

पटक–पटक वडा र नगरमा बसेको छलफल र बैठकमा उप्रेती परिवारले बाटो नछाड्ने अड्डी लिएपछि नगरले वडाको रोहबरमा बाटो खोल्ने निर्णय गरेको थियो ।

 

नगरको निर्णयअनुसार ४ वैशाखमा स्थानीय, जनप्रतिनिधि र प्रहरी प्रशासन बाटो खोल्न उक्त स्थानमा पुग्दा उप्रेती सासूबुहारीले डोजरमाथि तोडफोड र आगजनी गरेका थिए ।

 

१२ बजे मध्याह्नमै डोजरमाथि आगो लगाएको सासूबुहारीलाई प्रहरीले ४ बजे जाहेरीका आधारमा पक्राउ गरे पनि बेलुकी ८ बजे छलफल र सहमतिबिनै छाडिदिएको छ ।

 

आगो लगाउने सासूबुहारीलाई कारबाहीसहित क्षतिपूर्तिको माग गरेका वडाध्यक्ष जोगबहादुर धिमाल, उपप्रमुख यमुना विष्ट बाँस्तोला र स्थानीयले दिएको जाहेरीसमेत प्रहरीले लिन मानेको छैन ।

 

घटना घटेकै दिन र भोलिपल्ट इलाका प्रहरी कार्यलयमा पथरी पुगेर दिएको जाहेरीसमेत दर्ता नगरेको वडा सदस्य रेवतबहादुर बस्नेतले प्रहरी कार्यालयमै दुखेसो पोखे ।

 

भूपाल थापाको सिमाना पर्ने रजत जयन्ती मार्गबाट बक्रबाँध जाने सरकारी बाटो उप्रेती परिवारले भोगचलन गर्दै आएको छ । थापाको सिमाना पर्ने सरकारी बाटो निर्माण गर्ने क्रममा उप्रेती परिवारले पटक-पटक विवाद गर्दै आएका थिए ।

 

शनिबार बाटो खन्ने क्रममा डोजरमाथि आगजनी र तोडफोड हुँदा २ लाख २० हजार रुपैयाँको क्षति भएको डोजर सञ्चालक सञ्जय साहले बताए ।

 
प्रहरीकै अगाडि डोजरमाथि आगजनी र तोडफोड हुँदा पनि जाहेरी नलिँदा कारबाही प्रक्रिया अगाडि नबढाउने उद्देश्य रहेको आशंका स्थानीयले गरेका छन् ।

 

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी उपरीक्षक कृष्ण खड्का भने आगजनी हुँदा प्रहरीले जोगाएको र थप अनुसन्धान हुँदै गरेको बताउँछन् ।