close

स्व-मूल्यांकनमा नगरपालिकाका तीन स्वास्थ्य चौकी उत्कृष्ट 

स्व-मूल्यांकनमा नगरपालिकाका तीन स्वास्थ्य चौकी उत्कृष्ट 

Trulli
ADVERTISEMENT

खोटाङ- स्व-मूल्यांकनको आधारमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाभित्रका उत्कृष्ट ३ वटा स्वास्थ्य संस्था छनोट गरिएको छ ।

 

स्व-मूल्यांकनमा वडा नम्बर ८ धितुङस्थित स्वास्थ्य चौकी धितुङ प्रथम, वडा नम्बर ४ बडहरे स्वास्थ्य चौकी दोस्रो र वडा नम्बर ५ दुर्छिम स्वास्थ्य चौकी तेस्रो भएका छन् ।

 

११ वटा वडाको नगरपालिकामा रहेका ११ वटै स्वास्थ्य संस्थामध्ये स्व-मूल्यांकनमा ३ वटा स्वास्थ्य चौकी उत्कृष्ट ठहरिएको नगरपालिका उपप्रमुख विमला राईले बताइन् ।

 

सबै स्वास्थ्य चौकीका इन्चार्जले विभिन्न मापदण्डका आधारमा अंक भार दिएपछि प्राप्तांकको आधारमा उत्कृष्ट स्वास्थ्य चौकी पहिचान गरिएको हो । 

 

‘जिरो होम डेलिभरी’ वडा घोषणा गर्ने योजना 


यसैबीच हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ११ राजापानी, वडा नम्बर ४ बडहरे र वडा नम्बर ८ धितुङलाई ‘जिरो होम डेलिभरी’ वडा घोषणा गर्ने योजना बनाइएको छ ।

 

बर्थिङ सेन्टरयुक्त नगरपालिकाभित्रका ३ वटा वडामा गत साउनदेखि हालसम्म घरमा सुत्केरी गराउने महिला शून्य भएकाले ‘जिरो होम डेलिभरी’ वडा घोषणा गर्ने योजना बनेको हो । 

 

आगामी असार मसान्तसम्म पनि घरमा सुत्केरी हुने दर शून्य भएको अवस्थामा ३ वटा वडालाई ‘जिरो होम डेलिभरी’ वडा घोषणा गरिने उपप्रमुख राईले बताइन् । 

 

११ वटै वडाका स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना भएपछि ३० असार २०७६ मा नगरपालिकालाई पूर्ण बर्थिङ सेन्टरयुक्त पालिका घोषणा गरिएको थियो । हाल नगरपालिकामा स्वास्थ्य संस्थामा सुत्केरी हुने दर ९०.५० प्रतिशत छ ।

 

‘नगरपालिकाको स्वास्थ्य शाखाअन्तर्गत स्वास्थ्य संस्थाको प्रगति समीक्षा सम्पन्न भएको छ । अहिले स्वास्थ्य संस्थामा सुत्केरी हुने दर ९०.५० प्रतिशत रहेको छ,’ उपप्रमुख राईले भनिन्, ‘अब राजापानी, बडहरे र धितुङमा केही महिनापछि जिरो होम डेलिभरी घोषणा गर्ने योजना बनेको छ । त्यहाँका सबै गर्भवतीले स्वास्थ्य संस्थामा गएर बच्चा जन्माएको तथ्यांक छ ।’