close

ओखलढुंगा सदरमुकाम र मानेभञ्ज्याङ सिसिक्यामेराको निगरानीमा

ओखलढुंगा सदरमुकाम र मानेभञ्ज्याङ सिसिक्यामेराको निगरानीमा

Trulli
ADVERTISEMENT

ओखलढुंगा- जिल्ला सदरमुकामसमेत रहेको सिद्धिचरण नगरपालिकाको बजार क्षेत्र र मानेभञ्ज्याङ गाउँपालिकाको प्रवेशद्वार हर्कपुरलाई सिसिक्यामेराको निगरानीमा राखिएको छ । 

 

बजार तथा सीमा क्षेत्रमा हुने चोरी, डकैती तथा अन्य आपराधिक घटना रोकथाम तथा अनुसन्धान सहज बनाउन सिसिक्यामेराबाट निगरानी बढाइएको हो । 

 

सिद्धिचरण नगरपालिकासँगको सहकार्यमा बजार क्षेत्रमा सिसिक्यामेरा जडान तथा मर्मत गरेर सदरमुकामका सबै चोक तथा वित्तीय संस्था आसपासमा क्यामेरा जडान गरिएको छ । यसले बजार क्षेत्र कार्यालमै बसेर निगरानी गर्न सकिने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी गोविन्दराज काफ्लेले बताए । 

 

सिसिक्यामेरा जडान गरेर जिल्ला प्रहरी कार्यालयबाट निगरानी तथा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । यसले आसपासका बजार क्षेत्र तथा पार्क परिसरमा हुने सक्ने अवान्छित गतिविधिलाई प्रहरीले कार्यालयबाटै नियाल्न सहज भएको काफ्लेको भनाइ छ । 

 

सदरमुकामका विभिन्न बजार क्षेत्रलाई कैद गर्ने गरी २० वटा सिसिक्यामेरा जडान गरिएको छ । जिल्लाको शान्ति-सुरक्षा अमनचयन कायम गर्दै अपराध नियन्त्रणका लागि सहजता ल्याउन बजार क्षेत्रमा सिसिक्यामेराले सहज हुने विश्वास लिइएको छ । 

 

सिद्धिचरण नगरपालिकाको साझेदारीमा रमाइलोडाँडा, मिलनचोक, नगरपालिका क्षेत्र, गणेशचोक, हटिया क्षेत्र, जिल्ला समन्वय समिति, सिद्धिचरण पार्क परिसर, भैरवटोललगायत बजारका मुख्य क्षेत्रमा सिसिक्यामेरा जडान गरिएको छ । 

 

सिसिक्यामेरा जडानपछि बजार क्षेत्रमा हुन सक्ने अवान्छित गतिविधिलाई एकै ठाउँबाट रेकर्ड गर्न सकिने र अपराधजन्य गतिविधि भएको पाइए नियन्त्रण गरी कानुनी कारबाही गर्न तथ्य प्रमाण जुटाउन सहज हुने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । 

 

सिसिक्यामेरा जडान गरिएपछि बजार क्षेत्रमा हुन सक्ने अव्यवस्थित यातायात तथा बजार व्यवस्थापन, चोरी डकैती, मादक पदार्थ सेवन गरी होहल्ला झैझगडा गर्नेलगायत गतिविधि प्रहरीले नियमित अनुगमन हुने हुँदा सहज हुने सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

 

यसअघि ओखलढुंगा, खोटाङ, सोलुखुम्बुको प्रवेशद्वार हर्कपुर नाकामा हुन सक्ने विभिन्न आपराधिक गतिविधि नियन्त्रण प्रयोजनका लागि मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ७ हर्कपुरमा सिसिक्यामेरा जडान गरिएको थियो ।

 

जिल्ला प्रहरी कार्यालय र मानेभञ्ज्याङ गाउँपालिकाको साझेदारीमा सिसिक्यामेरा जडान गरिएपछि आपराधिक घटनामा कमी आएको प्रहरीले जनाएको छ । अपराध अनुसन्धानलाई प्रविधियुक्त बनाउँदै तथ्य प्रमाणसहित कानुनी कारबाही प्रक्रियालाई सजिलो बनाउन, समाजमा शान्ति सु-व्यवस्थालाई मजबुत बनाउन सिसिक्यामेराले सहयोग पुग्ने अपेक्षा छ ।