close

पर्यटकीय देशमा जम्मा २१८ पर्यटक प्रहरी !

पर्यटक हराए खोज्ने जिम्मा कसको ?

पर्यटकीय देशमा जम्मा २१८ पर्यटक प्रहरी !

पर्यटक हराए खोज्ने जिम्मा कसको ?

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपालमा बर्सेनि लाखौँ विदेशी पर्यटक घुमफिरका लागि आउँछन् । पर्यटकीय स्थल पुग्छन्, त्यहाँको रमणीय वातावरणमा रम्छन् ।

 

तर, कतिपय पर्यटक हराउने गर्छन् । कतिपय लुटपाटमा पर्छन् भने कतिपय आफैं अपराधमा संलग्न हुन्छन् ।

 

पर्यटकको सुरक्षा र निगरानीका लागि प्रहरीभित्र छुट्टै युनिट छ, जसलाई पर्यटक प्रहरी भनिन्छ । मुख्यगरी यसले नेपाल घुम्न आउने विदेशी पर्यटकको सुरक्षासम्बन्धी काम गर्छ ।

 

पर्यटकको समस्या समाधान गर्न सहयोग गर्नु पर्यटक प्रहरीको मुख्य काम भए पनि देशभर २१८ प्रहरीले लाखौँ पर्यटकको सुरक्षा हेर्नु परिरहेको छ । एक्लो प्रयासबाट सम्भव नहुने भएकाले पर्यटक प्रहरीले अहिले स्थानीय तहको समेत समन्वय र खाँचो औँल्याएको छ । 

 

कोरोना संक्रमणका कारण २०७६ अन्त्यदेखि २०७७ सम्म खासै पर्यटकको नेपालमा आगमन हुन सकेन । 

 

महामारी केही कम भएका बेला नेपालमा विदेशी पर्यटक घुमफिरका लागि आए । तीमध्ये कतिपय अपराधमा संलग्न भए भने कति पीडित बने । 

 

१ वर्षमा पर्यटकको सुरक्षाका लागि खटिने प्रहरीलाई पर्यटकबाट ६७ उजुरी प्राप्त भएको छ । तीमध्ये ६ वटा चोरी, ९ वटा ठगी र ४९ वटा सामान हराएबारे थिए ।

 

तर, ती सबै उजुरी प्रहरीले फस्र्योट गर्न सकेन किनकि पर्यटकको सुरक्षा गर्ने युनिट पर्यटक प्रहरीको संख्या नै कम हुँदा अप्ठेरो परिरहेको छ । 

 

आर्थिक वर्ष २०७४ देखि २०७७ सम्मको अवधिमा बाह्य पर्यटकका १ हजार ३ सय २१ वटा सामान हराएका छन् । चोरी १०, पकेट मार ८, उत्पीडनमा १८, अपहरण ५, बलात्कार २ वटालगायत ३ वर्षमा १ हजार ७ सय ९२ वटा आपराधिक तथा सामान्य घटना भएको पर्यटक प्रहरीको अभिलेखमा उल्लेख छ ।

 

सबैभन्दा बढी उजुरी भने चोरी र सामान हराएबारेका छन् । यसबारे पर्यटक प्रहरीले नेपाल प्रहरीका विभिन्न निकायसँग समन्वयमा अनुसन्धान तथा नियमन गरेको हो । ३ वर्षे अवधिमा महिलाको तुलनामा पुरुष पर्यटक बढी समस्यामा देखिएका छन् ।

 

उजुरी दिएको तथ्यांकको आधारमा आव २०७५/७६ र २०७७ मा क्रमशः २६८, २२१, १६६ गरी ६ सय ५५ उजुरी महिलाका परेका छन् । यस्तै, क्रमशः ३५१, ४१२, ३७४ गरी ११३७ जना पुरुष विभिन्न स्थानमा समस्यामा परेको उजुरी अभिलेखमा छ ।

 

पर्यटक प्रहरीले पर्यटकका गुनासो र समस्या समाधान गर्ने काम गरिरहेको पर्यटन प्रहरीका निमित्त प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी दिए ।

 

पर्यटकको सुरक्षामा कुनै कसुर नराखे पनि बेला-बेला विभिन्न घटना घटने गरेको इन्सपेक्टर साहले बताए । घटना उजुरी पर्नेबित्तिकै आफूहरूले छानबिन र अनुसन्धान गरिरहेको उनको दाबी छ । 

 

उनले भने, ‘हामीले पर्यटकीय स्थलमा विदेशी पर्यटकलाई सहजीकरण गर्ने, उनीहरूमाथि हुने आपराधिक क्रियाकलाप रोक्ने, पर्यटकीय क्षेत्रको सुरक्षा गर्ने, भाषाको समन्वय गर्ने, पर्यटकको उजुरीलाई छानबिन तथा आवश्यक कारबाही गर्ने गरेका छौँ ।’ 

 

देशभर कति छ पर्यटक प्रहरीको दरबन्दी 
 

देशभर: २ सय ७७ जना
हाल क्रियाशील: २ सय १८ जना

 

उपत्यकामा कहाँ कति पर्यटक प्रहरी खटिएका छन् 


भृकुटीमण्डप: ३४ जना
वसन्तपुर: ८ जना
पशुपति: ८ जना
पाटन: ७ जना 
एयरपोर्ट: १० जना
स्वयम्भू: ८ जना
ठमेल: ९ जना, 
बौद्ध: ८ जना 
भक्तपुर: ६ जना
नगरकोट: ६ जना
काठमाडौं उपत्यका: १०४

 

 

कुन प्रदेशमा कति पर्यटक प्रहरी 
प्रदेश १: १७ जना
प्रदेश २: १२ जना
बागमती प्रदेश: १८ जना
गण्डकी प्रदेश: ५२ जना
लुम्बिनी प्रदेश: १५ जना
कर्णाली प्रदेश: शून्य
सुदूरपश्चिम प्रदेश: शून्य

स्रोत: पर्यटक प्रहरीको तथ्यांक