close

अभिभावकबाट ६ लाख बढीको अक्षय कोष घोषणा

अभिभावकबाट ६ लाख बढीको अक्षय कोष घोषणा

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको हिमा गाउँपालिका वडा नम्बर १ बड्की गाउँस्थित कालिका माध्यमिक विद्यालयको ४९औँ वार्षिकोत्सव अवसरमा अभिभावकले नै ६ लाख ३३ हजार ८ सय ६ रुपैयाँको अक्षय कोष स्थापनाको घोषणा गरेका छन् । 

 

असल शिक्षक, विद्यार्थी र अभिभावकलाई पुरस्कृत गरेर उत्साहित बनाउने उद्देश्यका साथ अभिभावकले नै अक्षय कोष बनाउने घोषणा गरेका हुन् । 

 

विद्यालयको स्तरोन्नतिका लागि कालिका प्रतिभा पुरस्कार तथा अक्षय कोष स्थापना गरिने बताइएपछि ६ जना स्थानीयले ६ लाख ३३ हजार ८ सय ६ रुपैयाँ विद्यालयको अक्षय कोषमा राख्ने घोषणा गरेका हुन् । 

 

अक्षय कोषका लागि सहयोग गर्नेमा निर्माण व्यवसायी संघ जुम्लाका वरिष्ठ उपाध्यक्ष स्थानीय बिर्खबहादुर शाहीले १ लाख ७५ हजार १ सय ५१, कांग्रेस जुम्लाका संगठन विभाग प्रमुख लक्ष्मण शाहीले १ लाख ५१ हजार १ सय ५१, हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले १ लाख ५ हजार १ सय ५१ रुपैयाँ विद्यालयको अक्षय कोषमा जम्मा हुने गरी रकम प्रदान गर्ने औपचारिक कार्यक्रममै घोषणा गरे । 

 

यसैगरी स्थानीय ज्येष्ठ नागरिक अगुवा मलभीम शाहीले १ लाख १ हजार १ सय १ र स्थानीय अगुवा नरबहादुर शाहीले ५१ हजार १ सय १ रुपैयाँ विद्यालयले स्थापना गर्ने प्रतिभा पुरस्कार तथा अक्षय कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । 

 

वडा नम्बर १ का वडा सचिव मानबहादुर शाहीले ५० हजार १ सय ५१ रुपैयाँ विद्यालयको अक्षय कोषमा उपलब्ध गराउने घोषणा गरेको शिक्षक खाम्बा शाहीले बताए ।

 

शिक्षा सबैभन्दा ठूलो सम्पत्ति भएकाले विद्यालयको स्तरोन्नतिका लागि सहयोगको कमी नहुने तर विद्यालय र आर्थिक व्यवस्थापन पादर्शी हुनुपर्नेमा उनीहरूको जोड छ । 

 

गाउँपालिका उपाध्यक्ष रोकायाले पालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएको बताइन् । कालिका माध्यमिक विद्यालयसहित पालिकाका विद्यालयहरूको भौतिक पूर्वाधार स्तरोन्नतिका लागि स्थानीय सरकारले सहयोग गर्ने उनले जानकारी दिइन् ।


कांग्रेस जुम्लाका संगठन विभाग प्रमुख शाहीले विद्यालयको स्तरोन्नतिका लागि सबैको सहकार्य आवश्यक रहेकामा जोड दिए । कांग्रेस महासमिति सदस्य लंकबहादुर शाहीले नपढेका पुर्खाले विद्यालय जन्माइदिएको स्मरण गर्दै त्यसलाई अब्बल बनाउने काम नयाँ पुस्ताको काँधमा आएको बताए ।

 

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले शिक्षक विद्यार्थी, अभिभावकसहित सरोकारवाला निकायको समन्वयमा विद्यालयको विकास गर्न आवश्यक रहेको धारणा राखे । डिजिटल शिक्षालाई प्राथमिकता दिएर अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ छ ।

 

सो अवसरमा विद्यालयले आर्थिक वर्ष २०७६÷७७ मा ९१ लाख ४९ हजार ९ सय ४५ रुपैयाँमा खर्च भएको प्रतिवेदन सार्वजनिक गरेको छ । २०२९ मा स्थापना भएको जुम्ला सदरमुकामबाट करिब १६ कोष टाढाको विद्यालयले अहिले प्राविधिक शिक्षाअन्तर्गत बालिविज्ञान कक्षासमेत सञ्चालन गर्दै आएको छ ।

 

भौगोलिक हिसाबले साविक बड्की गाविसको केन्द्र रहेको सो विद्यालयलाई गुणस्तरीक्ष शिक्षा, पूर्वाधारयुक्त बनाउन शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवाला निकाय एकजुट भएर अगाडि बढ्नुपर्नेमा आवश्यकता औँल्याइयो ।

 

विद्यालयमा ३६० छात्रा र २५१ छात्र गरी अहिले ६११ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा प्राविधिक धारसहितका १८ जना शिक्षक दरबन्दी रहेको र ३ हजार ८ सय वर्गमिटर जग्गा चर्चेकामा त्ययसलाई विस्तार गरिने कार्यक्रममा जानकारी दिइयो ।