close

औपचारिकतामै सीमित भाे विश्वविजेता अंग्रेजलाई पराजित गरेको ऐतिहासिक दिन

औपचारिकतामै सीमित भाे विश्वविजेता अंग्रेजलाई पराजित गरेको ऐतिहासिक दिन

Trulli
ADVERTISEMENT

रूपन्देही- नेपाल-अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको ऐतिहासिक स्थल हो, जितगढी किल्ला । ७ वैशाख १८७२ मा आजकै दिन नेपालले विश्व विजेता अंग्रेजलाई पराजित गरेको थियो । 

 

बुटवल उपमहानगर वडा नम्बर १ मा अवस्थित यो गढी तत्कालीन अंग्रेज सरकारका आधुनिक सेनालाई नेपालले परास्त गरेको ऐतिहासिक किल्ला हो । यो किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहित सुसज्जित तत्कालीन अंग्रेजी फौजलाई परास्त गरेको थियो ।

 

त्यतिबेला अंग्रेज (इस्ट इन्डिया कम्पनी) सरकारको विस्तार विश्वका लगभग सबै मुलुकमा भएको थियो । भारतलाई उपनिवेश बनाएर सयौँ वर्षसम्म उनीहरूले राज गरेका थिए । सोही क्रममा अंग्रेजी फौजले नेपालमा आँखा गाडेको थियो भने बुटवलको जितगढीलगायतका देशका कैयौँ भागमा आक्रमण गरेको थियो ।

 

जितगढीमा अंग्रेजलाई हराएको नेपाल अरू किल्लामा भने आफैं हारेको थियो । जितगढीमा ७ वैशाख १८७२ मा भएको लडाइँमा नेपालसँग हारेपछि अंग्रेज सेना नेपालबाटै फर्किएको बताइन्छ । 

 

विजयोत्सव दिवस अवसरमा बुटवल उपमहानगरले सम्पदा स्थलमा संक्षिप्त कार्यक्रम आयोजना गरेको छ । कर्णेल उजिर सिंहको शालिकमा माल्यार्पण गर्दै सम्झना र सम्मानमा श्रद्धाञ्जली अर्पण गरेर संक्षिप्त कार्यक्रम गरियो ।

 

कोभिड-१९ महामारीका कारण यसपालि जितगढीमा सार्वजनिक समारोह आयोजना नगरिएको उपमहानगरले जनाएको छ ।

 

जितगढीलाई पर्यटन केन्द्र बनाउने गुरुयोजना


उपमहानगरले किल्लालाई संरक्षण गर्दै गुरुयोजना बनाएको छ । गुरुयोजनाअनुरूपका काम अहिले धमाधम भइरहेका छन् । जितगढीको महत्त्व र गरिमा नयाँ पुस्तालाई बुझाउने गरी बुटवलले स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समावेश गरेको छ ।

 

जितगढीमा उतिबेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोसाकका कर्णेल उजिर सिंहको पूर्ण कदको शालिक, उनीसँगै लडेका नेपाली सेनाका १२ जना कमान्डरहरूको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झन्डा फह¥याउने गरी गुरुयोजनाअनुरूपका काम अगाडि बढेको उपमहानगर प्रमुख शिवराज सुवेदीले बताए ।

 

त्यतिबेला खनिएको सुरुङको उत्खनन् गरी संरक्षण गर्ने काम भइरहेको छ । 

 

जितगढीलाई बृहत बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र, नेपाली वीरताको ऐतिहासिक केन्द्रका रूपमा लिएर त्यस वरपरका ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र सांस्कृतिक महत्त्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्ने गरी गुरुयोजना बनाइएको प्रमुख सुवेदीले जानकारी दिए ।

 

नेपाल एकीकरणको अभियान (सन् १७४३ बाट) सुरु भएकै बेला अंग्रेज-नेपालबीच सीमा विवाद भएको थियो । विवाद समाधान गर्न सन् १७४४ मा नेपाली प्रतिनिधि तत्कालीन अंग्रेजको राजधानी मानिएको कलकत्तामा पुगे पनि समाधान हुन सकेन । 

 

सन् १८०४ मा अंग्रेजले भारतको मराठा राज्य आफ्नो अधीनमा लिएपछि नेपालतर्फ अघि बढेको थियो । 


सन् १८०४ मा नेपालको एकीकरणका क्रममा पाल्पा राज्य गाभिएपछि नेपालको सीमा अवधसम्म पुगेको थियो । पाल्पाबाट भागेर गएका राजखलक र भारदारले अंग्रेजको साथ लिएर पाल्पा फिर्ता लिन चाहेका थिए ।

 

त्यसै कारण नेपाल-अंग्रेजबीचको सम्बन्ध बिग्रिएको थियो । बिग्रिएको सम्बन्ध अन्ततः युद्धमै परिणत भयो । सुरुको युद्धमा हारेको नेपालले ७ वैशाख १८७२ मा भएको युद्धमा भने तत्कालीन अंग्रेजलाई पराजित गरेको थियो, जुन आजकै दिन हो ।

 

अमरसिंह थापाका नाति २० वर्षे उजिरसिंह थापा कर्णेल नियुक्त भएपछि उनैको नेतृत्वमा नेपालले अंग्रेजसँग निर्णायक युद्ध लड्यो र नेपालले जित्यो । कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली सेनाले अंग्रेज सेनालाई ७ वैशाख १८७२ मा विजय हासिल गरी विजयपताका फहर्‍याएको थियो ।

 

बुटवल उपमहानगरले विजय भएको दिनको मिति यकिन गर्दै विजयोत्सव दिवस मनाउँदै आएको छ । 


को-को थिए कर्णेल उजिरसिंहसँग

सानाकाजी अमर सिंह थापा
सरदार सूर्जे थापा
ल्याप्टेन अम्बर अधिकारी
कुम्भेदान वृषशुर थापा
कुम्भेदान कृपासुर थापा
जमदार भीमसेन देउजा
जमदार सुरवीर बोहरा

हवल्दार रणसुर बानियाँ
सिपाही हंसवीर अधिकारी

थरघर नकुल बानियाँ
शमशेर राना मगर
काजी वीरभञ्जन पाँडे 
जुठे बस्नेत 


यी वीरहरूले घरेलु हतियार लिएर तत्कालीन अंग्रेज सेनासँग जाई लागेका थिए । जितगढीमा अहिले कर्णेल उजिरसिंहसहित यिनै १३ जना नेपाली वीर सपुतको शालिक निर्माण भएको छ ।

 

जितगढी नै पर्यटनको आधार क्षेत्र

जितगढी किल्लालाई बुटवल उपमहानगरले पर्यटकीय थलोका रूपमा विकास गर्ने गरी गुरुयोजना बनाएको छ । अहिले गुरुयोजनाअनुरूपका काम भइरहेका छन् । 

 

जितगढी किल्लासँगै रहेका कभर्ड हल, वडा कार्यालयलगायत संरचना हटाइएको छ भने अरू संरचना क्रमशः हटाइनेछ । 


जितगढी किल्ला विश्व इतिहाससँग जोडिएको थलो रहेकाले यसलाई संरक्षण, संवद्र्धन र सदुपयोग गर्न उपमहानगर लागेकाले यो क्षेत्र पर्यटन र इतिहासको आधार क्षेत्र बन्ने प्रमुख सुवेदीको दाबी छ ।

 

‘सारा संसारलाई जित्दै आएको तत्कालीन अंग्रेजले नेपालमा भने हार्नुपर्‍यो । कस्तो ठाउँ रहेछ भनेर अंग्रेजका कोही न कोही सन्तान खोज्दै यहाँसम्म आउनेछन्,’ प्रमुख सुवेदीले भने, ‘समृद्धिको आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई सोहीअनुरूप विकास गर्नुपर्नेछ ।’ 

 

किल्ला क्षेत्रमा तत्कालीन पहिचान झल्किने वातावरण बनाउन लागिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । बुटवल उपमहानगरले बनाएको जितगढी गुरुयोजनामा अहिले नेपाली सेनाले सहकार्य गरिरहेको र विभिन्न सेनाका शालिक निर्माण भइरहेको उनले जानकारी दिए । 

 

गुरुयोजनाअनुसार २ बिघा २ कठ्ठा ८.५२ धुरमा पहिलो चरणमा विभिन्न संरचना निर्माण भइरहेका छन् । जितगढी-बटौली युद्ध संग्रहालयको समेत निर्माण चलिरहेको र गुरुयोजनाअनुरूपकै अर्को पाटो रहेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए । 

 

तत्कालीन मणिमुकुन्द सेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोडेर पर्यटकीय आकर्षणको स्थल बनाउने बुटवलको योजनामा निजी क्षेत्रको समेत सहकार्य रहेको उपप्रमुख एवं अनुगमन समिति संयोजक गुमादेवी आचार्यले जानकारी दिइन् ।

 

किल्ला आसपास पर्खाल लगाएर संग्रहालय, पार्क, स्मारक, पुरानो बुटवललाई सांस्कृतिक सहर बनाउने र तिनाउ किनारमा रात्रिकालीन बजार बनाउनेसम्मका योजना रहेको उपमहानगरका सहरी विकास महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए ।

 

जितगढीदेखि नुवाकोटगढीसम्म निजी क्षेत्रको लगानीमा केबलकार निर्माण सुरु भएको छ भने तिनाउमा जल पर्यटन योजना बनिरहेको छ ।

 

औपचारिकतामा सीमित कार्यक्रम

 

तत्कालीन अंग्रेजलाई दुई सय वर्षअघि पराजित गरेको खुसीयालीलाई बुटवल उपमहानगरले मंगलबार जितगढी विजय उत्सव दिवसका रुपमा संक्षिप्त कार्यक्रम गर्दै मनाएको छ ।

 

सम्पदा स्थल किल्ला परिसरमा स्वास्थ्य सुरक्षाको मापदण्डसहित संक्षिप्त कार्यक्रमबीच दिवस मनाइएको हो ।

 

त्यस अवसरमा उपप्रमुख आचार्य, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, नेपाली सेनाका रामचन्द्र शर्मालगायतले कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गर्नुका साथै श्रद्धाञ्जली अर्पण गरे । कार्यक्रममा सुरक्षा निकायका प्रमुख र वडाध्यक्षहरूको उपस्थिति थियो ।