close

भकारो सुधार अभियान चलाउँदै रघुगंगाका किसान

भकारो सुधार अभियान चलाउँदै रघुगंगाका किसान

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ भगवतिको घट्टटोलका किसानले भकारो सुधार अभियान चलाएका छन् । माटोको उत्पादन क्षमता बढाउन रासायनिक मल र विषादीको विकल्पमा प्रांगारिक मल उत्पादन गर्ने उद्देश्यले भकारो सुधार गर्न थालेका हुन् ।

 

मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रममार्फत भकारो सुधार अभियान सञ्चालन गरिएको अन्नपूर्ण कृषक समूहका अध्यक्ष दलबहादुर कार्कीले बताए । 


‘खेर गइरहेको गहुँत संकलन गर्न र मलमा नाइट्रोजन उडेर नष्ट हुन नदिन भकारो सुधार गरिएको हो,’ उनले भने, ‘माटोको उर्बर शक्ति बढाउन भकारो सुधार अभियानले सहयोग पुग्ने अपेक्षा छ ।’


गाईभैँसी बस्ने ठाउँ ढलान, मूत्र संकलन पोखरी र मलखादमा छाप्रो बनाएका छन् । मललाई घामपानीबाट जोगाउन सके नाइट्रोजन उडेर नष्ट हुँदैन ।पोखरीमा संकलित मूत्रलाई जैविक विषादीको रूपमा प्रयोग गर्न सकिन्छ । 

 

समूहले गत वर्ष ३७ जना किसानलाई भकारो सुधार गर्न २० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराएको थियो । चालू आर्थिक वर्षमा थप १५ वटा भकारो सुधार गर्न ३५ हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराउन लागिएको समूहले जनाएको छ । 

 

यसअघि गाईभैँसीको गोठ व्यवस्थित थिएन । खुला ठाउँमा मल थुपार्थे । खेतबारीमै गाईवस्तु बाँध्ने चलन थियो । भकारोको मुत्र संकलन नहुँदा बगेर खेर जान्थ्यो ।

 

परम्परागत भकारोलाई सुधार गरेर व्यवस्थित बनाएपछि गुणस्तरीय मल उत्पादन हुनुका साथै खेतीबालीमा लाग्ने रोगकिरा नष्ट गर्न संकलित मूत्र प्रयोग गर्न थालेका छन् । 

 

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रांगारिक खेतीको माध्यमबाट वातावरणमा स्वच्छतासँगै किसानको आयआर्जन सुधारका लागि घट्टटोलमा गत आर्थिक वर्ष २०७६/७७ देखि मुख्यमन्त्री वातावरणमैत्री कृषि नमुना गाउँ कार्यक्रम सञ्चालन गरेको थियो ।

 

आर्थिक वर्ष २०७६/७७ मा २५ लाख रुपैयाँ विनियोजन भएको कार्यक्रमका लागि यस वर्ष पनि थप २५ लाख विनियोजन भएको छ । समूहमा ५८ घरधुरी किसान आबद्ध छन् ।

 

गत वर्ष ८५०० सुन्तला, १६०० ओखर, ९३०० टिम्मुर र १००० वटा अलैँचीका बिरुवा वितरण गरिएको कृषि प्राविधिक विनिता केसीले बताइन् । 

 

समूहमा प्रयोग गर्ने गरी ७ वटा खेतबारी जोत्ने मिनिटे«लर हलो उपलब्ध गराइएको छ । ३ वटा सुन्तलाको बिरुवा रोप्ने औजार व्यवस्था गरेका छन् । २ वटा सिँचाइ पोखरी निर्माण गरेर ३५०० मिटर पाइप वितरण गरेका छन् ।

 

‘यस वर्ष ४ लाख रुपैयाँ बराबरको बिरुवा वितरण गर्ने कार्यक्रम छ । सुन्तला, कागती प्रजातिका बिरुवालाई जोड दिएका छौँ’, कृषि प्राविधिक केसीले भनिन्, ‘१५ वटा भकारो सुधार र ३ वटा सिँचाइ पोखरी निर्माण हुँदै छन् । कृषकलाई स्थलगत तालिम र भ्रमण कार्यक्रम सकिएको छ ।’

 

घट्टटोलका किसानले परम्परागत अन्नबालीको विकल्पमा व्यावसायिक रूपमा सुन्तलाका बिरुवा लगाउन थालेका छन् । स्थानीय बालकृष्ण कटुवालले वैदेशिक रोजगारको विकल्पमा स्वदेशमै स्वरोजगार बन्न सुन्तला खेती गरेको बताए । सो ठाउँका करिब १० जना युवाले व्यावसायिक सुन्तला खेती गरेको उनको भनाइ छ । 


‘२१ रोपनी खेतबारीमा ५०० सुन्तलाका बिरुवा लगाएको छु । केरा खेती, माछा र माहुरीपालन पनि गरेको छु’, उनले भने, ‘घट्टटोल सुन्तला गाउँमा परिणत भएको छ । धेरैले सुन्तला लगाउनुभएको छ । धान, कोदो, मकैको तुलनामा कम लागतमा बढी आम्दानी गर्न सकिने भएकाले सुन्तला खेतीमा आकर्षित भएका हौँ ।’ 


गण्डकी प्रदेश सरकारले सबै निर्वाचन क्षेत्रमा हरेक वर्ष १/१ वटा मुख्यमन्त्री वातावरणमैत्री कृषि गाउँ कार्यक्रम सञ्चालन गरेको छ । म्याग्दी क्षेत्र (क) मा पहिलो वर्ष बेनी नगरपालिका वडा नम्बर ४ सिंगा र भगवतिमा कार्यक्रम लागू भएको प्रदेशसभा सदस्य विनोद केसीले जानकारी दिए ।

 

क्षेत्र (ख) को मंगला गाउँपालिकाको तोराखेत, कोत्रवाङ, सिम, सातबिसे, पोक, मालिका गाउँपालिकाको बिम र धवलागिरि गाउँपालिकाको खाम्लामा सो कार्यक्रम लागू भएको छ ।