close

सुत्केरीलाई कुखुराका पोथी र कम्बल कोसेली

सुत्केरीलाई कुखुराका पोथी र कम्बल कोसेली

Trulli
ADVERTISEMENT

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले सुत्केरी महिलालाई कुखुराका पोथी र कम्बल कोसेली सहयोग गरेको छ । ‘उपाध्यक्षसँग सुत्केरी’ कार्यक्रमबाट कुखुरा र कम्बल वितरण गरिएको हो ।

 

२ वटा पोथी कुखुरा र एउटा कम्बल दिइएको पालिकाले जनाएको छ । पहिलो चरणमा अन्नपूर्ण वडा नम्बर ६ का १० जना, ७ का १० जना, ८ का ७ जनालाई यसअघि नै वितरण गरिसकिएको छ । 

 

९ वैशाखमा वडा नम्बर ४ मा, ११ मा ९ मा, १२ मा १० र ११ तथा १३ वैशाखमा वडा नम्बर १, २ र ३ मा कार्यक्रम सञ्चालन गरिने उपाध्यक्ष सगुन गुरुङले जानकारी दिइन् । प्याकेजमा प्रतिगोटा १ हजार ५ सय पर्ने अन्डा पार्ने २ वटा कुखरा र १३०० रुपैयाँको कम्बल वितरण गरिनेछ ।

 

सुत्केरीको स्वास्थ्यमा सहयोग पुग्ने गरी यी सामग्री वितरण गरिएको हो । ‘सुत्केरी महिलालाई अहिले पनि पोषिलो खानेकुरा छैन । राम्रो ओढ्ने कम्बल छैन’, उनले भनिन्, ‘कतिपयको सुत्केरी भएपछि ज्यान गएको छ । पोषणमा पालिकाले फोकस गरेको हो ।’ कार्यक्रमका लागि चालू वर्षमा १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

 

गर्भावस्थामा कम्तीमा ४ पटक सरकारी स्वास्थ्य संस्थामा जाँच गरेको प्रमाण पेस गरेपछि गाउँपालिकाभित्रका स्थायी बासिन्दाले यो सुविधा पाउँछन् । कारणवश बच्चा खेर गए वा उमेर नपुगी बच्चा जन्माएकाले पनि यो सुविधा प्राप्त गर्न सक्नेछन् । गाउँपालिकाले १ सय बढी महिला सो कार्यक्रमबाट लाभान्वित हुने अनुमान गरेको छ ।