close

स्कुल झोलाको भारी बोक्ने बेला घरको बोझ 

स्कुल झोलाको भारी बोक्ने बेला घरको बोझ 

Trulli
ADVERTISEMENT

खोटाङ– मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि दोस्रो बिहे गरेर छाडिन् । 


बाबुआमापछि घरको जेठो सन्तान रहेकी सविता पनि केही समयपछि बिहे गरेर पराई घर गइन् । त्यसपछि घरमा बाँकी रहेका बालबच्चाको अवस्था कस्तो होला ! 

 

यही अवस्थाबाट गुज्रिरहेका छन्, खोटाङको खोटेहाङ गाउँपालिका वडा नम्ब्र ९ लिच्कीराम्चे मावे टोलका १८ वर्षीय मिलन, १४ वर्षीया संगीता, १२ वर्षीय टीका र ८ वर्षीय पवन विश्वकर्मा ।

 

३÷४ वर्षको अवधिमा एकपछि अर्को गर्दै अभिभावकबाट टाढिएका ४ जना बालबालिकाको अवस्था दयनीय बनेको छ । हाल उनीहरू दुःखजिलो गरेर जीवन निर्वाह गरिरहेका छन् । 

 

घरमा आफूभन्दा जेठा दाजु भए पनि पारिवारिक जिम्मेवारी संगीताको कलिलो काँधमा छ । बुबाको मृत्यु भएदेखि नै मिलन काठमाडौं गएर ज्याला–मजदुरीको काम गरिरहेका छन् । उनी कहिलेकहीँ मात्र घर आउने गरेका छन् । 

 

सोही कारण पनि पारिवारिक जिम्मेवारी संगीताको काँधमा आइलागेको हो । हाल घरायसीदेखि घर व्यवहार धान्ने काम उनैले सम्हालिरहेकी छन् । घरपरिवार धान्न परेकै कारण संगीताले कक्षा ६ बाटै आफ्नो पढाइलाई निरन्तरता दिन सकिनन् ।

 

गाउँकै भानु आधारभूत विद्यालयमा अध्ययनरत संगीता लकडाउन खुलेयता विद्यालय गएकी छैनन् । कोभिड–१९ को लकडाउन खुल्दा संगीताको विद्यालय जाने बाटो बन्द भइसकेको थियो ।

 

भाइबहिनीलाई पढाउनुपर्ने पारिवारिक जिम्मेवारी र बोझका कारण विद्यालय जान नसकेको संगीता बताउँछिन् । आर्थिक रूपमा विश्वकर्मा परिवार कमजोर छ । ‘घरको काम, पारिवारिक समस्याले विद्याल जान छाडेकी हुँ । भाइबहिनीलाई पढाउन दुःख गर्दै छु,’ उनले भनिन्, ‘दाजुले पनि भाइबहिनीलाई पढाउनू भन्नुहुन्छ । दाजुले बिहे गरेपछि फुर्सद हुन्छ अनि पढ्न थालौँला ।’

 

टीका कक्षा ४ मा र पवन कक्षा ३ मा भानु आधारभूत विद्यालयमा पढ्छन् । बुबाको मृत्युपछि ३ वर्षअघि आमा फूलमायाले दोस्रो बिहे गरेकी हुन् ।

 

विक दम्पतीका ४ छोरी र २ छोरामध्ये कान्छी विमला आमासँगै छन् । आमाले छाडेको केही समयपछि परिवारकी जेठी छोरी सविताले पनि बिहे गरिन् । बाबु रघुवीरको मृत्यु भएकै वर्ष जेठा छोरो मिलनले पनि कक्षा ७ बाटै पढाइलाई बिट मारिसकेका छन् । मिलन हाल विदेश जाने तयारीमा छन् । 

 

समग्र दलित समुदायको उत्थान एवं आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ खोटेहाङ गाउँपालिकाले चालू आर्थिक वर्ष ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम उनै संगीताको गाउँमा पनि सञ्चालन भइरहेको छ । 

 

पारिवारिक बोझका कारण विद्यालय जानबाट वञ्चित संगीताको शिक्षादीक्षाका लागि गाउँपालिकासमक्ष छात्रवृत्तिको प्रस्ताव राखिएको ‘दलितसँग गाउँपालिका’ कार्यक्रमका सहजकर्ता इन्द्र नारथुंगेले बताए । 

 

‘बाबुको मृत्युपछि आमाले अर्कैसँग विवाह गरिन् । त्यसपछि सो घरका बालबच्चा सहाराविहीन बने । भाइबहिनीलाई नियमित स्कुल पठाए पनि संगीता आफैं विद्यालय जान सक्दिनन् । घरमा आम्दानीको स्रोत छैन । दाजुले कमाएर पठाउने केही रकम र गाउँघरमा बनिबुतो गर्दा आउने थोरै रकमबाट घर खर्च चलाउनुपर्ने बाध्यता छ,’ नारथुंगेले भने ।

 

सहाराविहीन नागरिकका लागि स्थानीय सरकारले साथ दिने हो भने सिंहदरबार गाउँ–गाउँमा पुगेको अनुभव प्रत्यक्ष गर्न सकिने उनको बुझाइ छ ।