close

किशोर-किशोरीलाई लड्न सिकाउँदै रौतामाई 

किशोर-किशोरीलाई लड्न सिकाउँदै रौतामाई 

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको रौतामाई गाउँपालिकाको समन्वयमा हिंसा न्यूनीकरणका लागि ४० जना किशोरकिशोरीलाई आत्मरक्षा तालिम दिइएको छ । पछिल्लो समय किशोर-किशोरी, महिला तथा बालबालिकामाथि हिंसाका घटना बढ्न थालेपछि रौतामाईको समन्वयमा जाल्पा एकीकृत विकास समाज र वल्र्डभिजन इन्टरनेसनल नेपालले तालिम आयोजना गरेका हुन् । 

 

सदरमुकाम गाईघाटमा मंगलबारबाट सुरु भएको तालिममा रौतामाई २० वटा किशोर-किशोरी समूहका ४० जनाको सहभागिता छ । ४ दिने तालिमपछि गाउँपालिकाभित्रका ६ सय जना किशोर–किशोरीलाई सहभागीमार्फत गाउँ स्तरमै यसबारे प्रशिक्षित गराइने योजना छ ।

 

उपेक्षा, दुव्र्यवहार र हिंसाविरुद्धको व्यवस्थापनका लागि किशोर-किशोरीको सशक्तीकरण सामना परियोजनामार्फत तालिम आयोजना गरिएको हो ।

 

तालिममा मुख्य प्रशिक्षक निरज न्यौपानेले किशोर-किशोरीको आत्मरक्षाका लागि तालिमले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । ‘आत्मरक्षा भन्नेबित्तिकै हिंसा गर्न आउनेसँग कसरी शारीरिक रूपमा तयार हुने भन्ने कुरा आउँछ । तर, त्यसो नभई त्यस्तो बेला कसरी आफ्नो मनोबल बढाउने र मनमस्तिकबाट कसरी प्रतिवाद गरी उम्कने भन्ने तालिमको उद्देश्य हो,’ उनले भने ।

 

आत्मरक्षा भन्नासाथ प्रतिवाद गर्ने, भिड्ने, जाई लाग्ने (मार्सलआर्ट) भन्ने बुझिए पनि त्यसअघि सकेसम्म मनमस्तिकले त्यस्ता व्यक्तिसँग कसरी ‘ट्रिट गर्नुपर्छ भन्ने क्षमताको विकास गर्ने उद्देश्य रहेको उनले बताए ।

 

‘शारीरिक रूपमा प्रतिवाद गर्दा ज्यान तलमाथि हुँदा कानुनी अड्चन हुन सक्छन्’, उनले भने, ‘त्यो अवस्था आउन नदिन सकेसम्म मन बलियो बनाई मस्तिकको प्रयोग गर्नुपर्दछ ।’

 

जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले तालिमले आफूभित्र रहेका कमी-कमजोरी, क्षमतालाई पत्ता लगाई मनोबल उच्च राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

परिवार, विद्यालय, समुदाय, सामाजिक सञ्जालबाटै यस्ता गतिविधिले प्रश्रय पाएकाले न्यूनीकरणका लागि यस्ता खाले तालिमले सहयोग पुग्ने परिवारले बताए ।

 

नीति, नियम, कानुन बलियो भए पनि हिंसा नरोकिएकाले त्यस्ता व्यक्तिलाई मनमस्तिकबाटै कमजोर बनाउन यो विधि उपयुक्त हुनेछ । कानुन स्वःस्फूर्त रूपमा कार्यान्वयन नहुँदा र आरोपित कुनै न कुनै निकायबाट संरक्षण रहुन्जेल यस्ता घटना न्यूनीकरण हुन नसक्ने उनको बुझाइ छ ।

 

एकपछि अर्को गरी हुने यस्ता किसिमका घटना र स्वार्थ जोडिने गरी भएका राजनीतिक संरक्षणले समाज र राष्ट्रको चित्रण गरेको परियारले सुनाए ।