close

थिमि पुग्यो मेलम्चीको पानी

थिमि पुग्यो मेलम्चीको पानी

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा मेलम्चीको पानी वितरण सुरु भएको छ । पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेत र मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बुधबार संयुक्त रूपमा उद्घाटन गरी मेलम्चीको पानी स्थानीयलाई वितरण गरेका हुन् ।

 

नगरपालिकाको वडा नम्बर ९ टिगनीस्थित खानेपानी ट्यांकीमार्फत स्थानीयलाई दैनिक १० लाख लिटर मेलम्चीको पानी वितरण गरिनेछ । केही दिनभित्रै मध्यपुर थिमी क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको खानेपानी वितरण हुनेछ ।
 

कार्यक्रममा सांसद बस्नेतले सरकारले दोस्रो चरणमा भक्तपुरमा मेलम्चीको पानी ल्याउने भने पनि थिमिको खानेपानी समस्या हटाउन पहिलो चरणमा पानी ल्याउन सफल भएको बताए । 

 

पानीको समस्या भएका मुख्य सहर लोकन्थली, कौशलटार, गठ्ठाघर, बालकुमारी, चपाचो, नगदेशलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर पानी वितरण गर्न उनले जोड दिए । 

 

नगरप्रमुख श्रेष्ठले मेलम्चीको पानी पहिलो पटक काठमाडौंमा वितरण गरेको १५ चैतपछि बुधबार थिमिबाट वितरण गर्न सकिएको जानकारी दिए । उनले भने, ‘अहिले मध्यपुर थिमिका बासिन्दाका लागि दैनिक १० लाख लिटर मेलम्चीको पानी वितरण सुरु भयो । अब केही दिनमै यसलाई बढाएर दैनिक ३० लाख लिटर वितरण गरिनेछ ।’

 

कार्यक्रममा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी प्रमुख मिलन शाक्यले मेलम्चीको पानी काठमाडौं झरेपछि ९० प्रतिशत पानी काठमाडौँमा वितरण भए पनि १० प्रतिशत पानी चुहावट भएको बताए । ३ सय २० ठाउँमा भएको चुहावटमध्ये २ सय ठाउँको चुहावट रोकेको उनले दाबी गरे ।

 

ल्यांग्र्री र लार्केबाट थप पानी ल्याई ३ वर्षपछि काठमाडौंमा दैनिक ३४ करोड लिटर पानी झारेर २४ सै घन्टा वितरण गर्न सकिने उनको भनाइ थियो ।

 

कार्यक्रममा आयोजना कार्यान्वयन निर्देशनालयका कार्यक्रम निर्देशक कमलराज श्रेष्ठले १७ करोड लिटर पानी सिस्टममा आएपछि भक्तपुरको पुरानो सिस्टमबाट पानी वितरण सुरु हुने जानकारी दिए ।