close

अफिसरको जस्तो कमाइ भएपछि को नेपाल बस्छ ? 

अफिसरको जस्तो कमाइ भएपछि को नेपाल बस्छ ? 

Trulli
ADVERTISEMENT

डाेटी जिल्लाको पूर्वीचौकी गाउँपालिका अध्यक्ष हुन् दीर्घ बोगटी । स्थानीय तहको निर्वाचनमा मतदातामाझ उनले एउटा संकल्प गरेका थिए, ‘म निर्वाचित भएँ भने युवा कामको खोजीमा विदेश जानु पर्दैन ।’ निर्वाचित भएको साढे ३ वर्षको अवधिमा उनले गाउँका सबै युवालाई रोजगारी त दिन सकेनन् तर यसको जग भने राम्रैसँग बसाएको दावी गर्छन् । कैयन जटिलताबीच जनप्रतिनिले गज्जवको काम गरेको निष्कर्ष छ उनको । दूरदराजमा बसेर जनताका लागि अहोरात्र खटिरहेका अध्यक्ष बोगटीसँग हामीले पालिकाको विकास निर्माणलगायतका विषयमा कुराकानी गरेका छौं । 

 

पर्यटकीय स्थल खप्तडको प्रवेश द्वार रहेको पालिकामा पर्यटन र जडीबुटीको सम्भावना र अवस्था कस्तो छ ? 

 

पूर्वीचौकी गाउँपालिका पर्यटनका हिसाबले सम्भावना बोकेको पालिका हो । विशेषगरी डोटीबाट २ वटा प्रवेश द्वार पूर्वीचौकी गाउँपालिकाभित्र रहेको छ । एउटा पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ झिग्राना र अर्काे अछाम र डोटीको सिमाना चौखुट्टबाट खप्तड जाने बाटोको रूपमा रहेको छ । 


डोटी जात्रा, पर्व, संस्कार, संस्कृति, परम्परा, ऐतिहासिक मठमन्दिर, हावापानी, जडीबुटी, प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । सम्भावना हुँदाहुँदै पनि जनताको समृद्धिमा जोड्न सकिए मात्र यथार्थमा परिणत हुने हो । त्यस कारण पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले सडक सञ्जाल ७ वटै वडामा जोडेको छ । धमाधम होमस्टे सञ्चालन भइरहेका छन् । 

 

पूर्वीचौकी गाउँपालिका जडीबुटीमा पनि सम्पन्न पालिका हो । यहाँ पाँचऔँलेलगायत करिब २५ प्रजातिका जडीबुटी पाइन्छन् । होली, पुतला, देउडालगायत नाच प्रसिद्ध छन् । यसले मौलिकतालाई झल्काएको छ । यसलाई संरक्षण गर्न नगरपालिकाले सहयोग गर्दै आएको छ । डकुमेन्ट्री बनाउनेलगायतका काममा पालिका लागिपरेको छ । पर्यटकीय स्थलको प्रचार–प्रसारसमेत गर्दै आएको छ । 

 

पालिकामा बीचमै विद्यालय छाड्ने विद्यार्थीको संख्या (ड्रपआउट) को समस्या विकराल छ । गाउँमा रोजगारी नभएर भारत पस्ने कारण हो कि पालिकाले अवसर नदिएर हो ?


यतिबेला पालिकामा विद्यार्थीले बीचमै पढाइ छाड्ने समस्या धेरै देखिएको छ । बसाइँसराइ यसको मुख्य कारण हो । पहाडबाट तराई झर्ने र सहरी क्षेत्रमा जानेको संख्या बढ्दै गएकाले यस्तो समस्या देखिएको हो । अर्काे भनेको किशोरीहरूको विवाह पनि मुख्य समस्या हो । कानुनले विवाहलाई २० वर्षपारि तोकेको छ । तर, अधिकांश विवाह २० वारि नै हुन्छ । त्यसले गर्दा पनि यस्तो समस्या देखिएको हो । 


हामीले रोजगारी ग्यारेन्टी गर्न सकेका छैनौँ । रोजगारीको सिलसिलामा बिदेसिनेको संख्या अहिले पनि बढ्दो छ । यो समस्या हाम्रो पालिकामा मात्र नभएर देशव्यापी नै छ । पालिका एक्लैले यो समस्या समाधान गर्न सक्दैन ।  विकास बजेट नै ६–७ करोड रुपैयाँको हुन्छ । त्यसबाट मात्र सम्भव हुँदैन । यद्यपि यसका लागि ३ वटै तहका सरकार मिलेर काम गर्न जरुरी छ । 

 

पालिकाको विकासका लागि ५ ज र १ प गरी जप अवधारणा ल्याउनुभएको रहेछ । यो भनेको के हो ? 


मैले चुनाव जितिसकेपछि विकासका लागि एउटा मोडालिटी तयार पारेको थिएँ । त्यसमा ५ वटा ‘ज’ र एउटा ‘प’ लाई आधार मानेर विकास गर्नुपर्छ भनेर लागेको थिएँ । त्यसको गुरुयोजना पनि बनाइयो । यो योजना जमिन, जल, जडीबुटी, जनताको सकारात्मक सोच, जनश्रम र पर्यटकलाई जोडेर अगाडि बढेको थियो । यी ५ विषयलाई ठीक ढंगबाट सञ्चालन गरे विकास सम्भव छ । हाल पालिकाले जंगलमा अम्रिसो वा अन्य जडीबुटी लगाएर जनताको विकासमा सहयोग गरिरहेको छ । 

 

७ वटा वडाको पालिकाले यो वर्ष ३४२ वटा योजनाका लागि बजेट दिएको रहेछ । बजेट चौतर्फी छर्नुभन्दा एकीकृत योजनामा लगानी गरे प्रतिफल पाइँदो हो नि ? 

 

हो । हाम्रो पालिकाका योजना पक्कै पनि धेरै छन् । योजनाको सन्दर्भमा गाउँपालिकाले धेरै योजना संघीय सरकारबाट बजेट लिएर अगाडि बढाइरहेको छ । जनताको अपेक्षाका लागि पनि ३ वटा मोडलबाट अगाडि बढेका छाँै । दीर्घकालीन, मध्यकालीन र तत्कालीन योजना छन् । 


दीर्घकालीन रूपमा अगाडि बढाउने योजना सुरु भएका छन् । जनताको अपेक्षाअनुसार त्यसलाई पूरा गर्न ३ वटा तरिकाको योजना बनाउँदा धेरै देखिएका हुन् । योजनाअनुसार काम पनि भइरहेको छ । हेर्दा योजना बढी देखिए पनि जनताका लागि बनाएका हौँ । आगामी दिनमा आवश्यक योजना अगाडि सार्नेछौँ । 

 

सबैलाई चित्त बुझाउन यसरी बजेट छर्नुभएको हो कि ? 


म जनताको काम गर्न आएको प्रतिनिधि हो । मेरो उद्देश्य नै जनतालाई चित्त बुझाउनु, खुसी बनाउनु हो । त्यसैले जनताको चित्त बुझाउन सक्नुलाई ठूलो उपलब्धि मान्छु । 

 

उज्यालो पालिकाको नारा लिएर चुनाव जिते पनि अहिलेसम्म सबै पालिकाबासी किन उज्यालो देख्नै पाएनन् ? 


चुनावी घोषणापत्रमै उज्यालो पूर्वीचौकी बनाउने घोषणा गरेको थिएँ । हाल ७ वटै वडा पूर्ण रूपमा उज्यालो भएको छ । सबै घरधुरीमा भने पुग्न बाँकी छ । वडा नम्बर १, ३, ४ पूर्ण रूपमा उज्यालो भएको छ । त्यसैगरी वडा नम्बर २, ५, ६, ७ का केही घरधुरीमा बिजुली बाल्न बाँकी छ । त्यसलाई यस वर्ष पूरा गर्ने लक्ष्य छ । मेरै कार्यकालमा पूर्वीचौकी उज्यालो हुनेछ । 

 

तपाईंको गाउँपालिकामा सडक निर्माणको अवस्था कस्तो छ ? 


हाल पालिकाका ७ वटै वडामा सडक सञ्जाल जोडिएको छ । प्रत्येक वडाको केन्द्रमा गाडी पुग्ने व्यवस्था गरेका छाँै । ती सबै कालोपत्रे भइसकेका छन् भन्ने होइन । तर, अवस्थाअनुसारको व्यवस्था भनेझैँ सडक पु¥याएका छाँै, जहाँ हिउँद–बर्खा दुवै समय गाडी चल्ने अवस्था छ । अब विस्तारै कालोपत्रे गर्ने योजना छ ।  

 

तपाईंको पालिकालाई सरकारले १५ शय्याको अस्पतालका लागि बजेट दिए पनि बनाउन किन ढिलाइ भएको हो ?

 

सरकारले झन्डै ४ सय हाराहारी ५,१०,१५ शय्याको अस्पताल शिल्यान्यास गरेको छ । यसमध्ये पूर्वीचौकीमा १० शय्याको अस्पताल बनाउन लागिपरेका छौँ ।  यसको डिपीआर तयार भइसकेको छ । टेन्डर निकाल्ने अन्तिम तयारी छ । 

 

पालिकाको आफ्नै भवन कहिले बनाउँदै हुनुहुन्छ ? 

 

यसको पनि टेन्डर निकाल्ने तयारी अन्तिम चरणमा पुगेको छ । संघीय सरकारको ६ करोड र पालिकाको ४ करोड गरी १० करोड रुपैयाँको भवन बनाउने तयारी छ । मेरो कार्यकालमै निर्माण सुरु हुन्छ तर सम्पन्नचाहिँ अब आउनेले गर्नेछन् । 

 

पूर्वाधार योजना समयमै सम्पन्न नहुने अवस्था तपार्इंको पालिकामा पनि रहेछ । ठेक्का प्रक्रियामै गलत हो वा अन्य कुनै कारण हो ? 

 

खरिद ऐनअन्तर्गत र नियमावलीको आधारमा १ करोड रुपैयाँ बढीका योजना टेन्डरमै जानुपर्छ । यसरी गर्दा कतिपय ठेकेदारले समयमै काम सम्पन्न गर्छन् । तर, ठेकेदारले ठीक समय ठीक तबरले काम नगर्दा समस्या हुने गरेको छ । यसले गर्दा विभिन्न योजनामा समस्या देखिएको हो । 

 

कृषि र पशुपालनमा पनि अनुदान दिनुभएको रहेछ । तर, पालिकाबासीले वर्षभर पुग्ने अन्न उत्पादन गर्न सकेका छैनन्, यतातिर के गर्दैै हुनुहुन्छ ? 

 

कृषिलाई व्यवस्थित बनाउन पहिलो कुरा योजना राम्रो ल्याउनुपर्छ । नेपालको सन्दर्भमा सबै खाले बाली लगाउने तर वर्षभरि खान नपुग्ने अवस्था छ । यस्तो समस्या हाम्रो पालिकामा पनि छ । यसका लागि अब फरक ढंगबाट अगाडि बढ्न जरुरी छ । कृषि उत्पादनका लागि पकेट, जोन, सुपर जोन छुट्याएर खेती सुरु गर्नुपर्छ । हामी यही मोडलबाट अगाडि बढिरहेका छौँ । परम्परात ढंगले गरिएको खेती प्रणालीलाई आधुनिकीकरण गर्दै अगाडि बढेका छौँ । संघ, प्रदेश सरकारले पनि अनुदान दिइरहेका छन् । यसलाई विकास गर्न हामीले पनि अनुदानको व्यवस्था गरिरहेकै छौँ । 

 

तपाईंले पालिकाबासीलाई स्वरोजगार बनाउन डोको बुन्नेदेखि हाउस वायरिङसम्मका तालिम दिए पनि विदेश जानेको लर्को किन नघटेको होला ? 

 

हामीले विदेश जानेको लर्काे रोक्न सकेका छैनौँ । स्वदेशमा काम गर्दा धेरै खालका सम्भावना छैनन् । आवश्यकता धेरै छन् । त्यसलाई पूर्ति गर्न युवाहरू बिदेसिने गरेका छन् । विदेश जाने सामान्य कामदारले ४०–५० हजार रुपैयाँ कमाउँछन् । नेपालमा अफिसरको तलब बराबरको कमाइ भएपछि किन नेपाल बस्छ ? आवश्यकता पूर्तिका लागि पनि बिदेसिएका हुन् । बिदेसिनेको लर्काे रोक्ने प्रयासमा छौँ । 

 

बजेटको आन्तरिक व्यवस्थापन कसरी भएको छ ? कर बढी लिएको जनताको गुनासो छ नि ?


आन्तरिक स्रोत सम्पत्ति करलगायतबाट उठाउँदै आएका छौँ । पूर्वीचौकीको हकमा कर बढी लिएजस्तो लाग्दैन । पहिलाको तुलनामा केही हेरफेर भएको हुन सक्छ तर, धेरै कर लगाएका छैनौँ । एकीकृत सम्पत्ति करको व्यवस्था गरेका छौँ । जनताले कर नतिर्ने हो भने हाम्रा बाटाघाटा, खानेपानी र पूर्वाधारको विकास कसरी गर्न सकिन्छ र ? 

 

काम गर्दा प्रदेश र संघको हस्तक्षेप कत्तिको महसुस गर्नुभएको छ ?


संवैधानिक रूपमै संघ सरकारको जिम्मेवारी बढी छ । त्यसैले पनि संघीय सरकारको बजेट बढी हुने नै भयो । संविधानले संघ, प्रदेश र स्थानीय सरकारको काम, कर्तव्य एवं अधिकार क्षेत्र तोकेकाले पनि कसैको अधीनमा कोही रहनुपर्ने अवस्था छैन । तर, कतिपय अवस्थामा हस्तक्षेप भएको महसुस भने हुन्छ । 

 

जनप्रतिनिधिबीच समन्वयको अवस्था कस्तो छ ?


कार्यपालिका १५ जनाको हुन्छ । अध्यक्ष, उपाध्यक्ष, ७ जना वडाध्यक्ष र ६ जना कार्यपालिका सदस्य रहेका छौँ । यसमा ११ जना कांग्रेसबाट हुनुहुन्छ । ४ जना नेकपाबाट रहेका छाैँ । समन्वय हुन्छ तर जहाँबाट निर्वाचित भएका हुन्छौँ, सो संरचनाले समस्या छ । 


कार्यपालिकामा दलीय विवादको छायाले असर पारेको हो ?


धेरै पटक परेको छ । ७ महिनापछि मैले कार्यपालिका बैठक राखेको थिएँ । बैठकका लागि बहुमत चहिन्छ । दलीय विवादले समस्या भोग्ने पालिका अध्यक्ष म पनि हो । समन्वय, संवादबाटै निष्कर्षमा पुग्छाैं । 

 

अलिकति नीतिगत कुरा गरौँ । स्थानीय तहले शासन गर्नेदेखि कानुन बनाउनेसम्मको अधिकार पाउँदा पनि भनेजस्तो काम गर्न सकेनन् भन्ने आरोपबारे तपाईंको धारणा ? 


संविधानले नियमावली र मापदण्ड बनाउने अधिकार दिएको छ । त्यसैको अधीनमा रहेर हामीले ३५ वटा कार्यविधि, ऐन, कानुन निर्माण गरेका छाैँ । सुदूरपश्चिममा ८८ वटा स्थानीय तहमध्ये शिक्षा ऐन बनाउने हामी पहिलो पालिका हो । धेरै लामो छलफल, बहस गरेर पनि ऐन–नियम कानुन बनाउन सकिरहेका छैनौँ । 

 

अन्त्यमा, पूर्वीचौकी गाउँपालिकाले दीर्घ बोगटीलाई अध्यक्ष बनाएर के पायो ? अर्थात् चुनावी एजेन्डा पूरा भए ?


आत्मैदेखि भन्नुपर्दा मैले पूर्वीचौकीको अध्यक्ष भएर गरेका कामप्रति सन्तुष्ट छु । मैले चुनावी घोषणपत्रभन्दा धेरै काम गरेको छु ।