close

तीर्थाटन गएको अन्नपूर्णको टोली बीच बाटोबाटै फर्कियो

तीर्थाटन गएको अन्नपूर्णको टोली बीच बाटोबाटै फर्कियो

Trulli
ADVERTISEMENT

म्याग्दी– कार्यालयको कामकाजै प्रभावित बनाएर मुस्ताङ भ्रमणमा गएका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको टोली बीच बाटोबाटै फर्किएको छ । 

 

चौतर्फी विरोध र आलोचना भएपछि उपल्लो मुस्ताङको कोरला नाकासम्म पुग्ने ४ दिने कार्यक्रम बनाएर बुधबार गएका उनीहरू बिहीबार मुक्तिनाथबाटै म्याग्दी फर्किएका हुन् । 

 

आर्थिक वर्षको अन्तिम चौमासिकमा महिनाैं अघि काम सकेका उपभोक्ता समिति र निर्माण व्यवसायीको भुक्तानी, प्रशासनिक र आर्थिक क्रियाकलाप ठप्प पारेर भ्रमणमा गएको विषयमा पालिका खबरलगायत सञ्चार माध्यमबाट समाचार सार्वजनिक भएको थियो । 

 

याे पनि

१० लाख बोकेर जनप्रतिनिधि र कर्मचारी तीर्थाटनमा

१ महिनामा २४ दिनकाे भ्रमण भत्ता

समाचार सार्वजनिक भएसँगै जनप्रतिनिधि र कर्मचारीमाथि चौतर्फी आलोचना, विरोध र दबाब परेको थियो । मुक्तिनाथबाटै फर्किएको भ्रमणमा सहभागी कार्यपालिकाका प्रवक्तासमेत रहेका अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ घारका वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए । 

 

‘मुस्ताङका स्थानीय तहहरूले गरेका असल अभ्यासको सिकाइका लागि स्वीकृत वार्षिक कार्यक्रम र बजेटअनुसार कार्यापालिकाको बैठकले निर्णय गरेर भएको भ्रमणलाई नकारात्मक रूपमा गरिएको टिप्पणीप्रति दुखित छाँ’, उनले भने, ‘भएको सबै खर्च भ्रमणमा सहभागी आफैंले बेहोर्ने निर्णय गरेका छौँ । भ्रमण छोट्याएर बिहीबारै फर्किएका हौँ ।’ 

 

गत २८ चैतको कार्यपालिका बैठकले १० लाख रुपैयाँ विनियोजन गरेर स्थानीय तहको असल अभ्यासको अनुभव आदान–प्रदान गर्न छिमेकी मुस्ताङका स्थानीय तहहरूसँग अन्तरक्रिया गर्ने निर्णय गरेको थियो । 

 

गत फागुनमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदी सरुवा भएर गएपछि डेढ महिनासम्म प्रशासनिक नेतृत्वविहीन बनेको थियो । गत २० चैतमा मुख्यमन्त्रीको कार्यालय पोखराबाट सुरुण शर्मा पौडेल अन्नपूर्णमा प्रशासकीय अधिकृतको रूपमा हाजिर हुन आएका थिए । 

 

उपाध्यक्ष केशमाया मगर, ६ वटा वडाका वडाध्यक्षसहित कार्यपालिकाका १२ जना सदस्य सहभागी भ्रमण टोलीमा प्रशासकीय अधिकृत पौडेल, लेखा अधिकृत जय सुवेदी, शिक्षा शाखाका भरत पुन र अन्य २ जना कर्मचारी सहभागी थिए । 

 

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, वडा नम्बर ३ दानाका वडाध्यक्ष नरसिंह पुर्जा र वडा नम्बर ४ का वडाध्यक्ष चन्द्रप्रकाश फगामी भने भ्रमणमा गएका थिएनन् । 

 

चालू आर्थिक वर्षको ९ महिने अवधिमा पुँजीगततर्फ १५ करोड ५६ लाख ३४ हजार रुपैयाँ बजेट विनियोजन गरेको अन्नपूर्णले जम्मा २ करोड ३५ लाख १६ हजार ४०० रुपैयाँ अर्थात् १५ प्रतिशत बजेट खर्च गरेको छ । 

 

त्यसैगरी चालूतर्फ २९ करोड ५६ लाख ७५ हजार ६३० रुपैयाँ बजेट विनियोजन गरेकामा ९ करोड ५० लाख २६ हजार ५६ अर्थात् ३२ प्रतिशत खर्च गरेको छ । अन्य स्थानीय तहले पुँजीगततर्फ सरदर ३० प्रतिशत बजेट खर्च गर्दा सबैभन्दा कम विकास बजेट परिचालन गर्नेमा अन्नपूर्ण पहिलो नम्बरमा आउँछ ।