close

पुलाचौर भगवती कोत मन्दिर पुनर्निर्माण

पुलाचौर भगवती कोत मन्दिर पुनर्निर्माण

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५ पुलाचौरस्थित भगवती कोत मन्दिर पुनर्निर्माण भएको छ । 

 

बाइसे-चौबीसे राज्यताका तत्कालीन २४ कोतअन्तर्गत रहेको ऐतिहासिक पर्वत राज्यको डढेकोत राजदरबारको अवशेष मानिने पुलाचौर भगवती कोत मन्दिर गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको साझेदारीमा पुननिर्माण भएको हो । 

 

पुरानो तथा ऐतिहासिक महत्त्व बोकेको कोत जीर्णावस्थामा पुगेपछि गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र स्थानीयको आर्थिक सहयोगसहित कुल ४३ लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको उपभोक्ता समिति अध्यक्ष रामप्रसाद पौडेलले बताए । 

 

कोत मन्दिरको पुनर्निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा गण्डकी प्रदेशसभा म्याग्दी निर्वाचन क्षेत्र (क), प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमबाट प्रदेशसभा सदस्य विनोद केसीको सिफारिसमा १५ लाख र बेनी नगरपालिकाबाट चालू आर्थिक वर्ष २०७७/७८ मा १० लाख रुपैयाँ विनियोजन गरेको थियो । 

 

स्वदेश तथा विदेशमा रहेका स्थानीय तथा समुदाय स्तरबाट ३४ लाख ५१ हजार रुपैयाँ आर्थिक संकलन गरिएको मन्दिर निर्माण समितिका कोषाध्यक्ष गजेन्द्र श्रेष्ठले जानकारी दिए । 

 

मन्दिरको पूजाआजा सञ्चानलका लागि  १५ लाख ६९ हजार ४८४ रुपैयाँको कोष बनाइएको छ ।  

 

कोत मन्दिरको पुनर्निर्माण गर्न स्थानीय चन्दादाताले ५ हजार रुपैयाँ आर्थिक सहयोग गरी आजीवन सदस्य बनेका छन् । ५ लाख रुपैयाँ बढी सहयोग गरी संरक्षक सदस्यसमेत बनेका छन् । भगवती कोत मन्दिरभित्र ५० वर्ष पुरानो दुर्गा भगवतिको मूर्ति छ भने मन्दिर वरपर १०८ वटा दियो र मन्दिरको शिरमा ढुंगाको गजुर राखिएको छ । 

 

१८ असोज २०२४ मा कोत मन्दिर स्थापना गरी पूजाआजा थालनी गरिएको भगवति कोत मन्दिरको २६ चैत २०७६ मा शिलान्यास गरी पुनर्निर्माण सुरु गरिएको थियो ।